काठमाडौं-प्रहरीले राजधानीको दरबारमार्ग र ठमेल क्षेत्रमा सञ्चालित डान्स बार र डिस्कोमा छापा मारी ३५ बालबालिकाको उद्धार गरेको छ । ती क्षेत्रमा सञ्चालित बार र डिस्कोमा बालबालिकालाई यौन क्रियाकलापमा संलग्न गराएको सूचनाका आधारमा महानगरीय प्रहरी परिसरबाट बुधबार दिउँसो खटिएको टोलीले छापा मारी उनीहरूलाई उद्धार गरेको हो ।
महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी वसन्तकुमार लामाले डान्स बार तथा डिस्कोमा यौनजन्य क्रियाकलापमा संलग्न १६ वर्ष उमेर नपुगेका ३५ बालबालिकाको उद्धार गरिएको जानकारी दिए । तीमध्ये १० बालक र २५ बालिका छन् । उनका अनुसार प्रहरीले तीनजना डान्स बार सञ्चालकलाई नियन्त्रणमा लिएको छ ।
एसएसपी लामाले नेपाल समयसँगको कुराकानीमा भने, ‘तिहारअघि ठमेल क्षेत्रका डान्स बार तथा डिस्कोमा म आफैंले अनुगमन गर्दा उमेर नपुगेका बालबालिका प्रयोग गरेको देखेको थिएँ । सम्बन्धित व्यवसायीलाई परिसरमा बोलाएर आइन्दा बालबालिका प्रयोग गरे कारबाही गर्ने चेतावनी पनि दिएँ तर उनीहरूले बालबालिका प्रयोग गर्न नछाडेको पाइएपछि छापा मारेका हौं ।’
एक्सिस डिस्को २३ र वेभ डिस्को, बेबो डान्स बार तथा युनिक डान्स बारबाट १२ जना बालबालिकालाई उद्धार गरी परिवारको जिम्मा लगाएको प्रहरीले जनाएको छ ।
उमेर नपुगेका बालबालिकालाई होटल, रेस्टुरेन्ट तथा बारमा कममा लगाएमा बालबालिका ऐन २०७५ अनुसार सञ्चालकलाई एक वर्ष कैद तथा पचास हजार जरिबाना हुने व्यवस्था छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४