मंगलबार, वैशाख १८, २०८१

क्लासिक

हरेक मुडका लागि मुकेश

मुकेशले उदासीले भरिएका गीतमात्रै गाएका छैनन्। उनले हरेक मुड र आभासको लागि आफ्नो स्वर दिएका छन्।
 |  शनिबार, साउन १३, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, साउन १३, २०८०

भारतका महान् गायक मुकेशको जन्मदिन हो २२ जुलाई। उही बाँचिरहेका भए अहिले सय वर्षका हुन्थे। उनी मरेर गए पनि उनका गीत सधैं लोकप्रिय छन्, चर्चित छन्, मानिसको ओठमा झुन्डिएका छन्, मनमा बसेका छन्।
उदासीको कुनै स्वरुप छ भने त्यो हो मुकेश। उनलाई मन पराउने प्रसंशकहरु प्रायः यस्तै भन्छन्।

triton college

मुकेशले सन् १९७० को दशकमा बीबीसी हिन्दीलाई अन्तर्वार्ता दिँदा भनेका थिए, 'यदि मलाई १० हल्काफुल्का गीत र एक उदासीले भरिएको गीत गाउन दिइयो भने म एउटा गीत गाउँछु।'

कस्तो रमाइलो संयोग जुरेको थियो भने ५०, ६० र ७० को दशकमा महान् गायकहरु मुकेश, रफी, किशोर कुमार, मन्ना डे एकै समयमा गाइरहेका थिए। मुकेशको कभी कभी मेरे दिल में खयाल आता है, रफीको दिन ढल जाए हाय शाम न जाय र किशोरको ‘खाइके पान बनारस वालामध्ये स्रोताले कसलाई बढी मन पराउने कसलाई कम भन्ने ठूलो दुविधा थियो।

मुकेशका छोरा तथा चलचित्रकर्मी नीतिन मुकेशले बीबीसीको खास कुराकानीमा थुप्रै पुराना किस्सा सेयर गरेका छन्। नीतिन भन्छन्, 'रफी साहब, किशोर साहब होउन् या मुकेश- उहाँहरुको आपसी सम्बन्ध दाजुभाइभन्दा पनि माथिको थियो। मलाई त्यतिबेला आश्चर्य लाग्थ्यो- जब मुकेशजीले फोन उठाएर रफी साहबलाई भन्नुहुन्थ्यो , ‘रफी मिया, तिमीले यो गीत यति राम्रो गायौ कि, काश म यो गीत तिमीजस्तै गाउन सक्ने भए। काश यस्तो गीत मैले पनि पाएको भए। कहिले भने रफी साहबको फोन आउँथ्यो, कहिले मन्ना डेको फोन आउँथ्यो र उहाँहरुले भन्नुहुन्थ्यो- मुकेश, तिमीले कति राम्रो गीत गायौ। एक अर्कासँग प्रतिस्पर्धाको भाव थिएन उहाँहरुमा। जब म शोहरु गर्थें, त्यतिबेला बुबा भन्नुहुन्थ्यो- तिमी रफी साहबको गीत गाउ, किशोरकुमारको गीत गाउ। मेरो मनमा प्रश्न उठ्थ्यो उहाँ मसँग अरु नै गायकका गीत किन गाउन लगाउनु हुन्छ ? तर वास्तवमा यो एउटा कलाकारको तर्फबाट समकालीन साथी कलाकारको लागि सम्मान थियो।'

मुकेशबाट प्रभावित धेरै गायक छन् भारतमा। ९० को दशकका सबैभन्दा चर्चित गायकमध्येका एक कुमार सानु भन्छन्, 'मुकेशको सबैभन्दा ठूलो खुबी थियो- उनी त्यस्तो कोमल आवाजमा पनि यति गहिरो र पावरफुल इमोसनलाई मुटुसम्म पुर्याइदिन्थे। होटलहरुमा मुकेशको सेन्टिमेन्टल गीत खुब चल्थे एकताका। म जहिले पनि मुकेशजीका सेन्टिमेन्टल गीतहरु होटलमा गाउँथेँ र गाएर धेरै पैसा पनि कमाएको छु।'

