धनगढी- सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री दीर्घबहादुर सोडारीलाई पदबाट हटाईएको छ।
मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय स्रोतका अनुसार मन्त्री सोडारीलाई पदबाट हटाइएको हो।
तिहारका बेला मन्त्रीको गाडी दुर्घटना सम्बन्धी प्रकरणमा मुछिएपछि मन्त्री सोडारीलाई प्रदेशको मन्त्रीपरिषद् तथा मुख्यमन्त्री कार्यालयले हटाएको हो ।
मन्त्रीका स्वकीय सचिव दीर्घ जोशीले मन्त्रीलाई पदमुक्त गरिएको पुष्टि गरे । मन्त्रीले प्रयोग गर्ने गाडी दुर्घटना भएको प्रकरणका कारण पार्टीको निर्देशनमा सोडारीलाई मन्त्रीबाट हटाइएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्रोतले जनाएको छ ।
मन्त्री सोडारीले प्रयोग गर्दै आएको बा२झ ३१२५ नम्बरको स्कारपियो जीप शुक्रबार राति कैलालीमा दुर्घटना भएको थियो । दुर्घटनामा ३ जना घाइते भएका थिए ।
मन्त्री सोडारी जीपमा सवार नरहेको अवस्थामा भएको दुर्घटनामा परी जीप चालक गोदावरी नगरपालिकाका धोजेन्द्र शाही, निजकै भान्जी नाता पर्ने १० वर्षीया आयुश्मा शाही र से३प २४२० नम्बरको मोटरसाइकलका चालक गौरीगंगा नगरपालिकाका सुरेन्द्र चन्द घाइते भएका थिए ।
पूर्वपश्चिम राजमार्गअन्तर्गत पर्ने कैलालीको बडैपुर सडक खण्डमा से३प २४२० नम्बरको मोटरसाइकल र मन्त्री सोडारीको स्कारपियो जीप एकापसमा ठोक्किएर दुर्घटना भएको थियो ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४