जनकपुरधाम-श्रद्धा, भक्ति र साझा सांस्कृतिक प्रतिबिम्बको रुपमा मनाइएने छठ पर्व जनकपुरसहित मुलुकभर उल्लासपूर्वक मनाइँदै छ । छठ पर्वको तेस्रो दिन आज अस्ताउँदै गरेको सूर्यलाई अर्घ दिइँदै छ । साँझ अस्ताउँदै गरेको सूर्यको उपासना गर्न जनकपुरका पोखरीहरु दुलही झैं सजाइएको छ ।
छठ पूजागर्न आवश्यक पूजन सामग्रीहरु ब्रतालुहरुले पोखरीको घाटमा पुर्याई सकेका छन् । पोखरीको घाटहरुमा सजाइएर राखिएका पूजन सामग्रीले छठको शोभालाई थप आकर्षक बनाएको छ ।
जनकपुरमा एक दर्जनभन्दा बढी पोखरीमा छठ पूजा हुने गरेको छ । यहाँको गंगासागर, धनुषसागर, अंगराजसर, दशरथ तलाव, विहार कुण्ड, रत्नसागर, अग्नीकुण्ड लगायतका पोखरीहरु आकर्षणकै केन्द्र बन्ने गरेको छ ।
नेपालभर प्रख्यात जनकपुरको छठ हेर्न आन्तरिक तथा बाह्य पर्यटकहरुको घुँइचो लाग्ने गरेको छ । यसवर्ष पनि यहाँको छठ हेर्न उल्लेख्य संख्यामा पर्यटकहरु जनकपुर पुगेको होटल व्यवसायीहरु बताउँछन् ।
छठ पर्व गर्नाले पारिवारमा सुख शान्ति, समृद्धि आउनुका साथै चर्म रोग निको हुने जनविश्वास छ । महाभारत अनुसार द्रौपदीसहित पाण्डवहरु अज्ञातवासमा रहेको बेला गुप्तवास सफल बनाउन सूर्यदेवको आरधाना गरेका थिए । त्यसपछि छठ मनाउने परम्परा सुरु भएको जनविश्वास छ ।
यसैगरी सूर्य पुराण अनुसार सबैभन्दा पहिले अत्रिमुनिका पत्नी अनुसुइयाले छठ ब्रत गरेका थिए । फलस्वरुप उनले अटल सौभाग्य र पति प्रेम प्राप्त गरे । त्यसपछि छठ पर्वको सुरुवात भएको संस्कृतिविद्हरु बताउँछन् ।
