काठमाडौं- पार्टी अध्यक्षको जिम्मेवारी तीन नेताले पाउने सहमति भएपछि राप्रपा, राप्रपा प्रजातान्त्रिक र राप्रपा फेरि एकीकृत हुने भएका छन् । पार्टी एकीकरण घोषणाका लागि राप्रपाले आइतबार (आज) दिउँसो केन्द्रीय समिति बैठक बोलाएको छ।
राप्रपाको २०७३ फागुनमा भएको महाधिवेशनमा असन्तुष्टि जनाउँदै नेता डा. प्रकाशचन्द्र लोहनीले राप्रपा छोडेर एकीकृत राप्रपा गठन गरेका थिए। त्यसको केही समयपछि अर्का नेता पशुपतिशमशेर राणाले राप्रपा प्रजातान्त्रिक गठन गर्दै निर्वाचन आयोगमा दल दर्ता गरेका थिए।
तीन पार्टीका नेताहरुबीच पटकपटक छलफल भई सहमति भएपछि एकीकरण मिति घोषणा गर्न लागिएको हो। केन्दीय समितिको बैठकअघि तीन अध्यक्षहरू कमल थापा, पशुपतिशमशेर राणा र डा. प्रकाशचन्द्र लोहनीले अलग्गै छलफल गर्ने भएका छन्।
पार्टी एकीकरणपछि नेतृत्व र नीति तथा कार्यक्रममा सहमति भएको एक नेताले नेपाल समयलाई बताए । ती नेताका अनुसार एकीकृत पार्टीमा कमल थापा, पशुपतिशमशेर राणा र डा. प्रकाशचन्द्र लोहनी गरी तीनजना अध्यक्ष हुनेछन् । नेता लोकेन्द्रबहादुुर चन्दलाई पार्टीको संरक्षक नेता बनाउने लागिएको छ।
एकीकृत पार्टीमा कमल थापा, पशुपतिशमशेर राणा र डा. प्रकाशचन्द्र लोहनी अध्यक्ष हुनेछन् । नेता लोकेन्द्रबहादुुर चन्दलाई पार्टीको संरक्षक नेता बनाउन लागिएको छ।
तीन पार्टीमा विभाजित नेताहरुलाई महाधिवेशनपछि दिइएको जिम्मेवारीमा यथावत् फर्काइने सहमति भएको छ। पार्टी विधानबमोजिम केन्द्रीय समितिमा थापाले ५० प्रतिशत र राणाले ५० प्रतिशत केन्द्रीय सदस्य मनोनीत गर्न पाउनेछन् । त्यस्तै लोहनीतर्फका नेतालाई पनि उचित स्थान दिइनेछ।
पार्टीको नीति तथा कार्यक्रम पनि २०७३ सालको महाधिवेशनबाट पारित भएकोलाई नै आधार बनाउने सहमति भएको छ । यद्यपि पार्टीका केही नेताहरु भने एकीकरणको मोडालिटीसँग असन्तुष्ट रहेको स्रोतले बतायो । यसरी असन्तुष्ट रहेका नेताहरुमा धवलशमशेर राणा, दिलनाथ गिरी, बुद्धिमान तामाङलगायत छन् ।
राप्रपाका प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले तीन पार्टीबीच एकीकरणबारे छलफल गर्ने आइतबार पार्टी केन्द्रीय समितिको बैठक बस्न लागेको जानकारी दिए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४