काठमाडौं- संघारमा पुगेको पार्टी एकता रोकिएपछि राप्रपाभित्र आरोप प्रत्यारोप सुरु भएको छ। राप्रपाका शीर्ष नेताहरुले सार्वजनिक कार्यक्रम र सामाजिक सञ्जालमा आपसी तिक्तता सार्वजनिक गर्न थालेका छन् ।
राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपति शमशेर राणाले कमल थापाले पार्टी एकता भाँडेको आरोप लगाएपछि थापाले मंगलबार सामाजिक सञ्जाल ट्वीटरको प्रयोग गर्दै राणा नै एकताको वाधक रहेको बताएका छन्।
थापाले राप्रपाको एकता बिथोलिनुको कारण राणा भएको भन्दै ट्वीटरमा लेखेका छन्, 'पशुपतिजीको अभिव्यक्ति गलत र एकताको भावना बिपरित छ।राजसंस्थावारे स्पष्ट प्रतिबद्धता र हिन्दुत्वको प्रतिक 'गाई'चुनावचिन्ह एकताको न्युनतम शर्त भन्ने उहाँले बुझ्नुपर्छ।उहाँको भनाईबाट स्पष्ट हुन्छ एकता किन/कसले बिथोल्यो।आरोप प्रत्यारोप होइन,लाखौ पार्टी कार्यकर्ताको भावनाको सम्मान गरौं ।'
त्यसो त राणाले पनि थापाकै कारण एकता भाँडिएको आरोप लगाएका छन् । मंगलबार भएको एक साक्षात्कार कार्यक्रममा राणाले थापाको ‘तातै खाउँ, जलै मरौं’ भन्ने स्वभावले एकता भाँडिएको बताए ।
राणाले एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी)का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीसँग गम्भीर छलफल गरेपछि पार्टी एकता गरौं भन्ने प्रस्ताव पनि थापाले नमानेको बताए ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४