corrent noodles
Metro Mart

भारतको दिल्लीमा जन्मेका मुकेशचन्द माथुर गायक बन्नुको पछाडि पनि आफ्नै कथा छ। आखिर मुकेश गायक कसरी बने? यस विषयमा मुकेश स्वयंले एक पटक भनेका थिए, ‘मेरो बहिनीको बिहे थियो। केटी पक्षलाई जन्तीको मनोरन्जन गर्नुपर्ने थियो। त्यही भएर मैले गीतहरु गाएँ। जन्तीमा मुम्बईबाट पनि दुईजना साहेबहरु आएका थिए। बिहेको भोलिपल्ट उनीहरु दुवैजना मेरो घर आइपुगे र पिताजीलाई भने- तपाईंको छोरामा निकै ट्यालेन्ट छ। यसलाई चलचित्रमा पठाइदिनुस्। सहगलभन्दा पनि ठूलो नाम कमाउँछ। उनीहरु चलचित्रकर्मी रहेछन्। त्यतिबेलासम्म पिताजीलाई गायकहरुको बारेमा केही थाहा थिएन। उहाँले भन्नुभयो- छोरालाई क्लर्क बनाउँछु। उनीहरुले पुनः पिताजीलाई टेलिग्राम गरे। त्यसपछि पिताजीलाई लाग्यो- तिमीमा पक्कै कुनै ट्यालेन्ट होला। त्यसपछि हामी बम्बई आयौं।

मुकेशले बीबीसीको अन्तर्वार्तामा बताएका छन्, 'मोतीलाल ठूलो स्टार थिए र आफ्नो गीत आफैं गाउँथे। १९४५ मा आएको ‘पहली नजर’ त्यो पहिलो चलचित्र थियो जसमा उनले प्लेब्याकको शर्त मञ्जुर गरेका थिए। मैले उनको लागि एउटा गीत गाएँ तर चलचित्र पूरा भएपछि मेरो गीत त्यस चलचित्रबाट झिक्ने कुरा भयो। प्रोड्युसरले भने- मोतीलाल, प्रायः चञ्चल प्रवृत्तिको अभिनय र चरित्र गर्छन्। उनको क्यारेक्टरलाई स्याड गीत सुहाउँदैन र यो गीतले बोर गर्छ। उनको कुरा सुनेर मेरो दिल नै टुट्यो। तर उनलाई सबैतिरबाट आग्रह आउन थालेपछि एक सातासम्म चलचित्रमा गीत राख्छु, यदि जनतालाई मन पर्यो भने गीत चलचित्रमा रहन्छ नभए निकालिन्छ।'

चलचित्रबाट फालिने भनिएको उक्त गीत थियो, ‘दिल जलता है तो जलने दे...’। जनताले यो गीत यति धेरै मन पराए कि त्यहाँबाट मुकेशको उडान सुरु भयो। त्यसो त मुकेशलाई गायनको साथै अभिनयमा पनि रस बसेको थियो। उनले सुरुवात नायकबाट गरे। १९४२ मा चलचित्र ‘निर्दोष’ आयो तर चलचित्र चलेन। पछि जब उनी हिट गायक भए, त्यसपछि सन् १९५३ मा ‘माशुका’ र १९५६ मा चलचित्र ‘अनुराग’मा उनी हिरो बने। आफ्नो पैसा पनि लगाए तर कुनै पनि चलचित्र चलेनन्। यसबीच रफी र किशोर आफ्नो स्थान लगातार पक्का बनाइरहेका थिए। त्यसपछि एक पटक फेरि मुकेशले आफ्नो पूरा ध्यान गायनमा केन्द्रित गरे।

