काठमाडौं-नेपाली कांग्रेस केन्द्रीय समिति बैठकले गत साता विजयकुमार गच्छदारलाई उपसभापतिमा मनोनीत गरेपछि पार्टीको आन्तरिक समीकरणमा तरंग उत्पन्न भएको छ।
बैठकमा सभापति शेरबहादुर देउवाले कांग्रेस संसदीय दलका उपनेता गच्छदारलाई उपसभापतिमा नियुक्ति गर्ने प्रस्ताव अघि सार्दै पारित भएको घोषणा गरे । तर, कांग्रेस विधानले गच्छदारलाई चिन्दैन। पार्टीको क्रियाशील सदस्य, महाधिवेशन प्रतिनिधि र केन्द्रीय सदस्यमा निर्वाचित नभएका गच्छदारलाई सभापति देउवाले विधानविपरीत उपसभपातिमा नियुक्त गरेका छन्। कांग्रेस पदाधिकारीमा नियुक्त हुन निर्वाचित केन्द्रीय सदस्य हुनैपर्छ।
कांग्रेसमा विशेष आमन्त्रित केन्द्रीय सदस्यका हैसियतमा गत वर्षदेखि केन्द्रीय कार्य समिति बैठकमा उपस्थित गच्छदारलाई उपसभापतिमा नियुक्ति गर्ने सभापति देउवाको निर्णयबाट संस्थापन पक्षका उपसभापति विमलेन्द्र निधिदेखि कोइराला परिवारका सदस्य कोही पनि सन्तुष्ट छैनन्। गच्छदार २०६४ फागुनमा कांग्रेस परित्याग गर्दै तत्कालीन मधेसी जनअधिकार फोरम नेपालमा प्रवेश गरेका थिए।
गत वर्ष आफू नेतृत्वको नेपाल लोकतान्त्रिक फोरमलाई कांग्रेसमा विलय गरेका गच्छदारले पार्टीका शीर्ष नेतासँग गरेको सहमति कार्यान्वयन नगरेको भन्दै बारम्बार असन्तुष्टि जनाउँदै आएका थिए। त्यतिबेला गच्छदारलाई पार्टी उपसभापतिसहित १५ केन्द्रीय सदस्य दिने सहमति भएको कुरा बाहिर आएको थियो। सभापति देउवाले गच्छदार कांग्रेसमा प्रवेश गरेपछि निधिलाई उपसभापति, पूर्णबहादुर खड्कालाई महामन्त्री र डा. प्रकाशशरण महतलाई सहमहामन्त्रीमा नियुक्त गरेका थिए। कांग्रेस विधानमा एकजना मात्र उपसभापति हुने व्यवस्था छ। तर, सभापति देउवाले राजनीतिक निर्णय भन्दै गच्छदारलाई उपसभापतिमा चयन गरेका छन्।
केन्द्रीय कार्य समितिले चाहेमा विधानमा रहेको प्रावधान संशोधन गर्न दफा ५० मा बाधाअड्काउको व्यवस्था गरिएको छ। तर, सभापति देउवाले विधानको सो प्रावधान टेक्न चाहेनन् र बहुमतकै आधारमा गच्छदारलाई उपसभापतिमा प्रस्ताव गरे। गच्छदार उपसभापतिमा ल्याइए पनि उनी मर्यादाक्रममा अर्का उपसभापति निधिभन्दा वरिष्ठ हुने कि कनिष्ठ हुने भन्ने स्पष्ट छैन।
कुनै बेला कोइराला परिवारको सदस्यकै भूमिकामा रहेका गच्छदार सुजाताको पार्टी नेतृत्वमा प्रवेश भएपछि तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालासँग टाढिँदै देउवासँग निकट बनेका थिए। कोइराला परिवारबाट राजनीतिमा सक्रिय महामन्त्री डा. शशांक, डा. शेखर र सुजाता गच्छदारलाई पार्टी पदाधिकारीमा नियुक्त गरिएको घटनाबाट सबैभन्दा बढी रुष्ट छन्।
