बिहीबार, साउन १५, २०८२

सुन तस्करी प्रकरणले राष्ट्रिय सभा अवरुद्ध

 |  बिहीबार, साउन १८, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

बिहीबार, साउन १८, २०८०

vianetvianet

काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सुन तस्करी प्रकरणको छानबिनका लागि उच्चस्तरीय समिति गठन गर्न माग गर्दै राष्ट्रिय सभाको बैठकमा अवरोध गरेको छ।

बैठकको सुरुवातमै एमाले सांसद भैरवसुन्दर श्रेष्ठले सुन तस्करी प्रकरणमा जोसुकै संलग्न भए पनि कारबाहीको दायरामा ल्याउने सुनिश्चित नभएसम्म संसद् चल्न नदिने भन्दै रुलिङ गर्न माग गरे।

उनले भने, 'हामीले सरकारलाई यो प्रकरणमा छानविनका लागि उच्चस्तरीय समिति बनाउन माग गरेका हौं। तर अहिलेसम्म हाम्रो मागको सुनुवाइ भएको छैन। बरु त्यही प्रकरणमा नयाँ नयाँ तथ्यहरु सार्वजनिक भइरहेका छन्। प्रधानमन्त्री र गृहमन्त्रीले बाहिर भन्दा कसैलाई पनि छोडिँदैन भनेर भन्ने, तर व्यवहार अर्कै हुने कुराले यसमा झन् आशंका बढाएको छ। यस्ता कुराहरुले झन् धेरै आशंका बढाएको छ।'

उनले सरकारले सुन तस्करी प्रकरणमा छानविन गर्ने उच्चस्तरीय समिति नबनेसम्म संसद् चल्न नदिने बताए। त्यसपछि एमाले सांसदहरुले आसनबाट उठेर सरकारले सुन तस्करी प्रकरणमा छानविन समिति नबनाएसम्म बैठक चल्न नदिने अडान लिए।

राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले छलफल र संवादबाट टुंगोमा पुग्न आग्रह गर्दै बैठक सञ्चालनका लागि प्रयास गरे पनि एमालेले अवरोध कायम राखेको छ। एमाले सांसदहरुले आसनबाट उठेर बैठक अवरुद्ध पारिरहेपछि राष्ट्रिय सभाको बैठक साउन २२ गते सोमबार दिउँसो १ बजे बस्ने गरी स्थगित भएको छ।

अन्तर्राष्ट्रिय विमानस्थलबाट निकालिएको करिब एक क्विन्टल सुन साउन २ मा सिनामंगलबाट बरामद गरिएको थियो। भन्सार यार्ड पार गरेर बाहिरिएको सुन बरामद भएको दुई साता बितिसक्दा पनि तस्करीमा प्रयोग भएका व्यक्ति मात्र पक्राउ परेका छन्। अहिलेसम्म भन्सार अधिकृत, तीन भन्सार एजेन्ट र तीन विदेशी नागरिकसहित १७ जना समातिएका छन्।

राजस्व अनुसन्धान विभागले यो प्रकरणको छानबिन गरिरहेको छ। तर एमालेले भने उच्चस्तरीय छानबिन समिति गठनको माग गर्दै संसद् अवरोध गर्दै आएको छ। एमालेकै कारण प्रतिनिधि सभा पनि नियमित कार्यसूचीमा प्रवेश गर्न सकेको छैन।

प्रकाशित: Aug 03, 2023| 13:33 बिहीबार, साउन १८, २०८०
प्रतिक्रिया दिनुहोस्