काठमाडौं-राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालीले मनाउने पर्व छठ छठ राष्ट्रिय एकता अभिवृद्धि गर्ने पर्वका रुपमा रहेको बताएकी छन् । छठको अवसरमा शुभकामना दिँदै राष्ट्रपति भण्डारीले सूर्य देवता र छठी माताको पूजाराधना गरी हर्षोल्लासपूर्वक मनाइने छठ पर्वले सबै नेपालीमा राष्ट्रिय एकता अभिवृद्धि गर्न, मौलिक संस्कृतिको संरक्षण तथा सम्वद्र्धन गर्न र आपसी सद्भाव थप सुदृढ पार्न प्रेरणा प्रदान गर्ने विश्वास लिएको बताएकी छन् ।
त्यस्तै उपराष्ट्रपति नन्दबहादुर पुनले पनि छठ पर्वको अवसरमा शुभकामना दिँदै ‘अस्ताउँदो र उदाउँदो सूर्यको पूजा गरी मनाइने सूर्य उपासना परम्पराको मोहक पद्धति मानिएको संसारकै मौलिक र पवित्र पर्व छठले नेपालीबीच आपसी सद्भाव, सहिष्णुता, भाइचारा र एकता अभिवृद्धि गर्दै राष्ट्रिय एकतालाई थप सुदृढ गर्नेमा आफू विश्वस्त रहेको बताएका छन् । उपराष्ट्रपति पुनले दिएको सन्देशमा भनिएको छ, पारिवारिक कल्याण, सन्तान सुख तथा मनोकामना पूरा हुने विश्वासका साथ मनाइने छठले समृद्ध नेपाल निर्माणको अभियानमा हातमा हात मिलाएर अघि बढ्न सबै नेपालीलाई प्रेरणा देओस् भन्ने कामना गर्दछु ।
यस्तै राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले छठले धार्मिक तथा सांस्कृतिक विविधताले सम्पन्न हाम्रो मुलुकमा सामाजिक र पारिवारिक सम्बन्धलाई सुमधुर बनाउने बताएका छन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४