कोलम्बो- श्रीलंकाको संसदमा कुटाकुट भएको छ। श्रीलंकाको पुर्नस्थापित संसदले बुधबार नवनियुक्त प्रधानमन्त्री महिन्दा राजापाक्षकोविरुद्ध अविश्वासको प्रस्ताव पारित भएको दोस्रो दिन बिहीबार संसदमा कुटाकुट भएको हो।
श्रीलंकाका सभामुख करु जयसूरियाले बिहीबार बुधबारको अविश्वास प्रस्तावपछि श्रीलंकामा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् नभएको घोषणा गरेका थिए। राजापाक्षका समर्थकहरुले संसद्मा होहल्ला र विपक्षी पार्टीका सांसदमाथि हातपात गर्न खोजेपछि त्यसको प्रतिरोध गर्न खोज्दा संसदमै कुटाकुट भएको हो।
श्रीलंकाको सर्वोच्च अदालतले राष्ट्रपति मैत्रीपाला सिरिसेनाले विघटन गरेको संसदलाई मंगलबार पुनःस्थापना गर्ने आदेश दिएको थियो। अदालतले राष्ट्रपतिद्वारा अर्को वर्ष हुनेगरी घोषणा गरिएको निर्वाचन पनि रोक्न आदेश दिएको थियो।
राष्ट्रपति मैत्रीपाला सिरिसेनाले शुक्रबार संसद् विघटन गरेर मध्यावधि चुनाव घोषणा गरेपछि यहाँको राजनीतिक संकट थप जटिल बनेको हो। गत महिना सिरिसेनाले प्रधानमन्त्री रनिल विक्रमसिंघेलाई पदबाट बर्खास्त गरेर पूर्वराष्ट्रपति महिन्दा राजापक्षलाई अघि सारेपछि श्रीलंकामा राजनीतिक संकट सुरु भएको थियो।
सभामुख कारु जयसूर्याले २२५ जना सदस्य रहेको संसदले प्रधानमन्त्री विरुद्धको अविश्वासको प्रस्ताव पारित गरेको घोषणा गरेका थिए। श्रीलंकाका राष्ट्रपति सिरिसेनाले गत अक्टोबर २६ मा प्रधानमन्त्री रनिल विक्रमासिङ्घेलाई बर्खास्त गरी पूर्व राष्ट्रपति महिन्दा राजापाक्षलाई प्रधानमन्त्री नियुक्त गरेका थिए।
संसदमा राजापाक्षको बहुमत पुग्ने नदेखिएपछि संसदको विघटन गरी आगामी जनवरी ५ मा आकस्मिक निर्वाचन हुने राष्ट्रपति सिरिसेनाले घोषणा गरेको छ। तर विक्रमासिङ्घेको दलले संसद विघटन गर्ने र निर्वाचन गर्ने निर्णयको विरोधमा अदालतमा निवेदन दिएका थिए । निवेदनमाथि प्रधान न्यायाधीश नलिन परेराको नेतृत्वमा भएको तीन सदस्यीय इजलासले संसद पुनः स्थापना गर्ने निर्णय दिएको थियो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४