नेपालको राजनीतिक इतिहासमा सबैभन्दा बढी १२ पटकसम्म मन्त्री भएका गच्छदार कुनै बेला उनै देउवाका प्रतिस्पर्धी थिए, नेपाली कांग्रेस प्रजातान्त्रिकमा । २०६३ सालमा तत्कालीन कांग्रेस प्रजातान्त्रिकका सभापति शेरबहादुर देउवा संसदीय दलको नेतामा उम्मेदवार हुँदा गच्छदारले चुनौती दिएका थिए। देउवाविरुद्ध संसदीय दलको नेतामा उम्मेदवारी दिएर १३ मत ल्याएका उनी १० वर्षपछि गत असोज २९ गते कांग्रेस प्रवेश गरेका थिए।
गच्छदार यतिबेला फेरि देउवाकै शरणमा परेका छन्। सत्ता र शक्तिमा अनवरत ३० वर्षको अनुभव लिएका गच्छदार सुनसरीबाट २०४८ सालदेखिको हरेक संसदीय निर्वाचनमा विजयी हुँदै आएका छन्।
कांग्रेस राजनीतिमा शक्ति आर्जन गरेका गच्छदार पञ्चायतकालमा समेत चर्चित थिए । हङ पार्लियामेन्ट हुँदा २०५२ सालदेखि सत्ता अभ्यासमा पोख्त गच्छदारले २०५५ सालसम्म कांग्रेसभित्र ‘एकेजिबी’ भनेर अन्य नेतालाई राखेर दबाब समूह गठन गरेका थिए।
एकेजिबी अर्थात् कांग्रेसका तत्कालीन प्रभावशाली नेताहरू अर्जुननरसिंह केसी, खुमबहादुर खड्का, गोविन्दराज जोशी र विजयकुमार गच्छदारले मोर्चा बनाएर सत्ता र शक्ति प्रयोगमा प्रभाव जमाएका थिए। चार प्रभावशाली नेतामध्ये खुमबहादुर खड्काको गत वर्ष निधन भयो भने गोविन्दराज जोशी कांग्रेसको मूलधारको राजनीतिबाट अलग्गिएका छन्।
एकेजिबी गुटका चारमध्ये केसी यतिवेला देउवाको कट्टर विरोधी भएर निस्किएका छन्। गच्छदारलाई कांग्रेसमा प्रवेश गराउँदा उनी केसीसँग मिलेर बलियो गुट बनाउलान् भन्ने आशंका सभापति देउवामा रहेको पाइन्छ ।
गच्छदार राजनीतिक दल परिवर्तन गरेर भए पनि सत्तामा सदाबहार छाइरहने राजनीतिक पात्र हुन्। उनले तत्कालीन प्रधानमन्त्रीहरु गिरिजाप्रसाद कोइराला, कृष्णप्रसाद भट्टराई, सूर्यबहादुर थापा, शेरबहादुर देउवा, पुष्पकमल दाहाल प्रचण्ड, डा. बाबुराम भट्टराई, माधवकुमार नेपाल, झलनाथ खनाल नेतृत्वको मन्त्रिपरिषद्मा महत्त्वपूर्ण मन्त्रालयको जिम्मेवारी सम्हालिसकेका छन्।
१३ औं महाधिवेशनमा देउवा गुटबाट महामन्त्रीका उम्मेदवार बनेका केसी यतिबेला देउवाविरोधी गुटको समायोजन र संयोजनको भूमिकामा क्रियाशील छन्।
गच्छदारलाई उपसभापति बनाउँदा आफूलाई मातहत राख्न सक्ने सम्भावना देखेपछि उपसभापति बनाइएका निधि पनि सभापति देउवासँग सशंकित छन्। उपसभापतिको पद विधान संशोधन गरेर व्यवस्था गरिएमा सो पदको आशा गरेर बसेका देउवानिकटका गोपालमान श्रेष्ठ पनि यतिबेला देउवासँग रुष्ट छन्।
