बिहीबार, साउन ७, २०८३

नदी किनारमा बस्तीबढेपछि इटहरीका ब्रतालु मोरङतर्फ

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
इटहरी-सुनसरीको इटहरी उपमहानगरपालिका र मोरङको सुन्दरहरैचा नगरपालिका जोड्छ बूढी खोला पुलले । महेन्द्र राजमार्गको यो पुलबाट केही वर्षअघिसम्म खोलामा हेर्दा इटहरीतर्फ छठका ब्रतालुको भीड हुन्थ्यो । पछिल्ला दुई वर्षमा भने सुन्दरहरैचातर्फ भीड बढेको छ । छठका घाट इटहरीतिर कम छन् ।  सुन्दरहरैचातिर धेरै छन् । 

छठ पर्व सेवा समिति इटहरीका संरक्षक हीरा महतो इटहरीतिर एक सय घाट बनेको तर सुन्दरहरैचातिर ३ सय बनाइएको बताउँछन् ।  उनी भन्छन्, ‘पहिलेपहिले इटहरीमा हुने घाट अहिले सुन्दरहरैंचामा बनाउनुपर्ने अवस्था आएको छ ।’ २०४३ सालदेखि संस्थागत छठ पर्व मनाउन अगुवाइ गर्दै आएका महतोका अनुसार इटहरीतिरको खोला किनारमा सुकुम्बासी बस्ती बढेको छ । 

इटहरी वडा नम्बर ४ मा पर्ने गैरीगाउँ सुकुम्बासी बस्तीमा ३ सय हाराहारी घर छन् । यी सबै घर बूढी खोला किनारमा छन् । त्यहाँ अरू नयाँ घर बन्ने क्रम पनि जारी छ । यही कारण खोला किनारमा छठको व्रत बस्न असहज भएको व्यवस्थापन समितिको भनाइ छ । 

सुकुम्बासीका टहरो थपिएसँगै खोला किनारमा शौचालय र गोठ बनेका छन् । दुर्गन्धित कारण किनारमा घाट बनाएर व्रत बस्ने अवस्था नभएको इटहरीस्थित छठ सेवा समितिका सदस्य सुरेन्द्र तामाङ बताउँछन् । इटहरीतर्फ बस्ती विस्तार र दुर्गन्धका कारण ब्रतालुहरू मोरङ जानुपरेको तामाङले बताए । तामाङले भने, ‘खोला किनारमा बस्ती बढेसँगै छठपर्व मनाउन कठिन भएको छ ।’

गत वर्ष बाढीमा परी यही बस्तीका ६ जनाको ज्यान गएको थियो । तामाङ भन्छन्, ‘अब यस्तो असुरक्षित स्थानमा बस्ती राख्नु हुँदैन । इटहरीका छठका ब्रतालुले इटहरीमै पूजा गर्ने व्यवस्था हुनुपर्छ ।’ 



इटहरीमा बन्नुपर्ने मन्दिर मोरङमा

इटहरीमा विगत तीस वर्षदेखि छठ पर्वको व्यवस्थापन गर्दै आएको छठ पर्व सेवा समितिको लक्ष्य थियो सूर्य नारायणको मन्दिर बनाउने । त्यही लक्ष्यअनुसार पैसा पनि संकलन भयो । तर, जग्गा भेटिएन । कारण इटहरीतर्फको खोला किनार र सार्वजनिक जग्गामा बस्ति छ । हाल ४० लाख लागतमा इटहरीको छठ सेवा समितिले छिमेकी जल्लामा मन्दिर बनाइरहेको छ । मन्दिरको शिलान्यास गतअसोज २४ गते घटस्थापनाका दिन भएको थियो । 

वर्षौंसम्म इटहरीमा छठ व्रतमा काम गरेर मन्दिर भने छिमेकी जिल्लामा बनाउनु दुःखद भएको अभियन्ता हीरा महतो बताउँछन् । उनी भन्छन्, ‘स्थानीय सरकारले बस्तीलाई सुरक्षित स्थानमा सारेर घाट र मन्दिर बनाउन सहयोग गर्न सक्थ्यो तर गरेन ।’ 

इटहरीमा गत वर्षको छठ समारोह हेर्न १ लाख दर्शक आएको महतोले बताए । अब ब्रतालु र दर्शक सुन्दरहरैचा सर्ने महतोले बताए ।  उनले भने, ‘हुन त इटहरी र छिमेकी जिल्लामा व्रत बस्न र हेर्न आउनु एकै हो । तर  वषौं अगाडि शुभारम्भ इटहरीमा भएकाले इटहरीमै त्यो सबै भएको भए राम्रो हुन्थ्यो ।’
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।