काठमाडौं–राजधानीबाट २७ कात्तिक मंगलबार प्रकाशित दैनिक पत्रिकाले सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपा र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस भित्रको आन्तरिक उथलपुथलका समाचारलाई प्राथमिकताका साथ छापेका छन् । त्यस्तै सूर्यको आराधना गरी मनाइने छठ पर्व, निर्मला पन्थको हत्याको ११० दिन बित्दा नेता र स्थानीयबासी पनि परिवारका सदस्यसँगै धर्नामा रहेको खबरलाई प्राथमिकताका साथ छापेका छन् ।
आजको नयाँ पत्रिका दैनिकले पार्टीसँग सरोकारविहीन अवस्थामा सरकार पुगेको खबरलाई मुख्य बनाएको छ । नेकपाका स्थायी समिति बैठक चार महिनादेखि बस्न नसकेको, केन्द्रीय सदस्यले एक पटक पनि छलफल गर्न नपाएको, पोलिटव्युरो अहिलेसम्म गठन नै हुन नसकेको, प्रधानमन्त्री पार्टी कार्यालयनै जान छाडेको, प्रधानमन्त्रीकै सिको गर्दै मन्त्रीहरु प्नि पार्टी कार्यालय नगएको, सरकारको समीक्षा चार महिनादेखि अलपत्र परेको कुरालाई समेटेर सत्तारुढ दल नेकपाबीचको खबर सार्वजनिक गरेको छ । त्यस्तै देउवाविरुद्ध पूर्वसंस्थापनको मोर्चाबन्दी सुरु भएको, सुजाता कोइरालाको निवासमा सात नेता भेला भएर मोर्चाबन्दी थालेको खबर पनि प्राथमिकतामा छ ।
अन्नपूर्ण पोस्टले नेकपामा शिथिलता बढेको खबरलाई मुख्य बनाएको छ । सत्तारुढ नेकपाका युवा नेताले पार्टी बैठक अनिश्चित बन्दै गएपछि शीर्ष नेतृत्वमाथि दबाब बढाउन थालेको तथा पौडेल र चार कोइराला मिलेर कांग्रेस सभापति शेरबहादुर देउवालाई निसानामा पारेको खबर छापेको छ । सरकारको अनुत्पादक खर्च बढेको, गाँडी छँदै नयाँ गाडीको मोहले एकै वर्षमा ६ हजार नयाँ सरकारी गाडी थपिएको समाचार अन्नपूर्णमा छ ।
नागरिक दैनिकले सिक्टा सिँचाई आयोजनामा पप्पुसँगको ठेक्का तोडिएको खबर छ। ठेक्का सम्झौताको अवधि २८ महिनामात्र बाँकी रहँदा कोस्टाल पप्पुले डुँडुवा शाखा नहरको सात प्रतिशतमात्र काम गरेको छ । त्यस्तै सभापतिलाई घेराबन्दी गर्दै कांग्रेसका असन्तुष्ट नेताहरु भेलाहरु थालेको खबर मुख्य छ ।
कान्तिपुर दैनिकले राष्ट्रिय गौरबका र ठूला विकास आयोजना प्रधानमन्त्री मातहतमा पुगेको, प्रधानमन्त्रीले नै प्रत्यक्ष रेखदेख गर्ने सम्बन्धी विधेयकको मस्यौदा तयार हुँदै गरेको, मन्त्रिपरिषदमा गुपचुप गरिएकै दिन १६ निर्णय भएको खबरलाई मुख्य रुपमा छापेको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४