विराटनगरः विरानगर न्यूरोरोडका सुरज शाहको परिवारले छठको ब्रत बसेको बर्षौ भयो। हरेक वर्ष शाहको परिवार विरानगर ७ को सिंगिया खोलामा घाट बनाएर छठ पूजा गर्छन। विराटनगर महानगरपालिका र कटहरी गाँउपालिका जोड्ने पुल मुनि घाट बनाउछन शाह ।
छठ मनाउन र ब्रत बस्ने कुरामा उत्साह हुने शाह खोलाको प्रदुषणदेखि हरेक वर्ष समस्यामा पर्ने बताउँछन। आफ्नो परिवारले मनाउने महान चाड छठको सुगन्धलाई खोलाको दुर्गन्धले सताउने गरेको उनी बताउँछन। भन्छन, ‘छठ मनाउन घाट चाहिन्छ । घाट बनाउन यहि खोला राम्रो छ । तर, फोहोरै फोहोर छ।’
सार्वजनिक सौच गर्नेदेखि अन्य सबै प्रकारका सहरी फोहोर फाल्ने गन्तव्य सिंगिया बनिरहेकाले ब्रतालुहरुलाइ असहज भएको उनी बताउँछन । शाह मात्रै हैन विराटनगरको सबैभन्दा धेरै घाट बन्ने सिंगिया खोलामा फोहोरको डुंगुरले समस्यामा परेका धेरै छन । यसका एक भुक्तभोगी हुन विराटनगर ९ सिद्धार्थ चोकका असोक कुमार भगत । भगतले विराटनगरमा छठको ब्रत बसेको दुइ दशक हुन लाग्यो ।
हरेक साल फोहोर थपिने र प्रदुषण बढेर समस्या भएको उनी बताउँछन । उनी भन्छन, ‘विराटनगरमा अस्पतालदेखि सिनोसम्म सबै यहि खोलामा फाल्छन । महानगरपालिकाको खुल्ला डम्पिङ भएको छ यो पवित्र खोला ।’ पुलबाट पश्चिमपट्टि सोमबार अपरान्ह घाट बनाउदै गरेका भगतले छठको पवित्रतामा प्रदुषणले समस्या पारेको बताए ।
सफाईलाई छठ कुर्नु हुन्न
अस्पतालका फोहोरले डंगुर हुने सिंजिया खोलाको सफाई छठमा मात्र गर्न नहुने स्थानीय कपिल भट्टराई बताउँछन । विराटनगर ३ बुद्ध चोकका भट्टराई आफ्नी दिदी कल्पना रिजालको ब्रतकालागि घाट तयार गर्दा फोहोरले आजित बनाएको बताउँछन् । खोला किनारमा कुहिने फोहोरको गन्ध र प्लास्टिकको थुप्राहरुले समस्या गरेको भट्टराईले बताए ।
‘घाट बनाउन खन्दा प्लास्टिक आउँछ छेउछाउबाट गनाउने फोहोरको उस्तै दुर्गन्ध छ’,भट्टराईले भने, ‘खोला पुलको पूर्वबाट किनार आउने महानगरले डोजर लाएर बनाएको बाटेमा पनि प्लास्टिकै प्लास्टिक छन ।’
भट्टराइसँगै घाट बनाइरहेका विराटनगर १० तीनटोलियाका पुस्कर गिरीको दुःखेको फोहोरकै छ । आफ्नी जेठि सासुको लागी घाट बनाउन आएका गिरीले छठको सुन्दर पक्षहरु खोलाको दुर्गन्धले कुरुप पारेको बताउँछन ।
आइतबार मेयर भिम पराजुली र ७ नम्बर वडाध्यक्ष मधु तिवारी आएर फोहोर हटाउने बताएपनि फोहोर नहटेको गिरी बताउँछन । ‘बाह्र महिनाको फोहोर एक दुइ दिन हटाएर हुँदो रहेनछ’, गिरी भन्छन, ‘अब महानगर र नागरिकले बाह्रै महिना यो खोला सफा गर्नुपर्यो । महानगरले डम्पिङ बनाउनुपर्र्यो। नागरिकले उचित स्थानमा मात्रै फोहोर फाल्नुपर्यो ।’
बर्षभरि फोहोर गर्ने र पर्वमा मात्रै सफाई गर्नु आफैंमा नराम्रो भएको गिरीको तर्कछ । ‘वर्षभरि दुर्गन्ध आउने यो खोलामा छठको समयमा मात्रै अगरबत्तिको सुगन्ध आउँछ’, गिरी भन्छन, ‘अब हरेक दिन सुगन्ध ल्याउने बनाउनु पर्छ । सुगन्ध ल्याउन नसकिएपनि दुर्गन्ध भने आउन दिनु हुँदैन ।’
