जब दिलीप कुमारले सन् १९४४ मा आफ्नो फिल्मी करियरको शुरुआत गरेका थिए, त्यतिबेला पारसी थिएटरको प्रभावको कारण चलचित्रका अभिनेताहरु लाउड एक्टिङ गर्ने गर्थे।
प्रख्यात कथाकार सलीम भन्छन्, 'दिलीप कुमारले सबैभन्दा पहिले भूमिकालाई अन्डरप्ले गर्न सुरू गरे र सूक्ष्म अभिनयको तत्वहरुलाई पर्दामा उतार्ने प्रयास गरे।' चलचित्र ‘मुगल ए आजम’मा पृथ्वीराज कपूरको चरित्र निकै प्रभावी र लाउड थियो। शहजादा सलीमको भूमिकामा अन्य कुनै अभिनेता पृथ्वीराज कपूरको अगाडि लाउड हुने लोड लिन सक्थेनन् होला तर दिलीप कुमारले जानाजान बिना आफ्नो स्वरलाई उँचो गरी आफ्नै लय अनुसार मुलायम, सुसंस्कृत तर दृढ स्वरमाा आफ्नो डाइलग बोले र दर्शकको वाहवाही समेत प्राप्त गरे।
दिलीप कुमार, राजकपूर र देवानन्दलाई भारतीय चलचित्र जगतको त्रि–मूर्ति भनिन्छ तर जति बहुमुखी आयाम दिलीप कुमारको अभिनयमा थियो, त्यति सम्भवतः यी दुईमा थिएन। राज कपूरले चार्ली च्यापलिनलाई आफ्नो आदर्श मानेका थिए भने देवानन्दले ग्रेगरी पेकको अन्दाजमा सुसंस्कृत व्यक्तिको इमेजबाट बाहिर आउन सकेनन्।
यसरी आएका थिए दिलीप चलचित्रमा
दिलीप कुमारले ‘गंगा जमना’ चलचित्रमा एक गाउँले ‘गवार’को भूमिका जुन खुबीका साथ निभाएका थिए, त्यति नै न्याय उनले ‘मुगल ए आजम’मा मुगल शहजादाको भूमिकासँग गरेका थिए।
हिन्दी चलचित्रकी प्रख्यात अभिनेत्री देविका रानीसँग संयोगवश भएको एक भेटले दिलीप कुमारको जीवन नै बदलिदियो। देविका रानी चालीसको दशकमा भारतीय चलचित्र जगतको निकै ठूलो नाम थिइन् तर उनको त्योभन्दा पनि ठूलो योगदान हुन गयो पेशावरको फल व्यापारीको छोरा यूसुफ खानलाई 'दिलीप कुमार’ बनाउनु।
एउटा चलचित्रको सुटिङ हेर्न बम्बे टकीज गएका हेन्डसम युसुफ खानलाई उनले सोधेकी थिइन्, के तिमीलाई उर्दू आउँछ ? यूसुफले आउँछ भन्नेबित्तिकै उनले अर्को प्रश्न गरेकी थिइन् के तिमी अभिनेता बन्न चाहन्छौ ? आगाडिको कथा इतिहास बन्न पुग्यो।
देविका रानीलाई लाग्यो एक रोमान्टिक हिरोको नाम यूसुफ खान धेरै प्रभावकारी लाग्दैन। त्यतिबेला बम्बे टकीजमा काम गर्ने र पछि हिन्दीको ठूलो कवि नरेन्द्र शर्माले उनको लागि तीन वटा नाम सुझाए, जहांगीर, वासुदेव र दिलीप कुमार। यूसुफ खानले आफ्नो नयाँ नाम दिलीप कुमार चयन गरे।
उक्त नाम चयनको पछाडि एउटा कारण के पनि थियो भने पुराना विचारधारा भएका उनको पितालाई उनको असली कामबारे थाहा नहोस् भनेर। किनभने उनको पिताले चलचित्रवालाहरुलाई 'नौटंकीवाला’ भनेर व्यंग्य गर्थे। ६ दशकसम्मको लामो फिल्मी करियरमा दिलीप कुमारले कुल ६३ वटा चलचित्रमा काम गरे र प्रत्येक चरित्रमा आफूलाई पूरै खरो उतारेका छन्।
