आइतबार, असोज ११, २०८३

कर्णालीका पाँच जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम

 |  आइतबार, असोज ११, २०८३

हेमन्त केसी

हेमन्त केसी

आइतबार, असोज ११, २०८३

सुर्खेत- लगातारको वर्षाका कारण कर्णाली प्रदेशका पाँच जिल्लामा आज स–साना नदी तथा खोलाको बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिम रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

विभागका अनुसार सल्यान, रुकुम पश्चिम, जाजरकोट, दैलेख र सुर्खेत भएर बहने स–साना नदी तथा खोलामा पानीको बहाव बढ्ने सम्भावना छ। ती जिल्लामा आज आकस्मिक बाढी (फ्ल्यास फ्लड)को मध्यम जोखिम रहेको विभागले जनाएको हो।

नदी तथा खोलाको बहाव बढ्ने
लगातार वर्षा भइरहेका कारण पहाडी क्षेत्रमा स–साना नदी, खोला तथा खोल्सामा पानीको बहाव अचानक बढ्न सक्ने विभागले जनाएको छ। छोटो समयमा हुने भारी वर्षाले खोलानालामा आकस्मिक बाढी आउन सक्ने भएकाले नदी तथा खोलाको आसपासका बस्ती र जोखिमयुक्त क्षेत्रमा सावधानी अपनाउनुपर्ने देखिएको छ।

कर्णालीमा पछिल्ला दिनदेखि वर्षा भइरहेको छ। वर्षाका कारण प्रदेशका विभिन्न जिल्लामा सडक तथा राजमार्गमा पहिरो खस्ने, लेदो बग्ने र यातायात प्रभावित हुने क्रमसमेत देखिएको छ। यस्तो अवस्थामा नदी तथा खोलाको बहाव बढ्दा सडक, पुल, बस्ती तथा अन्य पूर्वाधारमा थप जोखिम हुनसक्ने जनाइएको छ। कर्णालीम हाल छ जिल्लाका मुख्य राजमार्गहरू अवरुद्ध भएका छन्। 

देशका अन्य क्षेत्रमा उच्च जोखिम
विभागले रुपन्देही, कपिलवस्तु, चितवन, नवलपरासी पूर्व, नवलपरासी पश्चिम, लमजुङ, कास्की, मनाङ, मुस्ताङ, म्याग्दी, बागलुङ, पर्वत, तनहुँ, स्याङ्जा, पाल्पा र गुल्मी तथा आसपासका जिल्लामा बहने स–साना नदीको बहाव उल्लेख्य बढ्ने जनाएको छ।

ती जिल्लामा आकस्मिक बाढीको उच्च जोखिम रहेको विभागको पूर्वानुमान छ। वर्षा भइरहेका क्षेत्रमा नदी तथा खोलाको बहाव बढ्न सक्ने भएकाले तटीय तथा जोखिमयुक्त क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सतर्क रहन आग्रह गरिएको छ।

प्रकाशित: Sep 27, 2026| 09:56 आइतबार, असोज ११, २०८३
प्रतिक्रिया दिनुहोस्