काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्काले नेपाल विद्यार्थी संघको कार्यकाल थपबारे शीर्ष नेताबीच ठोस् छलफल नभएको बताएका छन्।
महामन्त्री खड्काले नेपाल समयसँग भने, ‘संघको म्याद थप्ने विषयमा नेता रामचन्द्र पौडेलजीसँग कुनै छलफल भएको छैन ।’ खड्काले यसबारे आवश्यक परे पछि छलफल गरेर निष्कर्षमा पुगिने बताए।
नेता पौडेल पार्टी कार्यक्रमको सिलसिलामा प्रदेश २ का विभिन्न जिल्लामा व्यस्त छन्। पौडेलका सहयोगी चिरञ्जीवी अधिकारीले नेता पौडेल पार्टी कार्यक्रममा राजधानीबाहिर रहेको र नेताहरूबचि संघको कार्यकाल थपबारे तत्काल छलफल र भेटघाट नभएको जानकारी दिए। नेविसंघको विधानलगायतका बारेमा छलफल गर्न शनिबार नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक बस्दैछ।
गत भदौ २ गते म्याद सकिएको संघको वर्तमान कार्यसमितिको कार्यकाल तीन महिना थप गरिएको थियो । थपिएको कार्यकाल आगामी मंसिर २ गते सकिँदैछ । संघको विधानअनुसार अब म्याद थप्न मिल्दैन। तर विजयकुमार गच्छदार नेतृत्वको फोरम लोकतन्त्र कांग्रेसमा विलय भएपछिको अवस्थालाई आधार मानेर र विशेष राजनीतिक निर्णय गरी म्याद थप्न सकिनेछ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४