वीरगन्ज- दक्षिणी छिमेकी भारतले बनारसको गंगा नदीमा निर्मित पहिलो मल्टिमोडल टर्मिनल संचालनमा ल्याएको छ। यो टर्मिनल भैरहवाबाट ३२० र वीरगंजबाट ३५७ किलोमिटर दूरीमा अवस्थित छ। मल्टिमोडल बन्दरगाहमा सडक,रेल र जल तीनवटै मार्गबाट हुने माल ढुवानीका लागी उपयोगमा ल्याउन सकिने पूर्वाधार उपलब्ध हुन्छ ।
जलमार्ग मार्फत हुने ढुवानी लागत अन्यको तुलनामा किफायती हुने भएकाले भारत सरकारले जलमार्गलाई प्रयोगमा ल्याउने नीतिलाई प्रभावकारीरुपमा कार्यान्वयन गरिरहेको छ।
भारतको बनारस बाहेक पश्चिम बंगालको हल्दिया र झारखण्ड राज्यको साहेबगंजमा समेत यस्तै टर्मिनल निर्माणाधीन रहेको भारतीय जल परिवहन मन्त्रालयको वेबसाईटमा उल्लेख छ। यसबाहेक बिहारको पटना नजिकै गाइघाटमा समेत सार्वजनिक निजी अवधारणामा मल्टिमिडिया टर्मिनल निर्माणको प्रस्ताव गरिएको छ। वीरगंजदेखि पटनासम्म सडक मार्गको दूरी जम्मा २०७ किमी छ।
नेपालले तेस्रो मुलुकसँग गर्ने व्यापारको ठूलो हिस्साका लागी ट्रान्जिटको रुपमा प्रयोग हुँदै आएको कोलकाताबाट वीरगंज ८२५ किमी र भैरहवा १००७ किमी दुरीमा अवस्थित छ। सोमबार पश्चिम बंगालको हल्दिया बन्दरगाहबाट १६ वटा मालबाहक ट्रक बराबरको १६ वटा कन्टेनर बोकेर पहिलो मालबाहक जहाज बनारस आइपुगेको हो ।
जहाजले बनारससम्मको १३९० किलोमिटरको दूरी १३ दिनमा तय गरेको भारतीय जल परिवहन मन्त्रालयद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।करिब ८,५९० करोड रुपैयाँ लागत अनुमान गरिएको मल्टिमोडल टर्मिनल विकास परियोजनाको निर्माणमा विश्व बैंक र भारत सरकारको बराबर लगानी रहेको छ । यो जलमार्गबाट १५०० देखि २००० हजार टन क्षमताको मालवाहक जहाज चलाउन सकिने प्राविधिकले बताएका छन् ।
जलमार्ग मार्फत हुने ढुवानी लागत अन्यको तुलनामा किफायती हुने भएकाले भारत सरकारले जलमार्गलाई प्रयोगमा ल्याउने नीतिलाई प्रभावकारीरुपमा कार्यान्वयन गरिरहेको छ। राष्ट्रिय जलमार्ग-१ नाम दिइएको कोलकातादेखि उतर प्रदेशको इलाहबादसम्म १६२० किमी लामो जलमार्गलाई पहिलो चरणमा व्यवसायीकरुपमा प्रयोगमा ल्याउन विश्व बैंकले भारत सरकारलाई आर्थिक सहयोग उपलब्ध गराएको छ।
तस्वीर स्रोत: प्रेस इन्फरमेशन ब्युरो अफ इण्डिया ।
मोदीको चुनावी दाउ
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो निर्वाचन क्षेत्र पर्ने बनारसलाई उधोग र व्यापारको हब बनाउने महत्वकांक्षाका विभिन्न पूर्वाधार निर्माणलाई प्राथमिकतामा पारेका छन् ।
यसअघि उनी गुजरात राज्यको मुख्यमन्त्री हुँदा गुजरातमा विकास पूर्वाधार निर्माणमा हासिल गरेको प्रगतिका लागी प्रशंसा बटुलेका थिए ।
भारत सरकारले जलमार्ग विकास परियोजना अन्तर्गत गंगा नदीको प्रयोग गर्दै संचालनमा ल्याएको जलमार्ग-१ मा निर्माण गरिरहेको तीनवटा टर्मिनलमध्ये संचालनमा आएको बनारसको टर्मिनल पहिलो हो ।
नेपालले फाइदा लिन सक्ला ?
मल्टिमोडल टर्मिनलहरु व्यवसायीकरुपमा सफल नभएसम्म तत्कालका लागी बनारस टर्मिनल नेपालले उपयोगमा ल्याउन सक्ने संभावना नरहेको यहाँका उध्योगीको भनाई छ।
बनारसको टर्मिनल तत्काल भारतीय आन्तरिक परिवहनका लागी उपयोगी हुनसक्छ, वीरगंज उधोग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष सुबोध गुप्ताले भने, तेस्रो मुलुकसँग कारोबार गरिने कार्गोको आयतन र सीमित गहिराईको नदीमा तैरिने जहाज सीमितताको कारण तत्काल हामी उत्साहित हुनुपर्ने अवस्था छैन।
अहिले तेस्रो मुलुकबाट पानी जहाजमार्फत आयातित मालबाहक कन्टेनर कोलकाता,हल्दिया र दक्षिण भारतमा अवस्थित विशाखापटनम बन्दरगाहबाट रेल वा सडक मार्ग हुँदै नेपाल सम्म ल्याइने गरेको छ । निर्यातका लागी बाहिरिने कन्टेनर समेत रेल वा सडक मार्गबाट भारतीय बन्दरगाहसम्म र त्यहाँबाट पानी जहाजमा गन्तव्य मुलुकको बन्दरगाहसम्म ढुवानी गरिन्छ ।
नेपालमा जल परिवहन
प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय ध्वजावाहक पानी जहाजसँगै नेपालमा समेत जल परिवहन संचालन गर्ने महत्वकांक्षी योजना अघि सारेका छन् । दुई देशबीच जल यातायात संचालनका सम्बन्धमा गतवर्ष चैतमा प्रधानमन्त्री ओलीको भारत भ्रमणका क्रममा दुबै प्रधानमन्त्रीबीच यसबारे सहमति समेत भएको थियो ।
नेपालले कोशी र नारायणी नदीमा जल यातायातको प्रस्ताव गरेको छ । यसबारे संयुक्त प्राविधिक टोलीले प्रारम्भिक सम्भाव्यता अध्ययन गरिरहेको छ। कोशीमा सप्तरीको हनुमान नगर र नारायणीमा दासढुंगासम्म जल यातायात संचालन गर्न सकिने सम्भावना रहेको नेपाली प्राविधिकहरुको भनाई छ।
नेपालको हिमालबाट बग्ने नारायणी र गण्डकी नदी तराइको समथर भूभाग हुँदै भारतमा गंगा नदीमा मिसिन्छन् । गंगा नदी पश्चिम बंगालमा पुगेपछि समुद्रमा मिसिनु अघि हुगलि र पदमा नदीका रुपमा विभाजित हुनपुग्छ । यसरी ठूला नदीकाे बहावका माध्यमबाट भारतको समुद्री बन्दरगाहसम्म जोडिएकाले नेपालमा पानी जहाज संचालन सम्भव रहेको भएपनि पूर्वाधार निर्माणमा ठूलो लगानी आवश्यक छ।