देउवाका हरेकजसो निर्णयविरुद्ध खरो उत्रिँदै आएका रामचन्द्र पौडेल र प्रकाशमान सिंहभन्दा नरम र मध्यमार्गी भूमिकामा रहेका महामन्त्री डा. शशांक कोइरालासमेत देउवासँग क्रुद्ध बनेका छन् । संसदीय दलको निर्वाचनमा प्रकाशमान सिंहविरुद्ध देउवालाई भोट हालेका शशांक सोमबार सभापति देउवाविरोधी खेमामा उपस्थित भएका थिए ।
गच्छदारले पार्टीमा आएर प्रभाव जमाएमा मधेसमा आफ्नो वर्चस्व र प्रभाव गुमाउनुपर्ने चिन्तामा रहेका निधिले खुलेर विरोध गर्न नसके पनि कोइराला परिवारका सदस्य भने असन्तुष्ट छन्। २०५७ सालको पोखरामा भएको कांग्रेसको १० औं महाधिवेशनमा केन्द्रीय कार्य समिति सदस्यमा उम्मेदवारी दिन नपाए पनि त्यसपछि कांग्रेस राजनीतिमा क्रियाशील सुजाता कोइरालालाई प्राथमिकता र अवसर दिएको भन्दै गच्छदार त्यसैबेला गिरिजाबाबुसँग रुष्ट बनेका थिए।
गच्छदारलाई पदाधिकारीमा नियुक्त गर्ने जोखिम मोलेका देउवालाई यो निर्णयले ‘डेन्जर जोन’ मा पुर्याएको छ ।
कुनै बेला कोइराला परिवारको सदस्यकै भूमिकामा रहेका गच्छदार सुजाताको पार्टी नेतृत्वमा प्रवेश भएपछि तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालासँग टाढिँदै देउवासँग निकट बनेका थिए। कोइराला परिवारबाट राजनीतिमा सक्रिय महामन्त्री डा. शशांक, डा. शेखर र सुजाता गच्छदारलाई पार्टी पदाधिकारीमा नियुक्त गरिएको घटनाबाट सबैभन्दा बढी रुष्ट छन्।
अर्का वरिष्ठ नेता पौडेल र कृष्णप्रसाद सिटौला तथा उनी निकटका नेताहरु भने गच्छदारको कार्यशैली र छवि तुलनात्मक रूपमा स्वच्छ नभएको भन्दै उनको आलोचना गर्छन्। नेपालको राजनीतिमा सत्ता र शक्तिको प्रयोगबाटै धेरैको समर्थन, सहयोग र हाइहाइ बटुलेका गच्छदारको कांग्रेसमा प्रभाव जति छ, त्रास र आशंका त्यति नै छ। गच्छदारबाट सहयोग र समर्थन पाइने आशा जिल्ला स्तरका नेताहरूले गर्छन् भने केन्द्रीय नेताहरु आफू छायामा पर्ने त्रासमा उनको पक्षमा उभिन सक्दैनन्।
अनुभव, प्रभाव, क्षेत्र, थारू र मधेसी समुदायको नाममा राजनीतिमा टिक्न सक्ने गच्छदारलाई सभापति देउवाले उपभापतिमा ल्याउनुलाई कांग्रेसभित्र स्वाभाविक रूपमा लिइएको छैन। गच्छदारलाई यसरी विधानबमोजिम प्रक्रिया पूरा नगरी उपसभापतिमा नियुक्त गरेको विषयलाई लिएर सभापति देउवाइतरका नेताहरु मोर्चाबन्दी सुरु गरिसकेका छन्।
गच्छदारलाई पदाधिकारीमा नियुक्त गर्ने जोखिम मोलेका देउवालाई यो निर्णयले ‘डेन्जर जोन’ मा पुर्याएको छ । सभापति देउवापछि सम्भावित नेतृत्वको आशा गरेर बसेका निधि र अर्का महामन्त्री पूर्णबहादुर खड्कासमेत देउवाको यो निर्णयबाट सशंकित बनेका छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४