कञ्चनपुर- बलात्कार पछि हत्या गरिएकी आफ्नी १३ वर्षीया छोरीको न्यायका लागि निर्मला पन्तका आमाबुवा धर्नामा बसेका छन् ।
तत्काल हत्यारा पत्ता लगाउनुपर्ने माग गर्दै पीडित परिवार आइतबारदेखि जिल्ला प्रशासन कार्यालय कञ्चनपुरमा अनिश्चितकालीन धर्नामा बसेका हुन् ।
बिहान महेन्द्रनगरको मदनचोकमा स्थानीय बासिन्दा, अधिकारकर्मी तथा परिवारका सदस्य भेला भएर नगरपरिक्रमा गरेपछि ११बजेबाट जिल्ला प्रशासन कार्यालयमा पुगेर धर्ना सुरु गरिएको छ । धर्नाअघि गरिएको प्रदर्शनमा हत्यारा तत्काल सार्वजनिक गर, निर्मलालाई न्याय दे, लगायतका नारा लगाइएको थियो ।
चुप लागेर न्याय माग्दा नपाएकै कारण धर्नामा बस्न बाध्य भएको निर्मलाकाकी आमा दुर्गादेवी पन्तले नेपाल समयसँगको कुराकानीमा बताइन । सरकार नै हत्यारा लुकाउन लागेको आरोप लगाउँदै उनले धर्नामा बस्दा पनि हत्यारा सार्वजनिक नभए आमरण अनसनमा बस्न बाध्य हुने चेतावनी दिइन् । आइतबारबाट सुरु हुने आन्दोलन कार्यक्रम हत्यारा पत्ता नलागुन्जेलसम्मका लागि अनिश्चितकालीन हुने उनले बताइन् ।
आमा दुर्गादेवीले भनिन्- 'बरु प्राण त्याग्न तयार छौ तर, हत्यारा पत्ता नलागेसम्म हामी अब पछाडी हट्दैनौ ।' प्रधानमन्त्री, गृहमन्त्रीले आश्वासन दिएपनि अहिलेसम्म हत्यारा पत्ता नलागेकाले अब कसैको पनि बोली विश्वास गर्न नसकिने उनको भनाइ छ । 'हत्यारा सार्वजनिक होस, मेरी छोरीले न्याय पाओस् । हाम्रो माग यति हो ।' उनले भनिन् ।
गत साउन १० गते साथीको घरमा पढ्न भनेर गएकी निर्मला भोलिपल्ट नजिकैको उखुबारीमा मृत अवस्थामा फेला परेकी थिइन् । उनको बलात्कार पछि हत्या भएको पोस्टमार्टम रिपोर्टले देखाएको छ ।
साउने ११ गते देखि नै हत्यारको खोजी भएको भनिए पनि अहिलेसम्म अपराधी पत्ता लाग्न सकेको छैन् । योबीचमा छानविन र अनुसन्धानका लागि ७ वटा सरकारी टोली बनेपनि कुनै पनि टोली हत्यारा नजिक समेत पुग्न सकेको छैन् ।
प्रहरीको अनुसन्धान अहिले करिब शून्य अवस्थमा छ भने विभिन्न ब्यक्तिहरुको डिएनए टेस्ट गर्ने काम भइरहेको छ । अहिलेसम्म बर्खास्तमा परेका एसपी डिल्ली बिष्ट, उनका छोरा किरणसहित पाँच जनाको डिएनए टेस्ट भएको छ । तर, उनीहरु सबैको डिएनए नेगेटिभ देखाएको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४