काठमाडौं- सरकारलाई सबैभन्दा बढी कर सूर्य नेपाल प्रालिले बुझाएको छ । आन्तरिक राजस्व विभागका अनुसार गत आर्थिक वर्ष २०७४/०७५ मा संस्थागततर्फ सबैभन्दा बढी राजस्व सूर्य नेपालले बुझाएको हो ।
विभागले सातौं राष्ट्रिय कर दिवस मनाउन शनिबार राजधानीमा अयोजना गरेको कार्यक्रममा व्यक्तिगततर्फ सबैभन्दा बढी कर तिर्ने सिद्धार्थशमशेर जबरा रहेको जानकारी दिएको हो । समारोहमा सबैभन्दा बढी कर बुझाउने विभिन्न १५ उत्कृष्ट करदातालाई सम्मान गरिएको थियो ।
निर्यातकर्तामध्ये सबैभन्दा बढी कर डाबर नेपालले बुझाएको छ । यस्तै उत्पादन/उर्जामूलक उद्योग (मदिरा र चुरोटबाहेक) तर्फ हिमाल पावर लिमिटेड र कृषि एवं पशुपन्छीजन्य उद्योगतर्फ प्रोवायटिक इन्डस्ट्रिज प्रालिले सरकारलाई सबैभन्दा बढी कर बुझाएका छन् ।
त्यस्तै सहकारी तथा लघु वित्ततर्फ छिमेक लघुवित्त वित्तीय संस्था, बैंक वित्तीय संस्था तथा विप्रेषण कारोबारतर्फ नबिल बैंक, बिमा व्यवसायतर्फ नेपाल पुनर्बिमा कम्पनी, स्वास्थ्य तथा शिक्षा सेवातर्फ नोबल मेडिकल कलेज टिचिङ हस्पिटल, सूचना प्रविधि सेवातर्फ एफ १ सफ्ट इन्टरनेसनल प्रालिले सबैभन्दा बढी कर बुझाएका छन् ।
पर्यटन व्यवसायतर्फ तारागाउँ रिजेन्सी होटल्स लिमिटेड, व्यापार व्यवसायतर्फ सिप्रदी ट्रेडिङ, वार्षिक ४० करोडसम्म कारोबार गर्नेमध्ये नेपाल इन्भेस्टमेन्ट प्रालि, वार्षिक ४० करोडदेखि ८० करोडसम्म कारोबार गर्नेमध्ये नेपाल धितोपत्र विनिमय बजारले सबैभन्दा बढी कर तिरेका छन् ।
यस्तै समयमै कर विवरण बुझाउनेमा घोराही सिमेन्ट प्रालिले रहेको छ । उक्त कम्पनीले ०७३/०७४ मा सबैभन्दा बढी कर बुझाएको थियो । कार्यक्रममा आन्तरिक राजस्वका १० उत्कृष्ट कर्मचारी सम्मानित भएका थिए ।
समारोका अर्थमन्त्री डा. युवराज खतिवडाले सरकार करको दरभन्दा पनि दायरा बढाउने दिशामा अघि बढ्न लागेको जानकारी दिँदै यसमा सहयोग गर्न निजी क्षेत्रसँग आग्रह गरे । उनले सरकारले आम्दानी र उपभोक्ताको अनुपातका आधारमा कर लगाउँदै आएको बताए ।
‘सरकार नेपालीले तिरेको एक रुपैयाँको करको हिस्सा समेत बुझाउनेछ,’ उनले भने, ‘तर करको कारणले कसैले पनि हत्कडी लगाउने अवस्था नआओस् ।’ उनले निजी क्षेत्रलाई सम्मान लिने गरी काम गर्न आग्रह गरे । कार्यक्रममा ‘आन्तरिक राजस्व व्यवस्थापनको दोस्रो रणनीतिक योजना २०१८/१९-०२२/२३’ सार्वजनिक गरिएको थियो । कर दिवस साताव्यापी रूपमा विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४