जनकपुरधाम- जनकपुर अञ्चल अस्पतालका मेडिकल सुपरिडिटेन्डन्ट डा रामपरीक्षण यादवले प्रक्रिया मिचेर कर्मचारी भर्ना गरेको रहस्य खुलेको छ। २ मंसिरमा सेवानिवृत्त भइरहेका डा यादवले प्रक्रिया नै पुरा नगरी करिब ६० कर्मचारी अस्पतालमा भर्ना गरेको बुझिएको छ।
पछिल्लो पटक सुपरिटेन्डेन्ट यादवले तीन दिनअघि मात्र आफ्नो नातागोता तथा आफन्त पर्ने १५ कर्मचारी अस्पतालमा जर्बजस्ती भर्ना गरेको अञ्चल अस्पताल स्रोतले जनाएको छ।
डा यादवले कार्यालय सहायकदेखि मुखिया, खरिदार, अनमी, स्टाफ नर्स तथा डाक्टरसम्मका कर्मचारी प्रक्रिया मिच्दै भर्ना गरेको बताइएको छ। नयाँ कर्मचारी भर्ना गर्न आर्थिक चलखेलसमेत भएको अस्पताल स्रोतको दाबी छ।
अस्पताल स्रोतका अनुसार सुपरिडिटेन्डन्ट यादवले १८ कात्तिकमा जुनियर मेडिकल रेकर्ड अफिसर पदमा उदेशकुमार राय (अधिकारी) लाई नियुक्त गरेका छन्। रेकर्ड अफिसरमा नियुक्ति गर्न तालिम प्राप्त व्यक्ति हुनुपर्ने प्रावधान रहेको छ।
तर उनले रायलाई मापदण्डविपरित नियुक्त गरेको बताइएको छ। सुपरिडिटेन्डन्ट यादवले जुनियर रेकर्ड अफिसरमा नियुक्त गरेका राय अस्पतालमा कार्यरत लेखा अधिकृत रामविनय रायका छोरा हुन्। नयाँ भर्ना गरिएका कर्मचारीहरुलाई तलबलगायतका सुविधा नीजि स्रोतमा उपलब्ध गराइने जनाइएको छ।
प्रविधि र विशेषज्ञ चिकित्सकको अभावमा गुणस्तरीय सेवा दिन पछि पर्दै आएको जनकपुर अञ्चल अस्पतालमा प्रक्रिया मिचेर कर्मचारी भर्ना गरिएपछि थप दुरावस्थामा पुग्ने अस्पतालकै कर्मचारीहरु बताउँछन्।
मापदण्ड र प्रक्रिया मिचेर नियुक्त गरिएका कर्मचारीहरु तत्काल नहटाइए अस्पताल लथालिङ अवस्थामा पुग्ने एक कर्मचारीले जनाए। ती कर्मचारीले भने,‘२०७५ साउन महिनादेखि अस्पताल विकास समिति भंग भइसकेपछि कर्मचारी भर्ना प्रक्रिया बन्द गरिएको छ। तर, साउन महिनापछि मात्रै यहाँ ६० जना नयाँ कर्मचारी भर्ना भएको छन्।’
ती कर्मचारीका अनुसार अस्पतालको कामकारबाहीसम्बन्धी टिप्पणी उठाउनसमेत ज्यालादारी कर्मचारीलाई जिम्मेवारी दिइएको छ। कानुन व्यवस्था अनुसार ज्यालादारी वा करारमा कार्यरत कर्मचारीले टिप्पणी उठाउन नपाउने उनको भनाइ छ।
आफुखुशी कर्मचारी भर्ना नगर्न प्रदेशका मुख्यमन्त्रीले दिएको निर्देशनसमेत सुपरिडिटेन्डन्टले अटेर गरेका छन्। केहि दिनअघिमात्र अञ्चल अस्पतालको निरीक्षण गरेका मुख्यमन्त्री लालबाबु राउतले अनावश्यक कर्मचारी भर्ना नगर्न सुपरिडिटेन्डन्ट यादवलाई निर्देशनात्मक आदेश दिएका थिए। राउतले अस्पताल प्रदेश सरकार मातहत आइसकेको भन्दै जथाभावी कर्मचारी भर्ना नगर्न निर्देशन दिएका थिए।
‘मुख्यमन्त्रीज्यूले आफूखुशी कर्मचारी भर्ना नगर्न अस्पताललाई निर्देशन दिनुभएको थियो,’ ती कर्मचारीले भने,‘तर उहाँको निर्देशनसमेत अटेर गरिएको छ।’
जनकपुर अञ्चल अस्पताल यस क्षेत्रकै पुरानो अस्पताल मानिन्छ। बिरामीको अत्याधिक चाप रहेपनि गुणस्तरीय सेवाको कमीका कारण रेफर अस्पतालको रुपमा यसको चर्चा हुने गरेको छ।
विशेषज्ञ चिकित्सकको पदपूर्ति नहुनु, समयमा बिरामीले उपचार पाउन नसक्नु लगायतका कारणले २०२६ सालमा स्थापना भएको जनकपुर अञ्चल अस्पतालको सेवाबाट सेवाग्राही सन्तुष्ट हुन सकेका छैनन्। अस्पतालको सेवालाई प्रभावकारी बनाउनतर्फ अस्पताल प्रशासनदेखि राज्य सयन्त्रले समेत ध्यान दिन नसकेको स्थानीयको गुनासो छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४