काठमाडौं-नेपाली कांग्रेसको आगामी महासमिति बैठकमा आफ्ना एजेन्डा बलियो बनाउन पार्टीभित्र गुटगत भेला सुरु भएको छ।
वरिष्ठ नेता रामचन्द्र पौडेल तथा महामन्त्री डा. शशांक कोइराला पक्षधर नेताहरु सोमबार बिहान कांग्रेस नेतृ सुजाता कोइराला निवास मण्डिखाटार पुगेर आफ्नो समूहका एजेन्डाका विषयमा छलफल थालेका छन्। संस्थापन पक्षलाई संगठित दबाब दिने रणनीतिसहित यो भेला आयोजना गरिएको हो।
छलफलका लागि वरिष्ठ नेता पौडेल, महामन्त्री डा कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह, नेताहरु अर्जुननरसिंह केसी, सुजाता कोइराला, डा. रामशरण महत र डा. शेखर कोइराला सुजाता निवास पुगेका थिए। कांग्रेसका अर्का पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला त्यहाँ अनुपस्थित भए पनि त्यो भेलामा उनको रणनीतिक सहमति रहेको बुझिएको छ।
नेताहरूबीच भ्रातृ संगठन नेपाल विद्यार्थी संघको महाधिवेशनमा र महासमिति बैठकमा आआफ्ना एजेन्डा कसरी बलियो बनाउने भन्ने विषयमा छलफल भएको बताइएको छ ।
छलफलपछि नेताहरु सामूहिक तस्बिर खिचेर बाहिरिएका थिए। देउवासँग असन्तुष्ट रहेका सबै गुटहरुले महासमिति बैठकमा संगठित रुपमा प्रस्तुत हुने र पार्टी पुनरसंरचनाका लागि दबाब दिने रणनीति बनाएका छन्। पार्टी सभापति शेरबहादुर देउवाले विजयकुमार गच्छदारलाई उपसभापतिमा बनाएपछि कांग्रेसभित्रको आन्तरिक समिकरण फेरि तरंगित भएको छ। गच्छदारलाई साथ लिएर बलियो हुने रणनीतिमा रहेका देउवालाई यतिबेला आफ्नै समूहभित्रबाट पनि असन्तुष्टी र दबाब खेप्नुपरेको छ।
सोमबारको भेलामा नेविसंघ, महासमिति बैठकमा एजेन्डा र महासमिति बैठकमा पेश हुने विधान संशोधनको मस्यौदामा एउटै मत निर्माण गर्नका लागि एकीकृत ढंगले अघि बढ्ने बारेमा छलफल भएको नेता अर्जुननरसिंह केसीले नेपाल समयसँग बताए ।
यसअघि मंसिर पहिलो साता तय गरेको महासमिति बैठक तयारी नपुगेको मंसिरको अन्तिम साता सारिएको छ। मंसिर २८ गतेदेखि पुस ३ गतेसम्म काठमाडौंमा महासमिति बैठक गर्ने निर्णय कांग्रेसले गरेको छ। आन्तरिक व्यवस्थापन हुन नसक्दा कांग्रेस केन्द्रीय समितिको बैठकसमेत पटकपटक बस्दै सर्दै आएको छ। विधान टुंगो नलाग्दा संघीय प्रणालीअनुसार पार्टी संगठनको पुनरसंरचना गर्ने काम रोकिएको छ भने भागबन्डाको किचलोले गर्दा अन्य नियमित कामहरु पनि पेन्डिङमा छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४