जनकपुरधाम-केन्द्रीय राजधानी काठमाडौंबाट जनकपुर जाने पर्यटकको सहजताका लागि काठमाडौं–जनकपुरबीच पर्यटक बस सेवा सञ्चालनमा ल्याइएको छ । काठमाडौंबाट धार्मिक तथा सांस्कृतिक शहर जनकपुरसम्म पुग्न आइतबारदेखि पर्यटकीय बस सेवा सञ्चालन गरिएको हो ।
पर्यटकीय बस सेवा सञ्चालन गर्दै आइरहेको काठमाडौंस्थित दीपज्योती टुर्स एण्ड ट्राभल्सले जनकपुरको लागि पनि सेवा सुरु गरेको छ । दीपज्योती टुर्स एण्ड ट्राभल्सले काठमाडौंबाट बीपी राजमार्गको सिन्धुली हुँदै जनकपुरसम्म बस सञ्चालनमा ल्याएको हो ।
आइतबार जनकपुरमा आयोजित एक कार्यक्रमका बीच प्रदेश २ का वन, वातावरण तथा पर्यटन मन्त्री रामनरेश रायले पर्यटक बस सेवाको उद्घाटन गरेका छन् । ट्राभल्सका सञ्चालक टंक थापाले नेपाल र प्रदेश २ कै प्रमुख धार्मिकस्थल जनकपुरलाई पर्यटनसँग जोड्न छठ पर्वको अवसर पारेर बस सञ्चालनमा ल्याइएको जानकारी दिए ।
जनकपुरबाट हरेक दिन बिहान पर्यटक बोकेर काठमाण्डौंको लागि बस छुट्ने ट्राभल्सका अध्यक्ष थापाले बताए । जनकपुरबाट बस छुट्ने निश्चित स्थानबारे अझै टुंगो लाग्न नसकेको उनको भनाइ छ । बस टिकेट ट्राभल एजेन्सीमार्फत उपलब्ध हुने उनले बताए ।
जनकपुर-काठमाण्डौं पर्यटकीय बस सञ्चालन सेवाले मुलुकको पर्यटन विकासमा ठुलो टेवा पुर्याउने विश्वास लिइएको छ । हाल काठमाण्डौंबाट देशका विभिन्न भागसम्म पर्यटक ओहोरदोहोर गराउन करिब एक सय पर्यटक बस सञ्चालनमा रहेका छन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४