जनकपुरधाम-प्रदेश २ का सामाजिक विकास मन्त्री नवलकिशोर साहले जनकपुर अञ्चल अस्पतालमा प्रक्रियाविपरित कर्मचारी भर्ना गर्ने व्यक्तिलाई कारबाही गर्ने बताएका छन् ।
साउन महिनापछि अस्पतालका प्रमुख डा.रामपरिक्षण यादवले प्रक्रियाविपरित ६० जना कर्मचारी भर्ना गरेको घटनाप्रति बोल्दै मन्त्री साहले यस्तो प्रतिक्रिया दिएका हुन् ।
अस्पताललगायतका स्वास्थ्य संस्थाहरु प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय मातहत आइसकेको अवस्थामा अस्पताल प्रमुखले आफूखुशी कर्मचारी भर्ना गर्नु अवैधानिक कार्य रहेको उनको भनाइ छ ।
‘आर्थिक प्रलोभन वा जातीय हिसाबले कसरी कर्मचारी भर्ना गरेका हुन् प्रदेश सरकारले छानबिनन अगाडी बढाउँछ,’ नेपाल समयसँग कुराकानी गर्दै मन्त्री साहले भने, ‘कर्मचारी भर्ना गर्न कानुन नै बनेको अवस्थामा कसरी यो कार्य भएको हो, हामी बुझ्दै छौं ।’
‘अस्पताल प्रमुखलाई कसैको सुरक्षा कवच प्राप्त रहेको बुझिन्छ,’ साहले भने,‘कर्मचारी भर्ना नगर्न हामीले पटक पटक निर्देशन दिइसकेका छौं । तर मान्नु भएको छैन् । कानुनको हात ठुलो भएकाले सुरक्षा कवचले सँधै साथ दिँदैन । गलत कार्य गर्ने जो सुकै माथि कारबाही हुन्छ ।’
अवैधानिक रुपमा गरिएका नियुक्तिहरु उपर यथाशीघ्र छानबिन प्रक्रिया अगाडी बढाएर दोषी उपर कारबाही हुने उनको दाबी थियो । अस्पतालका प्रमुख डा.यादवले प्रदेश सरकारलाई टेरपुच्छर नलगाएको बताउँदै मन्त्री साहले पदको दुरुपयोग गरेर सरकारी रकम हिनामिना गर्ने कुनै तरिकाबाट नजोगिने बताए ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४