जनकपुरधाम- सूर्यको पूजा आरधना गरि मनाइने छठ पर्व आइतबारबाट सुरु भएको छ । संध्याकालीन अर्घ मंगलबार दिइने भएपनि छठको विधी आइतबारबाट शुरु भएको हो ।
ब्रतालु आइतबारबाट सफा र शुद्ध भई चोखो खानेकुरामात्र खाने गर्दछन् । यसलाई नहाए खाए पनि भन्ने गरिन्छ । नहाए खाएको दिनपछि छठ नसकन्जुल ब्रतालु तथा परिवारका सदस्यहरु माछा, मासुजस्ता आहार खान बन्द गर्ने गर्दछन् ।
त्यसपछि नहाए खाएको दोस्रो दिन खरना मनाइने गरिन्छ । खरनालाई छठको मुख्य विधी पनि भनिन्छ । ब्रतालुहरु दिनभर उपवास बसी शुद्ध पारिएको कोठामा खीर, पुरी, केलासहितका प्रसाद केलाको पातमा राखी इश्वरको आरधान गर्ने गर्दछन् । खरना पूजा सम्पन्न भइसकेपछि सबभन्दा पहिले ब्रतालुले प्रसाद खाइ सकेपछि परिवारका अन्य सदस्य र छिमेकीहरुलाई बाँडने गरिन्छ ।
मंगलबार अस्ताउँदै गरेको र बुधबार उदाउँदै गरेको सूर्यलाई अर्घ दिई छठ पर्वको समापन हुने छ । अहिले तराई क्षेत्रमा मैथिली तथा भोजपुरी भाषामा बज्ने गरेको छठ पर्वका लोकगीतहरुले छठ आउनै लागेको झल्को दिइरहेको छ ।
छठ तयारी अन्तिम चरणमा
जनकपुर, वीरगन्जलगायतका क्षेत्रमा छठ पर्वको तयारी करिब अन्तिम चरणमा पुगेको छ । दिपावलीमा माटोले बनाइएको दीपको बिक्री उच्च रहेको तराईमा मंगलबार मनाइने छठका लागि केराको बिक्री ह्वात्तै बढेको छ ।
यसैगरी शुद्धता र पवित्रतालाई विशेष ध्यान दिइने छठ पर्वको तयारीमा स्थानीयहरु जुटेका छन् । पोखरी, नदी तथा जलाशयहरुको सरसफाइ एवं सजावट कार्य अन्तिम चरणमा पुगेको छ ।
सूर्य उपासनाको एकमात्र पर्व छठमा विभिन्न प्रकारका पूजा सामग्रीहरु व्यवस्था गर्नुपर्ने हुन्छ । तिहार सके लगत्तै आइतबारबाट शुरु भएको छठका लागि पोखरीको सरसफाई तथा सर–सजावटको कार्यलनई तिब्र पारिएको छ । स्थानीय युवा क्लबका सदस्यहरुले शनिबारबाट छठ पर्व मनाइने जनकपुरका विभिन्न पोखरीहरुको सरसफाइ कार्यमा जुटेका छन् ।
सरसफाइ कार्यमा सुरक्षाकर्मीहरुले समेत उनीहरुको साथ दिएको छ । जनकपुरमा एक दर्जनभन्दा बढी पोखरीमा छठ पर्व मनाइने गरिन्छ । जनकपुरस्थित गंगा सागर, धनुष सागर, अंगराजसर, रत्न सागर, विहार कुण्ड लगायतका पोखरीहरुमा मनाइने छठ पर्व आकर्षणके केन्द्र बनेको हुन्छ ।
छठ पर्वका ब्रतालु तथा परिवारका सदस्यहरु पूजा सामग्रीको बन्दोबस्तमा जुटेका छन् । छठ पर्वमा महत्वपूर्ण मानिने केरा, उँखु, नरिवललगायतका फलफूलका साथै बाँसले तयार पारिएको चँगेरी, छिट्टा बन्दोबस्त गर्न ब्रतालुहरु जुटेका छन् । यसैगरी माटोले निर्माण गरिएको हाती, ढकना, गाग्रीलगायतका सामग्रीहरु खरिद गर्न ब्रतालुरु जुटेका छन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४