सिरहा-लहानमा पार्टीको बहाना बनाएर आफ्नै सार्थीहरुले एक युवतीको सामूहिक बलात्कार गरेका छन् । शुक्रबार राती आफ्नै साथीहरुले पार्टी खान बोलाएर एक १९ वर्षीया युवतीको सामूहिक बलात्कार गरेको हो ।
लहान नगरपालिका–१४ स्थित चौधरी टोलमा शुक्रबार राति ७ जना युवकहरु मिलेर पार्टीको आयोजना गरेका थिए । ती युवकहरुले सिरहा लक्ष्मीपुर पतारी गाउँपालिका बस्ने आफ्ना दुईजना युवती साथीलाई समेत बोलाएका थिए ।
पार्टी खाइसकेपछि घर जाने क्रममा बाटोमा रहेको आँपको बगैचामा तीन युवकले बलात्कार गरेको सिरहाका प्रहरी नायव उपरीक्षक माधवराज कंडेलले जानकारी दिए ।
तीनजनाको समूहमा रहेका ती युवकहरुले दुबै युवतीलाई बलात्कार गर्ने प्रयास गरेका थिए । तर एकजना युवती त्यहाँबाट भाग्न सफल भइ घटनाबारे तत्काल प्रहरीलाई जानकारी गराएको कंडेलले बताए ।
बलात्कारको घटनामा लहान नगरपालिका–११ बस्ने २३ वर्षीय हरि चौधरी, २१ वर्षीय अनिल चौधरी र २१ वर्षीय सुनिल चौधरी रहेको पीडित युवतीलाई उदृत गर्दै प्रहरीले जनाएको छ ।
घटनाका तीनैजना आरोपी फरार रहेको र उनीहरुको खोजी कार्य जारी रहेको प्रहरी नायब उपरीक्षक कंडेलले जानकारी दिए । पीडित युवतीको स्वास्थ्य परीक्षण गरी घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४