उनी बीबीसीलाई भनेका थिए, 'मैले नायक बन्ने प्रयास गरेको थिएँ तर यति असफल भएँ कि मैले सोचेँ- दोस्रो दर्जाको नायक बन्नुभन्दा पहिलो दर्जाको गायक बन्नु बेस हुन्छ।' लेखक राजीव श्रीवास्तवले ‘भारतको प्रथम वैश्विक गायक- मुकेश’ नामक किताब लेखेका छन्। उनी भन्छन्, 'मैले उनलाई प्रथम वैश्विक गायक भन्नुको कारण के छ भने त्यो पहिलो गीत जो हिन्दुस्तानी सीमा नाघेर विदेशी धर्तीमा लोकप्रिय भयो, त्यो गीत मुकेशले गाएको ‘आवारा हुँ’ हो। त्यसताका रसिया, चीनलगायत देशका राष्ट्राध्यक्ष दिल्ली आउँदा आवारा हुँ गीत सुनाउन विशेष फर्माइश हुन्थ्यो। अनि बम्बईबाट गायक मुकेशलाई बोलाइन्थ्यो। यति धेरै चर्चित भएको त्यो गीत।

हरेक मुडका लागि मुकेश
मुकेशले उदासीले भरिएका गीतमात्रै गाएका छैनन्। उनले हरेक मुड र आभासको लागि आफ्नो स्वर दिएका छन्। बर्खे झरीमा छाता ओढेर आफ्नै ढंगमा मच्चिँदै जब नायक राजकपुर गाउँछन् - डम डम डिगा डिगा, मौसम भीगा भीगा। यो मुकेशकै स्वर थियो जसले स्रोतालाई पनि झरीमा रुझेको आभाष गराउँछ। जब अभिनेता मनोज कुमार आफ्नी प्रेमिकाको लागि गाउँछन् – चाँद सी महबुबा हो मेरी, कब एसा मैने सोचा था..। यो मखमली स्वरले सबैलाई रूमानी बनाउँछ। कहिले गाडी लिएर यात्रामा निस्किनु अनि मौसम पनि रमाइलो छ भने मुकेशको गीत ‘सुहाना सफर और ये मौसम हँसी’ प्रायः गुनगुनाउन मन लाग्छ।

मेरे मनकी गंगा और तेरे मनकी जमुना, बोल राधा बोल संगम होगा की नहिँ जस्ता थुप्रै गीत मुकेशले गाएका छन्, जसले उनको गायनमा विविधता थपिदिएको छ। बलिउडका अभिनेता नील नितिन मुकेश गायक मुकेशका नाति हुन्। उनको चलचित्र हेर्दा देख्न सकिन्छ- नीलले आफ्ना हजुरबुवाका घडी र कपडाहरु प्रयोग गरेका छन्। चलचित्र सात खून माफ, डेविड जनी गद्दारमा नीलले आफ्ना हजुरबुवा मुकेशको घडी र स्वीटर लगाएका छन्। नीलले आफ्ना हजुरबुवाका सबै सामानहरु सम्हालेर राखेका छन् र अब आफू अभिनय गर्दा प्रयोग गर्छन्।

मुकेशले चलचित्र ‘कभी–कभी’मा प्रख्यात शायर–गजलकार साहिर लुधियानवीले लेखेको गीत कल कोई मुझको याद करे, क्यूँ कोई मुझको याद करे, मसरूफ जमाना मेरे लिए क्यूँ वक्त अपना बर्बाद करे, मैं पल दो पलका शायर हुँ जस्ता गीतहरु गाएका छन्, जो धेरैको प्रिय छन्। मुकेशले, ‘मैं पल दो पल का शायर हूँ’ गीत ४७ वर्ष पहिले गाएका थिए तर आजको समयमा पनि मुकेशका प्रसंशक र उनको गीत सुन्नेको संख्याले उनको हस्ती दुई पलमात्रको नभएको प्रमाण दिन्छ। मुकेश यस्ता सदावहार गायक थिए जसलाई कतिले उदासी र पीडामा सम्झन्छन् भने कतिले प्रेममा पर्दा त कतिले मोजमस्तीमा। उनी जीवनको कुनै पनि मोडमा भेटिन सक्ने गायक हुन् जसको गीतले आज पनि मन र मष्तिष्कलाई मुग्ध र रुमानी बनाउँछ।
- बीबीसी हिन्दीको सहयोगमा

प्रकाशित: Jul 29, 2023| 08:05 शनिबार, साउन १३, २०८०
प्रतिक्रिया दिनुहोस्