कात्तिक २८ गते बुधबार । उदाउँदो सूर्इलार्इ अर्घ दिएर छठ पर्वको समापन गरेको समाचारसँगै राजनीतिक घटनाक्रममा विषयवस्तु आजका पठन सामग्री बने । कांग्रेसका युवा नेताको गोप्य भेला गरेको, कांग्रेस सभापति शेरबहादुर देउवाले नजिक बनाएका विजय गच्छदारले देउवाको रेस्क्यु गर्ने सम्भावनाको समाचार, शहीद परिवार भेटन प्रचण्ड गाउँ हिँडेको, ठमेलका डान्सबारमा प्रहरीको छापा 'अन्डर एज'का ३५ केटाकेटी समातिएको, प्रदेशमन्त्रीका जागिर जानुका पाँच कारण : उल्टो झन्डादेखि डेटिङ कान्डसम्मको समाचार धेरै रूचाइएका समाचार बने। नेपाल समयले दिनभर गरेका अपडेटको संक्षेप के के रह्यो । थाहा पाउनुहोस् नेपाल समय दिनभरी :
कांग्रेसका युवा नेताको गोप्य भेला
महासमिति बैठकको पूर्वसन्ध्यामा नेपाली कांग्रेसका युवा नेताहरुले छुट्टै भेला गरेका छन्। बुधबार दिउँसो २ बजे राजधानीको पुरानोबानेश्रस्थित सिद्धार्थ कटेजमा कांग्रेसका प्रभावशाली युवा नेताहरु चन्द्र भण्डारी, धनराज गुरुङ, गुरुराज घिमिरे, गगन थापा, बद्रीप्रसाद पाण्डे र जीवन परियारले गोप्य भेला गरेका हुन्।
गच्छदारले देउवाको रेस्क्यु गर्लान्?
नेपाली कांग्रेस केन्द्रीय समिति बैठकले गत साता विजयकुमार गच्छदारलाई उपसभापतिमा मनोनीत गरेपछि पार्टीको आन्तरिक समीकरणमा तरंग उत्पन्न भएको छ। बैठकमा सभापति शेरबहादुर देउवाले कांग्रेस संसदीय दलका उपनेता गच्छदारलाई उपसभापतिमा नियुक्ति गर्ने प्रस्ताव अघि सार्दै पारित भएको घोषणा गरे । तर, कांग्रेस विधानले गच्छदारलाई चिन्दैन। पार्टीको क्रियाशील सदस्य, महाधिवेशन प्रतिनिधि र केन्द्रीय सदस्यमा निर्वाचित नभएका गच्छदारलाई सभापति देउवाले विधानविपरीत उपसभपातिमा नियुक्त गरेका छन्। कांग्रेस पदाधिकारीमा नियुक्त हुन निर्वाचित केन्द्रीय सदस्य हुनैपर्छ।
प्रदेशमन्त्रीका जागिर जानुका पाँच कारण : उल्टो झन्डादेखि डेटिङ कान्डसम्म
सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री दीर्घ बहादुर सोडारीलाई पदबाट बर्खास्त गरिनुका पछाडि थुप्रै कान्डहरु रहेको खुलासा भएको छ। उल्टो झन्डादेखि केटी कान्डसम्ममा मुछिएका सोडारीलाई सच्चिनका मुख्यमन्त्री त्रिलोचन भट्ट र पार्टी नेतृत्वले पटक पटक सचेत गराउँदा पनि अटेर गरेपछि उनको पद खोसिएको छ। नेकपाका सुदूरपश्चिम कमिटीको निर्देशनपछि मुख्यमन्त्री त्रिलोचन भट्टले मन्त्री सोडारीलाई पदबाट हटाएपछि त्यसका कारणबारे पार्टी वृत्तमा समेत खुलदुली बढेको छ। मुख्यमन्त्री भट्टले मंगलबारको पत्रकार सम्मेलनमा पद विपरित आचरण गरेको बताएका छन्। महिलासँग जोडिएका प्रकरण बाहिर ल्याउँदा पार्टीको समेत छबिमा धक्का पर्ने भएपछि उनले आचारण विपरित काम गरेको आरोप लगाएका हुन्।
संघीयता थाम्न दलहरूलाई सकस
नेपालको संविधानले नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य घोषणा गरेपछि नेपाल राज्य एकात्मक र केन्द्रीकृत स्वरूपबाट संघात्मकतामा रूपान्तरित भयो । हिजोको एक केन्द्र सरकारको ठाउँमा आज तीन तहका सरकार अस्तित्वमा आएका छन् । एउटै केन्द्र सरकारले गर्ने शासनको जिम्मेवारी र भार आज सात सय त्रिपन्न स्थानीय सरकार र सातवटा प्रदेश सरकारमा बाँडिएको छ । नेपालको संविधानको धारा २ बमोजिम नेपालको सार्वभौमसत्ता र राजकीय सत्ता नेपाली जनतामा निहित छ ।
गाउँ पुगेर यसरी शहीद परिवारलार्इ भेट्दैछन् प्रचण्ड र बादल
