बिहीबार, साउन ७, २०८३

छठ: विविधताले भरिएको समाज चिनाउने खुल्ला संग्राहलय

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
वीरगन्ज-तिहारको रौनक नसक्दै यहाँ पवित्र छठ पर्वको तयारीको चटारो लागेको छ। चोक चौराहादेखि घरघरबाट छठ गीतको धुनले पुरै शहर छठमय मुडमा प्रवेश गरिसकेको संकेत गर्छ ।
विशेषगरी आराध्यदेव सूर्यको उपासना गरिने छठ पर्व निक्कै उत्साह र भक्तिभावका साथ मनाइन्छ । घरदेखि टाढा परदेशमा रोजगारी वा उच्च शिक्षा अध्ययनका लागी विदेशिनेहरु समेत घरआँगनमा छठको रौनक सम्झिएर घर फर्किन्छन् । छठ पर्व प्रकृति प्रति कृतज्ञता व्यक्त गर्ने माध्यम पर्व समेत हो । 

यो पर्वमा सूर्यलाई साक्षी राखेर खुला आकाशमुनि किसानले वर्षभरि मिहिनेत गरेर उब्जाएको अन्नबाली सूर्यदेवलाई अर्पण गर्दै उनी प्रतिको अगाध आस्था प्रकट गर्छन्। पारिवारिक सुख, शान्ति, कल्याण, रोगबाट मुक्ति तथा  मनोकामना पुरा गर्न सूर्यको उपासना गरी यो पर्व मनाइन्छ ।

बेहुली झैं सिंगारिदै जलाशय

छठ पर्वका लागी घडिअर्वा पोखरी, रानिघाट, मूर्ली, नगवा, राधेमाई, छपकैया पोखरीलगायतका प्राकृतिक जलाशयका साथै आदर्शनगरको कृत्रिम पोखरी (स्वीमिङ पुल)  मा सरसफाई र सजावटको काम तीब्रताका साथ हुँदैछ।  प्रदेश २ को उत्कृष्ट पर्यटकीय गन्तव्यको रुपमा पर्यटन बोर्डद्वारा हालै पहिचान गरिएको घडिअर्वा पोखरी परिसरमा गरिने आकर्षक सजावटले पहिलो पटक यहाँ आइपुग्ने जोकोहीलाई मोहनी लगाउँछ।
  
समाज चिनाउने खुल्ला संग्रहालय

घण्टाघरदेखि माइस्थान सम्मको सडक र गल्लीहरु छठ पूजाका लागी आवश्यक पर्ने पूजा सामाग्री माटोबाट बनाइएको कलश, दियो, हात्ती,बाँसको चोयाबाट बुनिएको परम्परागत भाँडाकुँडा  नाङ्गलो,दाउरा,सुपली,छैंटी,ढकनीबाट सजिएका छन् ।

उखू,केराउ, अदुवा, केरा,मुलालगायतका कृषि उपजका साथै सख्खर मिसाएर बनाइएको गुलियो खिर, गहुँको पीठोबाट बनाइएको परम्परागत बुट्टे ठेकुवा, चिनीको चास्नीबाट बनाइएको बतासाले यहाँको भान्छा, भूमीसँग जोडिएको जनजीविका र जन स्वास्थ्यको त्रिकोणात्मक सम्बन्धलाई झल्काइरहेको हुन्छ। 

सडक छेउमा लगाइएका बजारले तराईको संस्कृति, कृषि र विविधताले भरिपूर्ण यहाँको समाजबारे अध्ययन गर्ने खुल्ला  संग्राहलयकै काम‌ गरिरहेको प्रतित हुन्छ । छठ पर्वका लागी माटाको भाँडाकुँडा कुम्हालेले बनाउँछन् भने बाँसको चोयाका भाँडाकुँडा डुम समुदायले बुन्छन् । अरुबेला हेयको पात्र बनाइने गरेको डुम समुदायले बुनेको बाँसको नाङ्लो, डगरा,सुपलि,छैटी,बेना(हाते पंखा) छठ पर्वका लागी नभइ नहुने हस्तकला सामाग्री हुन् ।

राजनीतिले भत्काउँदै, संस्कृतीले जोड्दै

जातिय राजनीतिलाई नै सफलताको भर्याङ बनाएर सत्ताको न्यानो ताप्न चाहने क्षेत्रिय राजनीतिले एक अर्को समुदायबीच वैमनस्यताको विष घोल्ने प्रयासलाई निरन्तरता दिइरहेका छन् । 

उनीहरुलाई राष्ट्रिय हितभन्दा पनि दलित र अझ बढी व्यक्तिगत स्वार्थ सर्वोच्च भएकाले सामाजिक सहिष्णुता उनीहरुका‌ लागी अपाच्य हुन्छ। कहिले जातका नाममा,कहिले संस्कृतिका नाममा, कहिले रंगभेदको नाममा, कहिले भूगोलका नाममा केही दलहरुले समाजलाई विभाजित गर्ने प्रयास जारी राखिरहँदा छठ  पर्वमा जात,धर्म, क्षेत्रियतालाई ओझेलमा‌ पार्नेगरी फरक फरक समुदायका अनुहारहरु जलाशयमा डुबुल्की लगाउँदै सूर्यदेवको उपासना गरिरहेको हुन्छ।

मूलरुपमा मधेशी समुदायको मुख्य पर्वका रुपमा मानिदै आएको यो पर्व मनाउनेको भीडमा सिउँदोदेखि नाकको टुप्पा समेत ढाकिने गरी सिन्दुर लगाएर साडीको आँचलले शिर छोपेर आराधनामा व्यस्त पहाडी समुदायका गृहणी उल्लेख्यरुपमा देख्दा समाजको मीठो तस्वीरले जोकोहीको मन छुन्छ।  

विविधताले धानेको जिम्मेवारी 

रोजगारीको ठूलो बजार मानिएको संघिय राजधानी काठमाडौंबाट दशैं मान्न मोफसल फर्किनेको लर्को लाग्दा छठ पर्वलाई नै मुख्य पर्व मान्ने तराईवासीले राजधानीको जनजीवन सहज बनाइ दिइरहेका हुन्छन् । जब दसैं मान्नेहरु सबैतिरबाट काठमाडौं फर्किन्छन् तब कामको जिम्मेवारी हस्तान्तरण गरेर छठ पर्वका लागी तराईमूलका व्यापारी, कर्मचारी, मजदुर, विधार्थी पोकोपन्तरो कसेर घरतर्फको यात्रा गर्ने हतारोमा हुन्छन् ।

सामाजिक विविधताले भरिएको हाम्रो समाजको चक्रलाई एउटा समुदायले अर्को समुदायलाई जिम्मेवारी हस्तान्तरण गर्दै रिले ओलम्पिक खेलमा झैं यसरी नै यात्रालाई निरन्तरता दिइरहेको  हुन्छ।  
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।