शुक्रबार, साउन २३, २०८२
  • गृहपृष्ठ
  • कोशी
  • कोशीका सभामुखले राजीनामा दिए, मुख्यमन्त्रीमा थापाले नै दाबी पेस गर्ने

कोशीका सभामुखले राजीनामा दिए, मुख्यमन्त्रीमा थापाले नै दाबी पेस गर्ने

 |  मंगलबार, साउन १६, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

मंगलबार, साउन १६, २०८०

vianetvianet

काठमाडौं- कोशी प्रदेशमा सरकार गठनका लागि बहुमत पुर्‍याउन सभामुख बाबुराम गौतमले पदबाट राजीनामा दिएका छन्। प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको पहलमा उनी राजीनामा दिन सहमत भएका हुन्।

गौतमले राजीनामा दिएसँगै गठबन्धन दलबाट कांग्रेस नेता उद्धव थापाले प्रदेश प्रमुख पर्शुराम खापुङले दिएको समयभित्र मुख्यमन्त्रीमा दाबी पेस गर्ने भएका छन्।

सरकार गठनका लागि ९३ सदस्यीय प्रदेशसभामा ४७ सांसदको समर्थन आवश्यक छ। तर गठबन्धन दल कांग्रेसका २९, माओवादीका सभामुख बाहेक १२, नेकपा (एकीकृत समाजवादी) का ४ र जनता समाजवादी पार्टीका एक गरी ४६ मात्रै सांसद रहेकाले सभामुख गौतमलाई राजीनामा गराएर बहुमत पुर्‍याउने निर्णयमा पुग्न बाध्य भएको हो।

एमालेको ४० र राप्रपाको ६ प्रदेश सांसद छन्। सभामुख गौतमले राजीनामा नदिएको अवस्थामा सरकार गठनका लागि गठबन्धन दलको बहुमत नपुग्ने र त्यसपछि संविधानको धारा १६८ को उपधारा (३) अनुसार एमालेका नेता हिक्मतकुमार कार्कीको नेतृत्वमा सरकार गठन हुने भएकाले प्रधानमन्त्री दाहालको पहलमा गौतम पदबाट राजीनामा दिन सहमत भएका हुन्। गौतमलाई मन्त्री बनाउने आश्वासन दिइएको छ।

सभामुख गौतमले राजीनामा दिएर गठबन्धन दलको सरकार बने पनि विश्वासको मत पाउन भने कठिन नै छ। मुख्यमन्त्रीमा नियुक्त भएको मितिले ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्छ। राप्रपाले समर्थन नगरेसम्म गठबन्धन दलबाट नियुक्त हुने मुख्यमन्त्रीले विश्वासको मत नपाउने अवस्था छ। अहिले गठबन्धन दललाई सरकार निर्माणका लागि समर्थन नगर्ने अडानमा रहेका राप्रपाले विश्वासको मत नदिए ३० दिने सरकार मात्रै हुने र त्यसपछि प्रदेशसभाको सबभन्दा धेरै सदस्य भएका दल एमालेका नेता कार्की मुख्यमन्त्री नियुक्त हुने अवस्था आउने देखिएको हो।

Metro Mart

सर्वोच्च अदालतले तटस्थ भूमिकामा रहेका सभामुख बाबुराम गौतमको समर्थनमा प्रदेश प्रमुख खापुङले गठबन्धन दल कांग्रेसका नेता उद्धव थापालाई मुख्यमन्त्रीमा नियुक्त गर्ने गरेको निर्णय बिहीबार बदर गर्दै परमादेश जारी गरेपछि खापुङले सरकार गठनका लागि आह्वान गरेका हुन्। उनले संविधानको धारा १६८ को उपधारा (२) अनुसार दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यलाई मुख्यमन्त्रीमा नियुक्तिका लागि मंगलबार अपराह्न ५ बजेभित्र दाबी पेस गर्न शुक्रबार आह्वान गरेका हुन्।

प्रकाशित: Aug 01, 2023| 14:33 मंगलबार, साउन १६, २०८०
प्रतिक्रिया दिनुहोस्