चलचित्र 'कोहिनूर’ को एक गीतमा सितार बजाउने चरित्रको लागि उनले उस्ताद अब्दुल हलीम जाफर खानसँग लामो समय सितार बजाउन सिकेका थिए। त्यस्तै चलचित्र 'नयाँ दौर’ बनाउने बेला उनले टाँगा चलाउनेसँग तालिम लिएका थिए। यही कारणले प्रख्यात चलचित्र निर्देशक सत्यजीत रायले उनलाई सर्वश्रेष्ठ 'मेथड अभिनेता’को पदवी दिएका थिए।
ट्रयाजेडी किङको उपाधि
दिलीप कुमारले थुप्रै अभिनेत्रीहरुसँग रोमान्टिक जोडी बनाएका थिए। कतिपयसँग उनको एकदमै नजिकको सम्बन्ध रहे पनि त्यो सम्बन्ध विवाहसम्म पुग्न सकेन।
भनिन्छ- मुटु टुट्ने व्यथाले नै उनलाई यस्तो अभिनय गर्नको लागि प्रेरित गर्यो जसले उनलाई ट्रयाजेडी किङको उपाधि दिलायो। एक सयम यस्तो आयो कि प्रायजसो चलचित्रमा उनको अन्तिममा मृत्यु हुन्थ्यो। यो क्रम दोहोरिँदै गएपछि उनी डिप्रेसनमा समेत गएका थिए।
यतिसम्म कि उनलाई चिकित्सकीय उपचार नै लिनुपरेको थियो। चिकित्सकले उनलाई ट्रयाजिक चलचित्र छोडेर कमेडी ट्राइ गर्न सल्लाह दिएका थिए। त्यसपछि उनले 'कोहिनूर’, 'आजाद’ र 'राम और श्याम’ जस्तो चलचित्रमा काम गरे।
दिलीप कुमारले अभिनेत्री नरगिससँग सबैभन्दा धेरै चलचित्रमा काम गरे तर मधुवालासँग उनको जोडी सबैभन्दा लोकप्रिय बन्यो। दिलीप कुमार आफ्नो आत्मकथा 'द सब्सटेन्स एन्ड द शैडो’ मा स्वीकार गर्दै लेखेका छन्, ‘म मधुबालाप्रति आकर्षित थिएँ एक कलाकारको रूपमा र एक महिलाको रुपमा पनि। तर मधुबालाको पिताको कारण यो प्रेम कथा धेरै दिन चल्न सकेन। उनको बुवालाई यो सम्बन्ध मन परेको थिएन। बुवाकै कारण विस्तारै दुबैमा मनमुटाव सुरु भयो र अन्ततः दुबै छुट्टिए।
स्टाइल आइकन दिलीप
त्यस समय दिलीप कुमारको निधारमाथि 'वी’ बनाउने उनको कपालको स्टाइल नेशनल क्रेज नै बन्न पुग्यो। सेतो रंगसँग उनको विशेष लगाव थियो। उनको नक्कल गर्ने युवाहरुको कमि हुन्थेन। उर्दू शायरी र साहित्यमा उनको खास रुचि थियो। उनी शिक्षित र विद्वान व्यक्तित्व थिए। उर्दू, हिन्दी, अंग्रेजी र पञ्जाबी भाषामा उनको समान पकड थियो। मराठी, भोजपुरी र फारसी पनि बोल्न सक्थे। उनी फुटबल र क्रिकेटका पनि शौकिन थिए।
दिलीप कुमारलाई सन् १९९१ मा पद्मभूषण र २०१६ मा अर्को सबैभन्दा ठूलो नागरिक सम्मान पद्मविभूषणबाट सम्मानित गरियो। तत्कालीन गृहमन्त्री राजनाथ सिंहले मुन्बईस्थित उनको पालीहिल घरमा पुगेर उक्त पुरस्कार प्रदान गरेका थिए।
दिलीप कुमारलाई १९९५ मा दादा साहब फाल्के पुरस्कारबाट सम्मानित गरिएको छ भने १९९७ मा पाकिस्तान सरकारले उनलाई आफ्नो सबैभन्दा ठूलो नागरिक सम्मान निशान ए इम्तियाज’ बाट सम्मानित गरिसकेको छ। दिलीप कुमारले उक्त सम्मान स्वीकार गर्नको लागि प्रधानमन्त्री अटल बिहारी वाजपेयीसँग आधिकारिक रुपमा अनुमति लिएका थिए।
- बीबीसी हिन्दीको सहयोगमा