काठमाडौं- देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा परी तीनजनाको मृत्यु भएको छ भने फरक फरक स्थानमा चारजना मृत फेला परेका छन्।
रौतहट, माधवनारायण नगरपालिका-२ खेसरहियास्थित सडकमा शिवनगरबाट खेसरहियातर्फ जाँदै गरेको ना.६३ प ९७३५ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई बुधबार दिउँसो दुर्घटना हुँदा चालक सोही ठाउँ बस्ने २२ वर्षीय राजकपुर राय यादवको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको एनएमसी अस्पताल वीरगंजमा उपचारको क्रममा मृत्यु भएको हो।
उदयपुर, चौदण्डीगडी नगरपालिका-६ खत्री टोलमा मदनभण्डारी लोक राजमार्गबाट खत्री टोलतर्फ जाँदै गरेको प्र.१०५००१ प ८५०५ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई बुधबार राति दुर्घटना हुँदा चालक सोही नगरपालिका-७ हाङबजार बस्ने २३ वर्षीय दिपसन मगरको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको घरान घोपा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।
धादिङ, थाक्रे गाउँपालिका-२ सिमस्थित सडकमा मालडुङबाट महादेववेशीतर्फ जाँदै गरेको प्र.२-०३-००१ त ४३१९ नम्बरको ट्याक्टर आफै अनियन्त्रित भई बुधबार दिउँसो दुर्घटना हुँदा ट्याक्टरमा सवार सोही गाउँपालिका-३ मालडुङ बस्ने ६० वर्षीय रामप्रसाद अर्यालको मृत्यु भएको छ। ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।
मृत फेला
रोल्पा, रून्टिगढी गाउँपालिका-९ चौखे बस्ने १८ वर्षीय नन्दलाल चन्द आफ्नै घरको कोठामा बुधबार मृत अवस्थामा फेला परेका छन्।
रामेछाप, उमाकुण्ड गाउँपालिका-४ लाप्चानेस्थित सुरेश प्रधान भन्ने दिल बहादुर श्रेष्ठको घरमा काम गर्दै आएका काठमाडौं महानगरपालिका-१६ बालाजु टौडल घर भएका ५० वर्षीय लामा बाजे भनि चिनिने पुरुष सोही ठाउँस्थित खोल्सामा बुधबार मृत अवस्थामा फेला परेका छन्। मंगलबार सोही घरबाट हराएका उनको खोजी गर्ने क्रममा शव फेला परेको हो।
दाङ, शान्तीनगर गाउँपालिका-१ खिलतपुर बस्ने २७ वर्षीया रेखा घर्ती बबई गाउँपालिका-६ सालघारीस्थित नहरमा बुधबार मृत अवस्थामा फेला परेकी छिन्। मंगलबारदेखि घरबाट निस्केकी उनको खोजी गर्ने क्रममा उक्त नहरमा डुबेर मृत्यु भएको अवस्थामा शव फेला परेको हो।
स्याङ्जा, आधीखोला गाउँपालिका-६ सम्दी गाउँ बस्ने ६८ वर्षीय भुवन बहादुर जिसी सोही गाउँपालिका-६ स्थित सम्दीखोलामा बुधबार मृत अवस्थामा फेला परेका छन्। खेतमा पानी लगाउन गएका उनी फर्किनआएपछि खोजी गर्ने क्रममा शव फेला परेको हो। सबै घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
डुबेर मृत्यु
मकवानपुर, बागमती गाउँपालिका-४ पाल्पालेस्थित बागमती खोलामा पौडी खेल्ने क्रममा डुबेर सोही ठाउँ बस्ने सन्ची माया मोक्तानको छोरा ८ वर्षीय निशान बलको बुधबार दिउँसो मृत्यु भएको छ।
रूकुम (पश्चिम), आठबिसकोट नगरपालिका-१४ पिपलचौरस्थित ठाडो नहर खोलामा नुहाउने क्रममा डुबेर सोही नगरपालिका-१४ ओखरपाटा बस्ने ६५ वर्षीय तिले कामीको बुधबार दिउँसो मृत्यु भएको छ। दुवै घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।