काठमाडौं- आन्तरिक राजस्व विभागले विगतका वर्षजस्तै यस वर्ष पनि शनिबारबाट सातौं कर सप्ताह मनाइरहेको छ। विभागले हरेक वर्ष १ देखि ७ मंसिरसम्म विविध कार्यक्रम गरी मुलुकव्यापी रूपमा नै कर सप्ताह मनाउँदै आएको छ।
विभागले शुक्रबार पत्रकार सम्मेलन गरी ‘कर समृद्ध नेपाल, सुखी नेपालीको भर’ मुख्य नाराका साथ यस वर्षको कर सप्ताह मनाउन लागिएको जानकारी गराएको थियो।
हाल १८ लाख करदाता रहेको र आगामी ५ वर्षमा ३० लाख करदाता बनाउने लक्ष्य राखिएको भन्दै विभागका महानिर्देशक नेपालले करदाताहरूलाई अझ सक्रिय बनाउने विषयलाई प्राथमिकता दिँदै कर सप्ताह मनाइने बताए।
२०५४ सालको १ मंसिरदेखि विभागले हरेक वर्ष कर सप्ताह मनाउने गरिएको बताउँदै उनले यस वर्षको कर सप्ताह सफल बनाउनका लागि विभिन्न सातवटा उपसमिति गठन गरिएकोसमेत जानकारी दिए।
विभागका अनुसार कर सप्ताह कार्यक्रमको पहिलो दिन शनिबार मूल कार्यक्रमको आयोजना गरिने छ, जसको उद्घाटन अर्थमन्त्री डा युवराज खतिवडाले गर्नेछन्। शनिबार नै काठमाडौं उपत्यकाबाहिरका आन्तरिक राजस्व कार्यालय तथा करदाता सेवा कार्यालयले निजी क्षेत्रका प्रतिनिधिमूलक संस्थाहरूको समेत सहभागितामा प्रभातफेरि कार्यक्रम आयोजना गर्नेछन् ।
यसैगरी २ देखि ६ मंसिरसम्म काठमाडौं उपत्यकामा ठूला करदाता, मध्यमस्तरीय करदाता कर्यालय र आन्तरिक राजस्व कार्यालयद्वारा करदाता शिक्षा, अन्तक्रिया र सचेतनाका कार्यक्रम आयोजना गर्नेछन्।
३ मंसिरमा विभाग र उद्योग वाणिज्य महासंघबीच आर्थिक ऐनले ल्याएको छुटको विषयमा छलफल, ५ मंसिरमा नेपाल चेम्बर अफ कमर्सको सहकार्यमा रक्तदान र ५ मंसिरकै दिन नेपाल उद्योग परिसंघको आयोजनामा करसम्बन्धी अन्तक्रिया कार्यक्रम गरिनेछ। ६ मंसिरमा मैत्रीपूर्ण खेलसमेत आयोजना गरिने विभागले जनाएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४