काठमाडौं- कोशी प्रदेशको नयाँ मुख्यमन्त्रीमा नेपाली कांग्रेसका उद्धव थापा नियुक्त भएका छन्। बहुमत प्रदेश सभा सदस्यको हस्ताक्षरसहित दाबी पेश गरेलगत्तै प्रदेश प्रमुख परशुराम खापुङले थापालाई मुख्यमन्त्री नियुक्त गरेका हुन्।
दाबी पेशका लागि आज साँझ ५ बजेसम्मको समय दिइएकोमा थापाले ४७ जना प्रदेश सभा सदस्यको हस्ताक्षरसहित दाबी पेश गरेका थिए। नेकपा माओवादीबाट सभामुख बनेका बाबुराम गौतमलाई पदबाट राजीनामा दिन लगाएर गठबन्धन दलहरुले बहुमत पुर्याएका हुन्। थापालाई कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीका गरी ४७ सांसदको समर्थन छ।
यसअघि सभामुखसहितको समर्थनमा मुख्यमन्त्री बनेका थापा सर्वोच्च अदालतको आदेशबाट पदमुक्त भएका थिए। सर्वोच्च अदालतको पूर्ण इजलासले पदमुक्त गरिदिएको थियो। २२ दिनमै पदमुक्त भएका थापा आज दोस्रो पटक मुख्यमन्त्री नियुक्त भएका हुन्। अब उनले ३० दिनभित्र प्रदेश सभाबाट विश्वासको मत लिनुपर्ने हुन्छ।
थापालाई मुख्यमन्त्री बनाउन कांग्रेसका २९, माओवादीका १३, एकीकृत समाजवादीका ४ र जसपाका १ सांसदले समर्थन गरेका छन्। गठबन्धनको सरकार बनाउन सभामुख गौतमले आजै पदबाट राजीनामा दिएका थिए ।