बिहीबार, जेठ २८, २०८३

महिलाको नाममा जग्गा पास गर्ने बढे

 |  शनिबार, साउन २७, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, साउन २७, २०८०

तनहुँ- गत आर्थिक वर्ष (आव) २०७९–८० मा मालपोत कार्यालय तनहुँमा महिलाको नाममा जग्गा पास गर्नेको सङ्ख्या बढेको छ। गत आवमा कूल दुई हजार आठ सय चौरासी वटा लिखत पारित भएको महिलाका नाममा मात्रै दुई हजार छ सय २८ पास भएको कार्यालयले जनाएको छ।

National life

गत आवमा जग्गा रजिष्ट्रेसन पास वापत २४ लाख चौरासी हजार छ सय दुई राजस्वमा छुट दिएको कार्यालयका सुब्बा एवं सूचना अधिकारी टीकाराम शर्मा घोरासाइनेले जानकारी दिए।

महिला, दलित तथा जनजाति, सहिद परिवार, अपाङ्गता भएका, ज्येष्ठ नागरिकको नाममा जग्गा पास गर्दा २५ प्रतिशत र कृषि क्षेत्रमा ५० प्रतिशत छुटको व्यवस्था छ।

ग्रामीण क्षेत्रका महिलाको तुलनामा सहरी महिलाको नाममा जग्गा पास गर्नेको सङ्ख्या दोब्बर बढी रहेको तथ्याङ्कले देखाएको छ। ग्रामीण क्षेत्रका नौ सय सत्तरी र सहरी क्षेत्रका एक हजार नौ सय १४ महिलाले आफ्नो नाममा जग्गा पास गरेको कार्यालयको भनाइ छ।

महिलाका नाममा जग्गा पास गर्दा २५ प्रतिशत राजस्वमा छुट पाउने भएपछि महिलाको नाममा जग्गा पास गर्नेको सङ्ख्या बढ्दै गएको उनको भनाइ छ। मालपोत कार्यालय तनहुँले गत आवमा कूल ३० करोड ८४ लाख तीन हजार ५४ राजस्व सङ्कलन गरेको छ। कार्यालयका अनुसार यो अघिल्लो आवको तुलनामा १३ करोड ८२ लाख ७४ हजार छ सय दश कम हो।

Shivam cement

त्यसैगरी आव २०७८-७९ मा चार हजार पाँच सय ४२ लिखत पारित हुँदा चार करोड ५५ लाख तीन हजार पाँच सय २५ छुट भएको थियो। सो आवमा ४४ करोड ६८ लाख चार हजार छ सय ६४ राजस्व सङ्कलन भएको कार्यालय प्रमुख चिरञ्जीवी पौडेलले जानकारी दिए।

प्रकाशित: Aug 12, 2023| 09:11 शनिबार, साउन २७, २०८०
प्रतिक्रिया दिनुहोस्