काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी ओलीले पत्रकारहरुको प्रश्न गर्ने शैलीप्रति असन्तुष्टि जनाएका छन्। समसामयिक विषयमा पार्टीको धारणा सार्वजनिक गर्न पार्टी मुख्यालय च्यासलमा आयोजित पत्रकार सम्मेलनमा उनले यो असन्तुष्टि पोखेका हुन्।
'एमालेले फेरि पनि चिसै पानीले नुहाउँछ' कि भन्ने प्रश्नमा उनले भने, 'पत्रकार साथीहरुको प्रश्नको शैली... चिसै पानीले नुहाउने ! जस्ता, यस्तै यस्तै खालका भनौं न। अलिक विरोध भाव नदेखाईकन प्रश्न गर्दा पनि हुन्छ जस्तो लाग्छ।' आफूले सञ्चारमाध्यमका हेडलाइनबाटै एमालेप्रतिको नजरिया थाहा पाउने जिकिर उनले गरे।
विषय प्रवेश गर्दै ओलीले भने, 'संसद् अवरुद्ध हुनै हुँदैन, गर्नै हुँदैन, त्यस्तो परिस्थिति ल्याउनै हुँदैन।संसद् देश र जनताका लागि काम गर्ने थलो हो। देश र जनताको काम निर्बाध ढंगले गर्नुपर्छ।'
उनले संसद् निदाएर, सुतेर बस्ने ठाउँ नभएको बताए। आफूहरू संसद् चलाउने पक्षमा रहेको तर सत्तापक्ष उठेर होहल्ला गर्ने गरेको उनको भनाइ छ। 'संसद् हामी चलाउन खोजिरहेका छौं। तर, प्रतिपक्ष बोल्न उठ्नेबित्तिकै सत्तापक्ष जर्याकजुरुक उठेर होहल्ला गर्ने, संसद्मा व्यवधान खडा गर्ने। बोल्न पनि नदिने,' ओलीले भने।
एक क्विन्टल सुन प्रकरणलाई सरकारले टुप्पोटुप्पोमा मात्र हेरेको आरोप उनले लगाए। सरकारले सुन प्रकणमा गहिरो गरी छानबिन गर्नै नचाहेको उनको तर्क छ।
ओलीले कांग्रेस सांसद सुनिल शर्माको सटिर्फिकेट अहिले किन छानबिन गर्नुपरेको भन्दै प्रश्न उठाए। उनले भने, 'अहिले मन्त्रीमाथि छानबिन गर्न भनेपछि उनको सटिर्फिकेटको छानबिन गर्नु गलत हो। सभामुखलाई किन पहिला नै जानकारी गराइएन? कार्यकर्तालाई उजुरी हाल्न लगाएर तर्साउने, सांसदलाई त यस्तो गरिरहेका छन् भने अरुको अवस्था के होला?'