पारिवारिक भ्रमणको सिलसिलामा म्याग्दी पुगेका नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले शहीद परिवारलाई भेटेका छन् । पार्टी अध्यक्ष दाहाल र गृहमन्त्री थापा मङ्गला गाउँपालिका–२ सिमलचौरका शहीद परिवारकी गुमाकुमारी खड्काको परिवारलाई भेट्न पुगेका थिए। तत्कालीन माओवादी जनयुद्धमा होमिएर परिवारका दुई सदस्य गुमाएकी ५५ वर्षीया खड्कालाई आफ्नै गाउँमा भेट्ने अवसर जुरेको हो ।
‘प्रवासी नेपालीको मताधिकार सुरक्षित हुनुपर्छ’
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले संविधानको भावनानुसार प्रवासमा रहेका नेपालीको मताधिकार सुरक्षित हुनुपर्ने बताएका छन् । पार्टीको प्रवास विभागद्वारा बुधबार आयोजित कार्यक्रममा अध्यक्ष थापाले कामविशेषले बाहिर रहेका प्रवासीले आफ्नो मुलुकको विकास निर्माणका साथै निर्वाचनमा मताधिकार प्रयोग गर्न पाउनुपर्नेमा जोड दिए।
ठमेलका डान्सबारमा प्रहरीको छापा 'अन्डर एज'का ३५ केटाकेटी समातिए
प्रहरीले राजधानीको दरबारमार्ग र ठमेल क्षेत्रमा सञ्चालित डान्स बार र डिस्कोमा छापा मारी ३५ बालबालिकाको उद्धार गरेको छ । ती क्षेत्रमा सञ्चालित बार र डिस्कोमा बालबालिकालाई यौन क्रियाकलापमा संलग्न गराएको सूचनाका आधारमा महानगरीय प्रहरी परिसरबाट बुधबार दिउँसो खटिएको टोलीले छापा मारी उनीहरूलाई उद्धार गरेको हो ।
ठगी गर्ने बसलार्इ ट्राफिक प्रहरीको कारवाही
सुविधासम्पन्न पर्यटक बसको महङ्गो भाडा लिएर साधारण बसमा यात्रा गराउने पोखराको शुभ अधिकारी ट्राभल्सलाई कारवाही गर्न महानगरीय ट्राफिक प्रहरीले यातायात व्यवस्था विभागमा सिफारिश गरेको छ । पोखराबाट काठमाडौँको यात्रामा २१८ नंको टुरिष्ट बसमा यात्रा गराउने भनी जनही सात सय रुपैयाँ भाडा लिएको शुभ अधिकारी ट्राभल्सले पाँच सय भाडा लिने गरेको ७२४९ नंको साधारण बसमा यात्रा गराई ठगेपछि यात्रुले प्रहरीमा उजुरी गरेपछि कारवाही गराइएको हो ।
विदेशी ब्रान्डको अवैध कम्पनीमा छापा
छिमेकी मुलुक भारतबाट उत्पादन भई संसारभर बिक्रीवितरण भरहेको 'बिएमसी मसला' तथा 'हेड एन्ड सोल्जर स्याम्पु' नेपालमा अवैध रुपमा उत्पादन भइरहेको पाइएको छ। काठमाडौंको चन्द्रागिरी नगरपालिका-१५ मा सञ्चालित ज्योति सोप एन्ड केमिकल्स इन्डस्ट्रिज कम्पनीले अवैध रुपमा ती सामग्रीको अवैध उत्पादन गरिरहेको सूचना पाएपछि महानगरीय प्रहरी परिसरले छापा मारेको थियो।
धनुषसागरमा उर्लिएको श्रद्धा
नेपालीहरुले मनाउने छठ पर्व आज उदाउँदो सूर्यलाई अर्घ दिएर समापन गरिएको छ । यो पर्वमा नेपालका तराई र पहाडी क्षेत्रका अधिकांश तालतलाउ, नदीनालालाई झकिझकाउ बनाएर छठीमाताको पूजा गरिएको छ । जनकपुरको धनुष सागर पनि छठ पर्वको अवसरमा दुलही जस्तै सिँगारिएको छ । जनकपुरबासीका साथै जनकपुरमा असस्थायी बसोबास गर्नेहरुले पनि धनुष सागरमा पुगेर छठको पूजा गरेका छन् ।
विश्व बैङ्कले फेरि दियो १८ अर्ब
पुल सुधार तथा मर्मतसम्भार एवं खाद्य तथा पोषण परियोजना कार्यान्वयन गर्न सरकारले विश्व बैङ्कसँग १८ अर्ब रूपैयाँको सम्झौता गरेको छ । अर्थमन्त्री डा युवराज खतिवडा र विश्व बैङ्कका उपाध्यक्ष हार्टविग साफेरको उपस्थितिमा बुधबार अर्थमन्त्रालयमा आयोजित विशेष कार्यक्रममा अर्थ सचिव राजन खनाल र नेपाल, बङ्गलादेश र भूटानका लागि बैङ्कका देशीय निर्देशक चिम्याओ फ्यानले हस्ताक्षर गरे।
होशियार ! फेसबुकमा स्टाटस लेख्दा जागिर जाला!!
