भैरहवा–२०७३ सालदेखि बाख्रापालन सुरु गरेका रुपन्देहीको शुद्धोधन गाउँपालिका–३ बेताहानीका सन्दीप खनाल र सञ्जय खनालले अहिले घर कम्पाउन्डभित्रै वर्षको २० लाख बचत गर्छन् । देहरादुनको नीति विश्वविद्यालबाट सफ्टवेयर इन्जिनियरिङ गरेका सन्दीपले बाख्रापालन सुरु गर्दा उनको परिवारमा रुवाबासी चलेको थियो ।
दुखःकष्ट गरेर इन्जिनियरिङ गरेको छोरा एकाएक बाख्रापालनमा लागेपछि मन रोएको तर अहिले राम्रो भएको देख्दा खुसी लागेको आमा राधा खनालले बताइन् । उनले भनिन्, ‘बाख्रै पाल्न थियो भने किन इन्जिनियर पढेको भनेर छिमेकी, इस्टमित्र सबैले गाली गरे तर उसले कसैको कुरा सुनेन । अहिले सबै चुप छन् । सन्दीपले ठिकै गरेछ भन्छन् ।’ ६ वर्षको हुँदा बुबा गुमाएका सन्दीप ८५ वर्षीया हजुरबुबा बुद्धिसागर खनाल, आमा र भाइको संरक्षकसमेत हुन् । उनी घरमै बसेर कमाउने धन्दा सोच्दासोच्दै दिल्लीको अफ्टा कम्पनीको जागिर छाडेर बाख्रापालनमा लागेका हुन् ।
कम्पनीको जागिर छाडेर बाख्रापालन गर्दा परिवारले मात्रै होइन, छरछिमेक र आफन्त सबैले ‘धेरै पढेर बुद्धि बिग्रिएछ’ भन्न थाले । तर, सन्दीप कत्ति पनि विचलित भएनन् । उनलाई त्यसबेला सिएस पढिरहेका भाइ सञ्जयले मात्रै साथ दिएका थिए । सञ्जयले दाइले गर्न लागेको बाख्रा पालन राम्रो व्यवसाय भएको भन्दै परिवारका सदस्यलाई सम्झाए । सन्दीपले पनि पटकपटक सम्झाए । सन्दीपले सुरुमा ५० वटा बाख्रा ल्याए ।
सिएस सकेर भाइ सञ्जय पनि दाइलाई साथ दिन आए । बिस्तारै बाख्रा पालन राम्रो हुँदै गयो । अहिले एसके गोट फार्मका नामबाट उनीहरुले व्यावसायिक रूपमा ४ सय बढी बाख्रा पालन गर्दै आएका छन् । ‘दुई भाइको मिहेनत बिस्तारै सफलतातिर गयो, समयक्रमसँगै परिवारको पनि राम्रो सहयोग रह्यो र हामी सफल भयौं’, सन्दीपले भने । सुरुसुरुमा ‘धेरै पढेर बुद्धि बिग्रिएछ’ भन्नेहरू पनि अहिले उनीहरूको प्रगति देखेर चकित छन् । खनाल परिवार अहिले बाख्रा पालेरै छरछिमेकमा मात्रै होइन, जिल्लामै सबैको हाईहाई छन् ।
फार्ममा खनाल परिवारले खरी, तराई, जमुना पारी, बिटो, अज्मेरी, बोयर र बोयर क्रस जातका बाख्रा पालन गरेका छन् । बिउका लागि उनले अस्ट्रेलियाबाट बोयर जातको बोका लिएका छन् । बाख्रापालनमा दुई करोड बढी लगानी गरिएको छ । उनीहरुले वार्षिक एक करोड बढीको खसीबोका र बाख्रा बिक्री गर्छन् । सबै खर्च कटाएर २० लाख बढी बचत गर्छन् । बाख्रालाई खुवाउन ७ बिघा जमिनमा घाँस लगाइएको छ ।
कम्पनीको जागिर छाडेर बाख्रापालन गर्दा परिवारले मात्रै होइन, छरछिमेक र आफन्त सबैले ‘धेरै पढेर बुद्धि बिग्रिएछ’ भन्न थाले । तर, सन्दीप कत्ति पनि विचलित भएनन् ।
फार्ममा कृषि विकास बैंक लिले पनि ब्याज अनुदान लगानी गरेको छ । फार्ममा काम गर्ने पाँचजना कर्मचारी छन् । परिवारका ५ जना पनि बाख्राको सुसारमा रातदिन खट्छन् । यसबाहेक प्रत्यक्ष/अप्रत्यक्ष गरी २५० जनाले रोजगारी पाएका छन् । फार्मबाट मनग्य आम्दानी भएपछि र सबैको प्रशंसक बन्दै गएपछि सन्दीपले अन्य ठाउँमा पनि व्यावसायिक बाख्रा पालन गर्ने योजना बनाएका छन् ।
‘अबको पाँच वर्षभित्र कम्तीमा विभिन्न जिल्लाका २०/२५ ठाउँमा व्यावसायिक बाख्रा पालन गर्ने योजना छ’, सन्दीपले भने, ‘खसीबोकामा मुलुकलाई आत्मनिर्भर बनाउने मेरो प्रयास छ ।’
नेपालमा खसीबोका र बाख्राको बजार राम्रो छ । नेपाली उत्पादनले अपुग भएपछि बाह्य मुलुकबाट बर्सेनि लाखौंको संख्यामा खसीबोका आयात हुन्छ । ‘बजार राम्रो छ, जति उत्पादन गरे पनि बिक्री हुन्छ । हाम्रो पनि फार्मबाटै सबै बिक्री हुन्छ’, सन्दीपका भाइ सञ्जयले भने, ‘हामीले यहाँबाट पुर्याउन नसकेर बाहिरी जिल्लामा किसानले पालेका खसीबोका ल्याएर बिक्री गर्दै आएका छौं ।’
उनका अनुसार नियमित ग्राहकको आवश्यकता पूरा गर्न उनीहरुले कपिलवस्तु, पाल्पा, नवलपरासी, गुल्मी, अर्घाखाँची, दाङ, प्युठान, स्याङ्जालगायतका जिल्लाबाट पनि खसीबोका ल्याएर बिक्री गर्दै आएका छन् ।
उनको फार्मलाई कृर्षि विकास बैंकले सहुलियत दरको ऋण दिएको छ । त्यतिबेलाको घटना सम्झिँदै सन्दीपले भने, ‘सबैले बाख्रा पालन भन्दा हवल्दार बन, विदेश जा भन्थे । कसैले सहयोग गरेनन् । तर यो फार्मले मेरो अस्तित्व बचाइदिएको छ । पहिचान दिएको छ । मैले घरमै परिवारसँगै बसेर नाम र दाम कमाइरहेको छु ।’

प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४