काठमाडौं- छिमेकी मुलुक भारतबाट उत्पादन भई संसारभर बिक्रीवितरण भरहेको 'बिएमसी मसला' तथा 'हेड एन्ड सोल्जर स्याम्पु' नेपालमा अवैध रुपमा उत्पादन भइरहेको पाइएको छ।
काठमाडौंको चन्द्रागिरी नगरपालिका-१५ मा सञ्चालित ज्योति सोप एन्ड केमिकल्स इन्डस्ट्रिज कम्पनीले अवैध रुपमा ती सामग्रीको अवैध उत्पादन गरिरहेको सूचना पाएपछि महानगरीय प्रहरी परिसरले छापा मारेको थियो।
धादिङ धार्के घर भई काठमाडौं नैकापमा बस्दै आएका बासुप्रसाद बिडारीले पत्नी ज्योति बिडारीका नाममा सञ्चालन गरेको उक्त कम्पनीमार्फत अवैध रूपमा विदेशी ब्रान्डको लोगो तथा प्याकेट प्रयोग गरी मसला र स्याम्पु उत्पादन गरी बिक्रीवितरण गरिरहेको प्रहरीले जनाएको छ। प्रहरीले दुवै जनालाई पक्राउ गरेको छ भने कम्पनीमा सिल गरेको छ।
विदेशी ब्रान्डको उक्त सामान प्याक गर्ने लोगोसहितको प्याकेट भारतबाट नेपाल ल्याउने गरेको र उक्त कम्पनीको नेपाल प्रतिनिधि अहिलेसम्म सम्पर्कमा नआउनुले कर छली गर्न उक्त विदेशी ब्रान्ड नेपालमा अवैध रुपमा स्थापना त गरिएको हैन भन्ने विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ। ज्योति केमिकल्सले विगत १८ महिनादेखि उत्पादन तथा बिक्रीवितरण गरिरहेको जानकारी अनुगमन गर्ने निकायले पत्ताे नपाउनु आफैमा शंकास्पद छ।
प्रहरीले उक्त कम्पनीबाट आधुनिक उपकरण प्रयोग गरी उत्पादित ४० कार्टुन बिएमसी मसला, ११ क्विन्टल कच्चा पदार्थ र मसला प्याक गर्ने एघार बन्डल रोल, होलो ग्राम अंकित ५ बन्डल सिल्भर प्लास्टिक, तयारी मसला प्याक गर्न तयारी गरिएको २५० थान बक्स, तयारी स्याम्पु ३६० बक्स, ४० लिटर स्याम्पुको कच्चा पदार्थ र ती सामान उत्पादन गर्ने तीनवटा मेसिन बरामद गरेको छ।
प्रहरीले बरामद सबै समानको मूल्य ५० लाख रुपैयाँभन्दा बढी रहेको अनुमान गरेको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४