भैरहवा- प्रदेश पाँच अर्न्तगत नेपाली काँग्रेसका जिल्ला सभापतिहरुको बैठक बिहिबारदेखि प्युठानको स्वर्गद्वारीमा सुरु भएको छ।
दुई दिनसम्म चल्ने बैठकमा राष्ट्रिय राजनीति, महासमितिको बैठक, विधान मस्यौदा संशोधनलगायतका विषयबस्तुमा छलफल हुने नेपाली काँग्रेस रोल्पाका सभापति अमर पुनले जानकारी दिए।
राष्ट्रिय तथा प्रदेश राजनीतिमा पार्टीको एउटै धारणा बनाउन र महासमितिको बैठक तथा विधान मस्यौदा संशोधनका सवालमा प्रदेश पाँचबाट एउटै सन्देश लैजानेगरी बैठक बसिएको पाल्पाका सभापति बिरबहादुर रानाले बताए।
प्रदेश पाँचमा पर्ने नवलपरासी, कपिलवस्तु, पाल्पा, गुल्मी, अर्घाखाँची, दाङ, बाँके, बर्दिया, रुकुम, रोल्पा र प्युठानका सभापतिहरु सहभागी भएपनि रुपन्देहीका सभापति अब्दुल रज्जाक अस्वस्थताका कारण बैठकमा सहभागि थिएनन्।
गत मंगलबारदेखि एक्कासी ज्वरो आएर युनिभर्सल मेडिकल कलेज भैरहवाको आईसीयुमा भर्ना भएका रुपन्देही सभापति रज्जाकको स्वास्थ्यमा क्रमिक सुधार आएको अस्पतालका चिकित्सकलाई उदृत गर्दै नेपाली काँग्रेस रुपन्देही क्षेत्र नं. १ का सभापति तथा देवदह नगरपालिकाका मेयर हिराबहादुर खत्रीले बताए।
मंगलबार एक्कासी ज्वरो आएपछि उनी बुधबार मात्रै अस्पतालमा भर्ना भएका थिए। उनको शरीरमा डब्लुबिसीको मात्रा बढी भएको चिकित्सकले बताएका छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४