बिहीबार, जेठ २८, २०८३

रुकुम पश्‍चिमको खाद्य कम्पनीमा चामल आउनै छाड्यो

 |  शनिबार, साउन २७, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, साउन २७, २०८०

रुकुम पश्‍चिम- खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड रुकुमपश्चिम शाखाबाट स्टिम जिरा, सोना मन्सुली, अरुवा मोटो र बास्मती चामल बिक्री हुँदै आएको थियो। यीमध्येका केही सस्तोमा पाइने भएपछि खाद्यको चामलप्रति उपभोक्ताको आकर्षण थियो। 

National life

रुकुम पश्चिम शाखाबाट अहिले स्टिम जिरा मात्रै बिक्री हुने गरेको जनाइएको छ। 'बजारको तुलनामा खाद्यमा चामल केही सास्तो पाइन्छ। यहाँबाट किन्दा प्रतिकिलो रू ३० देखि ४० सम्म फरक पर्छ', शाखा प्रमुख विनोद चन्दले भन्नुभयो, 'अहिले खाद्यमा भनेजति चामल छैन। स्टिम जिरा मात्रै मौज्दात छ।'

चन्दका अनुसार अहिले गोदाममा पाँच सय ३५ क्विन्टल चामल मौज्दात छ। 'गत आर्थिक वर्ष २०७९-८० मा कम्पनीमा ३६ हजार ९४ क्विन्टल ६५ केजी आएको थियो, सोही चामल अहिले पनि मौज्दनत छ', उनले भने।

चालु आवमा पनि नेपालगञ्ज र तुलसीपुरबाट चामल ल्याउने तयारी भइरहेको शाखा प्रमुख चन्दले जानकारी दिए। 'पहिलाका वर्ष तुलसीपुरबाट मात्रै ढुवानी हुने गरेकामा यस वर्ष नेपालगञ्जबाट पनि आउने भएको छ', उनले भने, 'जिल्लामा १५ हजार क्विन्टल कोटा भए पनि कोटा थप हुनसक्छ।' 

सोना मन्सुली, अरुवा मोटो र बास्मती कम्पनीको शाखामा नआएको बताउँदै चन्दले यहाँबाट उक्त चामल बेच्न छोडिएको जानकारी दिए। 

Shivam cement

त्यस्तै बिक्री केन्द्र स्यालाखदीमा बर्खामा चामल पठाउन नसकिएको जिल्ला शाखाले जनाएको छ। गत आवमा नौ सय ९९ क्विन्टल चामल पुगेकामा यस अवका लागि एक हजार कोटाको ठेक्का आह्वान भएको शाखा प्रमुख चन्दले बताउनुभयो। भारतबाट हुने चामल निर्यात बन्द गरेकाले यस वर्ष कति चामल आउने हो भन्न नसकिने उनको भनाइ थियो।

जिल्लामा रहेका पाँच सहकारीले शाखाबाट चामल लिएर गाउँमा बिक्री गर्न थालेपछि खाद्यको चामल गाउँसम्म पुग्न थालेको चन्दले बताए। उनका अनुसार अहिले कम्पनी र दुई सहकारीबीच सम्झौता भएकाले उक्त सहकारीले मात्रै चामल बेच्ने गरेका छन्। 'सहकारीमार्फत गाउँमै सस्तोमा पाएपछि सर्वसाधारण खुसी भएका थिए', उहाँले भन्नुभयो, 'अहिले केही सहकारीले ढुवानीको समस्याका कारण बेच्न छाडेका छन्।'

प्रकाशित: Aug 12, 2023| 19:17 शनिबार, साउन २७, २०८०
प्रतिक्रिया दिनुहोस्