प्रदेश १ का मुख्यमन्त्री राई सार्वजनिक रूपमा असत्य बोलेको र खराब आचरण गरेर यसअघि नै विवादमा परेका छन् । त्यस्तै केन्द्र सरकारको स्वीकृति नलिई अमेरिका भ्रमणमा गएर उनी फेरि विवादमा तानिएका छन् ।
काठमाडौं–विवादास्पद अभिव्यक्ति सार्वजनिक गरेपछि संघीय सरकारका तत्कालीन कानुन तथा न्यायमन्त्री शेरबहादुर तामाङ राजीनामा गर्न बाध्य भए।
अहिले प्रदेश १ का मुख्यमन्त्री शेरधन राईको अमेरिका भ्रमण विवादमा परेको छ। पदीय हैसियतमा विदेश जान केन्द्र सरकारको स्वीकृति लिनुपर्ने हुन्छ। केन्द्र सरकारबाट राईले गर्धनको उपचारका लागि थाइल्यान्ड जाने स्वीकृति पाएका थिए। तर उनी बैंककबाट अमेरिका हान्निए।
यसअघि प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले अमेरिका भ्रमणमा जान औपचारिक रुपमा मागेको प्रस्तावलाई केन्द्र सरकारले अस्वीकार गरेको थियो। उनलाई अमेरिकाको एक संस्थाले गत जेठमा निमन्त्रणा गरेको थियो। केन्द्र सरकारले अस्वीकृत गरेपछि राउत अमेरिका गएनन्।
एक वरिष्ठ मन्त्रीका अनुसार आइतबार रातिसम्म राईको अमेरिका भ्रमण स्वीकृत भएको छैन। विदेश भ्रमण जाँदा मुख्यमन्त्री राईले सरकारको स्वीकृति लिनु नपर्ने तर अर्का मुख्यमन्त्री राउतले चाहिँ किन स्वीकृति लिनुपर्ने पर्ने भन्ने जिज्ञासा उत्पन्न भएको छ।
मुख्यमन्त्री राईको यस्तो क्रियाकलापलाई केन्द्र सरकारले लुकाउन खोज्यो भने वामपन्थी सरकारमा बस्नेहरूको दम्भ बढेको स्पष्ट हुन्छ। प्रदेश १ का मुख्यमन्त्री राई सार्वजनिक रूपमा असत्य बोलेको र खराब आचरण गरेर यसअघि नै विवादमा परेका छन्। त्यस्तै केन्द्र सरकारको स्वीकृति नलिइकन अमेरिका भ्रमणमा गएर उनी फेरि विवादमा तानिएका छन्।
मुख्यमन्त्री राई कुन प्रयोजनका लागि कसको खर्चमा अमेरिका भ्रमणमा छन् र उनले किन पदीय मर्यादा तथा केन्द्र सरकारको निर्देशनलाई रहस्यमय तरिकाले अवज्ञा गरिरहेका छन् भन्ने ज्ञिसासा पनि आमजनमानसमा उत्पन्न भएको छ।
सार्वजनिक पदधारण गर्ने व्यक्ति स्वास्थ्य उपचारमा विदेश जान विभिन्न सरकारी सर्त पूरा गर्नुपर्ने हुन्छ । त्यस्तै विदेश यात्रामा जाँदा परराष्ट्र मन्त्रालयमार्फत केन्द्रीय सरकारलाई जनाउ दिनुपर्ने र स्वीकृति लिनुपर्ने व्यवस्था छ । त्यो सबै बुझेर पनि मुख्यमन्त्री राई उपचारका लागि थाइल्यान्ड जाने जनाउ केन्द्रलाई दिएर अमेरिका (न्युयोर्क) पुगेका छन्।
त्यति मात्र हैन, अमेरिकामा उनको उपस्थितिको समाचार सार्वजनिक गरेको भन्दै उनका नातेदारले एकजना पत्रकारमाथि आक्रमण गरेका छन्। सम्भवतः मुख्यमन्त्रीका ती आफन्तमाथि फौजदारी अभियोगमा अमेरिकामा कारबाही हुनेछ।
मुख्यमन्त्रीको रहस्यमय विदेश यात्रा र उनले अमेरिकामा गराएको घटनाका कारण उनीमात्र हैन, संविधान र संवैधानिक मर्यादाका रक्षक एवम् अभिभावक राष्ट्रपति र प्रधानमन्त्री केपी शर्मा ओली पनि विवादको घेरामा तानिएका छन्। प्रधानमन्त्री ओली निकट मानिएका राईको अमेरिका भ्रमणलाई लिएर ओलीको पनि आलोचना भएको ।
बालुवाटार स्रोतका अनुसार राईको गतिविधिसँग प्रधानमन्त्री ओली रुष्ट छन् । स्रोतले भन्यो, ‘प्रधानमन्त्री ओली आफूलाई कसैले बाइपास गरेको मन पराउनुहुन्न । मुख्यमन्त्री राईको अमेरिका यात्राबारे पनि उहाँ असन्तुष्ट हुनुहुन्छ ।’ स्रोतका अनुसार प्रधानमन्त्रीले राईले आफूलाई बाइपास गरेर हेपेको महसुस गरेका छन् । त्यसैले ओलीले राई फर्केलगत्तै मुख्यमन्त्रीबाट राजीनामा दिन निर्देशन दिने सोचमा छन्।
प्रधानमन्त्रीले प्रदेशका मुख्यमन्त्रीलाई हटाउन सक्ने व्यवस्था छैन । प्रधानमन्त्री ओलीले सरकारको नेतृत्व गरेपछि दुई शेर विवादमा आएका छन् । यो घटनापछि धेरैले प्रश्न गर्न थालेका छन्– ओली सत्तामा शेरहरू किन आफाप भइरहेका छन् ?
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४