मनहरी (मकवानपुर)– मकवानपुरमा सुक्खा पहिरोमा खसेको ढुंगा लागेर घाइते भएका प्रहरी जवानको मृत्यु भएको छ।
प्रहरी चौकी भैंसेमा कार्यरत २२ वर्षीय प्रहरी जवान कीर्तिबहादुर नेपालीको सुक्खा पहिरोमा खसेको ढुंगा लागेर शुक्रबार बेलुकी मृत्यु भएको हो।
भीमफेदी गाउँपालिका–२ भैंसेमा सुक्खा पहिरोसँगै खसेको ढुंगाले लागेर घाइते भएका नेपालीलाई उपचारका लागि हेटौंडा अस्पताल ल्याइएकामा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका नायब उपरीक्षक एवं प्रहरी प्रवक्ता टेकबहादुर कार्कीले बताए।
‘बिहीबार भैंसेस्थित प्रहरी पोस्टमा काम गरिरहेको समय उहाँ चिप्लिएर घाइते हुनुभएको थियो’, उनले भने, ‘हेटौंडा अस्पतालमा उपचारपछि फर्किने क्रममा शुक्रबार दिउँसो ढुंगा लागेर नेपाली पुनःघाइते भएपछि घटनास्थलबाटै अस्पताल लगिएको थियो।’
नेपालीसँगै प्रहरी जवान सुनिल मेचे घाइते भए पनि उनको अवस्था सामान्य रहेको कार्कीले बताए।
मृतक नेपाली जाजरकोटको शिवालय नगरपालिका–८ का स्थायी बासिन्दा रहेको प्रहरीले जनाएको छ। उनको शव आज परिवारलाई जिम्मा लगाई जाजरकोट पठाइँदै गरेको इरहेको प्रहरी प्रवक्ता कार्कीले जानकारी दिए।–रासस