धनगढी-प्रहरीले निर्मला हत्या प्रकरणको अनुसन्धानका क्रममा शंकास्पद भन्दै चारजनाबाट गरिएको डिएनए परीक्षण पनि म्याच नभएको कञ्चनपुर प्रहरीले जनाएको छ ।
कञ्चनपुर प्रहरीले शंकास्पद चारजनाको रगत संकलन गरि कार्तिक दोस्रो साता विधिविज्ञान प्रयोगशाला पठाएको थियो । शुक्रबार जिल्ला सरकारी वकिलको कार्यालयमा डीएनएको गोप्य रिपोर्ट खोलिएको र त्यो म्याच नभएको कञ्चनपुर प्रहरीका प्रवक्ता प्रहरी नायव उपरिक्षक कृष्णराज ओझाले जानकारी दिए ।
चारैजना भीमदत्तनगरपालिका २ र १८ नम्बर वडाका भएको बताइएको छ । प्रहरीले उनीहरुको नाम भने गोप्य राखेको थियो । प्रहरीले निर्मला हत्याकाण्डको अनुसन्धानका क्रममा यसअघि नै दिलिपसिंह विष्टसँगै कञ्चनपुरका तत्कालीन एसपी दिल्लीराज विष्ट उनका छोरा किरण विष्ट, स्थानीय आयुस विष्ट र चक्र बडुको समेत डीएनए परीक्षण गराएको थियो ।
निर्मलाको शरीरमा भेटिएको ‘भजाइनल स्वाब’ सँग डीएनए ‘म्याच’ गरेको थिएन । तत्कालीन कञ्चनपुर प्रहरीले मुख्य अभियुक्तका रुपमा गत भदौ ४ गते दिलिपसिंह विष्टलाई सार्वजनिक गरेको थियो ।
डीएनए नमिल्दा प्रहरीलाई अनुसन्धानमा थप सकस भएको छ । गत साउन १० गते साथी रोशनी वमको घरमा निस्किएकी भीमदत्तनगर–२ कि १३ वर्षीया किशोरी निर्मला पन्त साउन ११ गते मृत अवस्थामा फेला परेकी थिइन् ।
निर्मला हत्याकाण्डको अनुसन्धानमा गम्भीर लापरवाही गरेको भन्दै कञ्चनपुरका तत्कालीन एसपी दिल्लीराज विष्ट र वडा प्रहरी कार्यालय महेन्द्रनगरका इन्स्पेक्टर बर्खास्तीमा परेका छन् । प्रहरी प्रधान कार्यालय आफैले प्रहरी अधिकारीको कमजोरीबारे अनुसन्धान गरिरहेको छ । न्याय माग्दै निर्मलाका आमाबुबासहित स्थानीय छ दिनदेखि कंचनपुर जिल्ला प्रशासन अगाडी धर्नामा बसेका छन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४