फेसबुकमा मनपरी स्टाटस लेख्ने कर्मचारीमाथि सरकारले कारबाही थालेको छ। सरूवा बढुवा तथा सरकारी निकायमा हुने अन्य निर्णय तथा कामका बारेमा फेसबुकमा स्टाटस हालेर लाइक र कमेन्ट बटुल्न खोज्ने कर्मचारीलार्इ निगरानीमा राख्दै कारबाही थालिएको हो ।
राखेपको उपाध्यक्षमा पिताम्बर तिम्सिना नियुक्त
राष्ट्रिय खेलकुद परिषदको रिक्त रहेको उपाध्यक्ष पदमा पिताम्बर तिम्सिना नियुक्त भएका छन्। बुधबार एक कार्यक्रम विच राष्ट्रिय खेलकुद परिषदका अध्यक्ष एवं युवा तथा खेलकुद मन्त्री जगतबहादुर बिक (सुनारले) तिम्सिनालाई युवा तथा खेलकुद मन्त्रालयमा उपाध्यक्ष पद तथा गोपनियताको सपथ गराएका हुन्।
रोनाल्डोको सहयोगमा युभेन्टसको कीर्तिमान
रोनाल्डोकै महत्वपुर्ण प्रदर्शनका कारण युभेन्टसले घरेलु लिग सिरी-ए मा अपराजित रहदै यतिबेला सफल इतिहासमा छ । लिगमा सुरुवाती १० खेलसम्म अपराजित रहदै युभेन्टसले क्लबको इतिहासमा पहिलोपटक अपराजित रहेको रेकर्ड बनाएको हो । यस सिजन हाल सम्म १२ खेल खेल्दा युभेन्टसले एक खेल बराबरी खेल्दै ३४ अंक सहित शीर्ष स्थानमा ६ अंकले अग्रता लिएको छ । युभेन्टस अक्टोबर २० जेओनासँग आफ्नो घरेलु मैदानमा भएको खेलमा १-१ को बराबरीमा रोकिएको थियो । सो खेलमा पनि रोनाल्डोले नै गोल गरेका थिए ।
बार्सिलोना : कुन खेलाडीको कमाई कति ?
आर्थिक हिसाबले समेत बलियो मानिएको स्पेनिस क्लब बार्सिलोना विश्वकै उत्कृष्ट क्लब मध्येको एक हो । स्टार खेलाडी सम्मिलित रहेको क्लबका खेलाडीले कति पैसा कमाउँछन् भन्ने जिज्ञासा खेल प्रेमीका लागि रहने गर्दछ । आफ्नो मन पर्ने खेलाडी र विपक्ष्य खेलाडीले कती कमाउछ ? भन्दै खेल प्रेमीले तुलना गर्न थाल्दछन् । यसै बिषयलाई मध्य नजर गर्दै हामीले बार्सिलोना सिनियर टोलीका खेलाडीले कमाउने तलब-भत्ताबारे चर्चा गर्न खोजेका छौ ।
थाइ बालकको बक्सिङ रिङमै मृत्यु, थाइल्यान्डमा खैलाबैला
थाइल्यान्डमा भएको बक्सिङ खेलमा १३ वर्षीय बालकको मृत्यु भएपछि चौतर्फी बिरोध भएको छ । मुआए थाई मार्सल आर्ट भनिने पाशविक एवं निर्मम खेलमा बालबालिकाले खेल्न नपाउने गरी प्रतिबन्ध लगाउन फेरि आवाज उठेको छ । थाई बक्सिङ देशैभर निकै लोकप्रिय छ र युवा अवस्थामै धेरै खेलाडी प्रतिष्ठा एवं धनको लोभमा यस खेलमा आकर्षित हुने गरेका छन् । तर जतिसुकै आलोचना भएपनि १० वर्ष नपुग्दै रिङमा बालबालिकालाई खेलाउने प्रचलन घट्नुको साटो हरेक वर्ष बढ्दैछ ।