काठमाडौं- क्रिकेट एक आँकडाको पनि खेल हो। बल र ब्याटको सहायताले आँकडा बनाउदै क्रिकेट खेलाडीले नयाँ नयाँ रेकर्ड बनाइ दिन्छन्। यस्ता कयौं आँकडा अर्थात रेकर्ड छन्। जुन् कसैले नभेट्टाउने र नमेट्टाउने रेकर्ड बनेर बसेका छन्। विश्वमा क्रिकेट खेल्न थालेको १४१ वर्ष भयो। यो अवधिमा धेरै नयाँ नयाँ रेकर्ड बने र कैयौ रेकर्डहरु ब्रेक भए। तर, विश्व क्रिकेट इतिहासमा केही यस्ता रेकर्ड छन् जुन ब्रेक गर्न त के नजिक पुग्न पनि मुस्किल परेको छ।
ब्रेक नभएका ८ रेकर्ड :
सचिन तेन्दुलकरका ३४ हजार रन
अन्तर्राष्ट्रिय क्रिकेटमा सबै भन्दा बढी रन सचिन तेन्दुलकरले बनाएका छन्। उनले टेस्ट, एक दिवसीय र टी-२० गरी ३४ हजार ३ सय ४७ रन बनाएका छन्। अहिलेसम्म कुनै पनि व्याट्सम्यान सचिनका नजिक पुग्न सकेका छैनन्। ३० हजार रन समेत कसैले बनाएका छैनन्। अहिले क्रिकेट खेलिरहेका खेलाडी मध्ये विराट कोहली सबैभन्दा अगाडी छन तर, उनको रन पनि १८ हजार छ।
सचिनका सतक
सचिनको नाममा अर्को रिकर्ड पनि छ, त्यो हो सतकको। उनले टेस्ट म्याचमा ५१ र एक दिवसीयमा ४९ गरी एक सय सतक बनाएका छन्। अहिले खेलिरहेका खेलाडीमा सबै भन्दा बढी सतक विराट कोहलीले नै बनाएका छन्। उनले टेस्ट र एक दिवसीयमा गरी ६२ सतक बनाएका छन्।
क्रिस गेलको छिटो सतक
क्रिस गेलले टी-२० मा सबैभन्दा छिटो ३० बलमा सतक बनाएका छन्। उनको यो सतक सबै भन्दा छिटो बनाएको सतक हो। यस पारीमा उनले ११ छक्का र आठ चौका हानेका थिए। यो पारीमा उनले ६६ बल खेल्दा १३ चौका र १७ छक्का हानेर १७५ रन बनाएका थिए।
डन ब्रेडम्यानको उच्च औसत
अष्ट्रेलियाका डन ब्रेडम्यानको नाममा टेस्ट क्रिकेटको सबै भन्दा उच्च औसतको रिकर्ड छ। उनले टेस्टमा बनाएको रनको औसत ९९.९४ रहेको छ। उनलाई अन्तिम टेस्ट म्याचमा रनको औसत एक सय बनाउन थप चार रन जोड्नु थियो। तर, उनले बनाउन सकेनन्। ५२ टेस्ट म्याच खेलेका ब्रेडम्यानले २९ सतक र १३ अर्धसतक सहित ६ हजार ९९६ रन बनाएका छन्।
मुथैया मुरलीधरनका ८०० विकेट
श्रीलंकाका लेग स्पिनर मुथैया मुरलीधरनको नाममा आठ सय विकेट छन्। उनले १३३ टेस्ट म्याचनमा ८०० विकेट लिएका हुन। टेस्ट क्रिकेटको यो रिकर्ड तोड्नु मुस्किल छ। केही सयम अष्ट्रेलियाका सेन वार्नले उनको पिछा गरेका थिए तर, उनी पनि ७०८ विकेटमै रोकिए।
सर ज्याक होब्सको प्रथम श्रेणी रिकर्ड
इग्ल्यान्डका पूर्व क्रिकेटर सर ज्याक होब्सको नाममा प्रथम श्रेणी क्रिकेटमा सबै भन्दा बढी रन बनाएको रिकर्ड छ। उनले ८३४ म्याच खेलेर ६१ हजार ७६० रन बनाएका छन्। प्रथम श्रेणीमा उनको नाममा १९९ सतक र २७३ अर्धसतक रहेका छन्। उनले इग्ल्याण्डका लागि ६१ टेस्ट म्याच खेलेर ५ हजार ४१० रन बनाए। जसमा १५ सतक र २८ अर्धसतक छन्। उनको ८१ वर्षको उमेरमा २१ डिसेम्बर १९६३ मा मृत्यु भएको थियो।
टेस्टमा १० विकेट
टेस्ट क्रिकेटमा एउटा यस्तो रिकर्ड छ, जो बन्छ मात्रै तर तोडिदैन। त्यो हो, एक पारीमा १० विकेट। यो बराबरी त गर्न सकिन्छ तर, तोड्न सकिदैन। अहिलेसम्म दुई खेलाडीले यो रिकर्ड राखेका छन्। पहिलो सन् १९५६ मा इग्ल्याण्डका जिम लेकरले अष्ट्रेलियाविरुद्ध १० विकेट लिएका थिए भने दोस्रो भारतका अनिल कुम्बेले पाकिस्तानविरुद्ध सन् १९९९ मा दश विकेट लिएका थिए।
ब्रायन लाराको ४०० रन
वेस्टइन्डिजका ब्रायन लाराको पनि एक पारीमा सबैभन्दा बढी रन बनाउने रिकर्ड छ। उनले टेस्टमा एक पारीमा ४०० रन बनाएका थिए। जसका लागि उनले ५८२ बल खेलेका थिए। चार छक्का र ४३ चौका प्रहार गरेका उनी ७७८ मिनेट क्रिजमा रहेका थिए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४