काठमाडौं- महासमिति बैठकको पूर्वसन्ध्यामा नेपाली कांग्रेसका युवा नेताहरुले छुट्टै भेला गरेका छन्। बुधबार दिउँसो २ बजे राजधानीको पुरानोबानेश्रस्थित सिद्धार्थ कटेजमा कांग्रेसका प्रभावशाली युवा नेताहरु चन्द्र भण्डारी, धनराज गुरुङ, गुरुराज घिमिरे, गगन थापा, बद्रीप्रसाद पाण्डे र जीवन परियारले गोप्य भेला गरेका हुन्।
आगामी २८ मंसिरबाट सुरु हुने महासमिति बैठकमा युवाका तर्फबाट सांगठनिक र राजनीतिक बिषयमा आफ्ना एजेण्डाहरु कसरी प्रस्तुत गर्ने भन्ने बिषयमा छलफल भएको भेलामा सहभागी नेता पाण्डेले नेपाल समयलाई बताए।
बैठकमा विधान संशोधन मस्यौदामा आफ्ना एजेण्डाहरुलाई कसरी राख्ने, राजनीतिक र सांगठानिक संरचना पार्टीको कस्तो हुने भन्ने बिषयमा समान धारणा बनाउन सामान्य छलफल भएको थियो।
युवा नेताहरुबीच शुक्रबार दिउँसो बिस्तृत छलफलको लागि समय निर्धारण गरिएको छ। आगामी गोप्य भेलामा प्रदीप पौडेल, कमला पन्त लगायतका युवा नेताहरुलाई सहभागी गराइने भएको छ। केन्द्रीय सदस्यहरुले गत असारमा भएको कांग्रेस जिल्ला सभापतिको भेलामासमेत बेग्लै प्रतिवेदन पेश गरेका थिए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४