आइतबार, साउन ४, २०८२
  • गृहपृष्ठ
  • समाचार
  • सीआईबीले बयान लिने भएपछि भ्रमण छोट्याएर फर्किंदै माधव, बाबुराम तयार

सीआईबीले बयान लिने भएपछि भ्रमण छोट्याएर फर्किंदै माधव, बाबुराम तयार

 |  आइतबार, साउन २८, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

आइतबार, साउन २८, २०८०

vianetvianet

काठमाडौं- ललिता निवास जग्गा घोटाला प्रकरणमा मुछिएका दुई पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई र माधवकुमार नेपालसँग नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले बयान लिने भएको छ। सर्वोच्च अदालतको आदेशबाट बाटो खुलेपछि यो प्रकरणको छानबिन गरिरहेको सीआईबीलाई नेपाल र भट्टराईसँग बयान लिन सहज भएको हो।

नेकपा एकीकृत समाजवादीका अध्यक्षसमेत रहेका नेपाल अहिले युरोपका विभिन्न देशको भ्रमणमा छन्। सर्वोच्चको आदेश आएको भोलिपल्टै भ्रमणमा निस्किएका नेपाल तालिका छोट्याएर भोलि सोमबार स्वदेश फर्किने भएका छन्। 

'माधव नेपाल भागेको' टिप्पणीहरु हुन थालेपछि उनी बीचमै फर्किन लागेका हुन्। उनी युरोपका विभिन्न देशहरू स्वीट्जरल्याण्ड, स्पेन, क्रोएसिया र बेलायतको भ्रमणका लागि साउन २२ गते त्यसतर्फ गएका थिए। प्रवासी नेपाली एकता मञ्च युरोपले आयोजना गर्ने कार्यक्रममा सहभागी भएर उनी भदौ १ गते स्वदेश फर्कने कार्यतालिका थियो। ललिता निवास, सुन प्रकरण लगायत घटनाक्रम विकसित भएपछि नेकपा एसका नेताहरुले अध्यक्ष नेपाललाई भ्रमण छोट्याएर फर्कन सुझाव दिएका थिए। 

यो प्रकरणमा जोडिएका अर्का पूर्वप्रम बाबुराम भट्टराईले आफू सीआईबीलाई बयान दिन तयार रहेको सार्वजनिक रुपमै बताइसकेका छन्। सीआईबीले टिप्पणी उठाउने, जग्गा खरिद गर्ने र उक्त जग्गा अपचलनमा कुनै न कुनै किसिमले सहभागी भएकाहरुलाई पक्राउ गरिसकेको छ। नेपाल र भट्टराईलाई भने पक्राउ नगरी बयान लिने सीआईबीको योजना छ।

अहिले ललिता निवास जग्गा प्रकरणमा जोडिएका २० जनालाई सीआईबीले पक्राउ गरी अनुसन्धान गरिरहेको छ भने उक्त काण्डमा जोडिएका अन्य व्यक्तिको संलग्नताको बारेमा छानबिन भइरहेको छ।

सीआईबीले उक्त जग्गा प्रकरणमा ४ सयभन्दा बढीको संलग्नता रहेको बताउँदै पक्राउ पुर्जी जारी गरेर पूर्वमन्त्री विजयकुमार गच्छदार, डम्बर श्रेष्ठ, चन्द्रदेव जोशी र सञ्जय साह टकलालाई खोजी गरेको भए पनि उनीहरू फरारको सूचीमा छन्।

२०४९ देखि नै उक्त जग्गा हत्याउने गिरोह सक्रिय रहेको निष्कर्ष सीआईबीले निकालेको छ। २०६६ सालमा दीप बस्न्यात भौतिक योजना सचिव हुँदा प्रधानमन्त्री निवास विस्तार भएको थियो। नक्कली मोहीलाई सट्टाभर्ना दिने निर्णयमा पूर्वउपप्रधान एवं भौतिक योजनामन्त्री गच्छदार थिए भने राज्यमन्त्री साह र भूमिसुधार मन्त्री चन्द्रदेव जोशी थिए।

प्रकाशित: Aug 13, 2023| 10:06 आइतबार, साउन २८, २०८०
प्रतिक्रिया दिनुहोस्