काठमाडौं- राजधानीबाट प्रकाशित आइतबारका राष्ट्रिय दैनिक अखबारहरुले विविध विषयलाई प्राथमिकतामा पारेका छन् ।
अाजको नागरिक दैनिकले छठ पर्व पहाड र मधेस जोड्ने पूल बनेको र सत्तारुढ दल नेकपामा नयाँ धारको जन्म भएको विषयलाई मुख्य समाचार बनाएको छ ।
आजको नयाँ पत्रिकाले भने वीर अस्पतालमा बढ्दै गएको अनियमितता र नेपाली विद्यार्थी नेपाली विषयमा नै कमजोर रहेको विषयलाई प्राथमिकताका साथ छापेको छ ।
यस्तै आजको अन्नपूर्ण पोस्ट्ले भने खाडी मुलुकमा पुगेर गाईफार्ममा काम गर्ने नेपालीको कथा र श्रृलंकामा संसद् भंग भएसंगै देखिएको राजनीतिक संकटको विषयलाई मुख्य समाचार बनाएको छ ।
नेपाली हस्तकलाको दायरा बढ्दै शीर्षकमा मुख्य समाचार छापेको आजको कारोबार दैनिकले राजस्वसम्बन्धी एनसेलका चार मुद्दा सर्वोच्चमा शीर्षकको खबर पनि विशेष प्राथमिकताका साथ छापेको छ ।
पहाड–मधेस जोड्दै छठ
नागरिक दैनिकमा प्रकाशित समाचारअनुसार सिरहा नगरपालिका–२, गोढियारीकी लालझरी मलिकले वर्षाैंदेखि टोलकै सार्वजनिक पोखरीमा छठको अर्घ चढाउँदै आएकी छिन्। यही पोखरीमा यस टोलका अन्य जातका ब्रतालु पनि छठ पूजा गर्छन्।
अरू बेला मलिकसँग समाजका अन्य जातिले छुवाछूतको भेद गरे पनि छठ घाटमा सबै गै हुन्छन् न कसैको पूजासामग्री कसैसँग छोइन्छ न कोही कसैसँग । मलिक भन्छिन्, ‘छठका बेला हामी वर्षभरिको पीडा भुल्छौं।’
छठ पर्वमा सबै जातजाति जातीय घेराभन्दा माथि उठेर एक जातिको परिधीभित्र खुम्चिन पुग्छन् । मलिक भन्छिन्, ‘अरू जाति पनि उही सूर्यदेवलाई पूजा गर्छन्, हामी पनि उनैलाई नै।’ छठ घाटमा सबै जातजातिको पूजासामग्री एकअर्काको सँगै टाँसिएको हुन्छ। उनी भन्छिन्, ‘पूजासामग्री अन्य जातको सँग टाँसिदा पनि कोही केही बोल्दैनन्, छुवाछूत मान्दैनन्।’
छठ पर्वले सामाजिक सद्भाव र मानवीय एकतालाई अझ बलियो बनाएको सूर्यनारायण सत्यनारायण मरवैता यादव बहुमुखी क्याम्पस, सिरहामा मैथिली अध्यापन गराउने सहप्राध्यापक उमेश झा (ललन) को तर्क छ।
लहान–१० का भूतनाथ उपाध्याय ६५ वर्षका भए। पहाडी मूलका उपाध्यायलाई थाहा भएदेखि नै उनको परिवारमा छठ पूजा मनाइँदै आएको छ। ‘जान्नेबुझ्ने भएदेखि नै मातापिताले छठ पूजा गरेको देखेको छुु,’ उनले भने, ‘हामी पनि त्यसैलाई निरन्तरता दिँदैछौं।’
सिरहा, गोलबजारकी डम्बरकुमारी श्रेष्ठले छठ पूजा गर्न थालेको ५५ वर्ष भयो। छोरा पाउनका लागि गरेको भाकल पूरा भएपछि उनले यो संस्कृति अँगालेकी हुन्। ७० वर्ष पार गरिसकेकी उनलाई अहिले छठ पूजा गर्न बुहारी रञ्जुले सघाउँछिन् ।
सासूले सुरु गरेको संस्कारलाई स्वास्थ्यले साथ दिँदासम्म निरन्तरता दिने रञ्जु बताउँछिन्। परिवारमा विश्वास छ– डम्बरकुमारीलाई छठीमैयाँले ठूलो उपहार दिइन्। ‘सासूआमाले आफ्नो कोख पुत्ररत्नले भरियोस् भन्ने भाकल पूरा भएपछि छठको व्रत बस्न थाल्नुभयो,’ उनले भनिन्, ‘मैले पनि यसलाई निरन्तरता दिँदै आएकी छु, दिनेछु।’
मधेसी–पहाडी, हिन्दु–मुस्लिम, दलित–गैरदलितको घेराभन्दा माथि यो पर्वको महिमा रहेको श्रेष्ठको अनुभूति छ। ‘सबै क्षेत्रका जातजाति, समुदाय एकै थलोमा अटाउनु यो पर्वको अनुपम सौन्दर्य हो,’ उनले भनिन्।
.................
वीर अस्पतालमा शृंखलाबद्ध अनियमितता
नयाँ पत्रिका दैनिकमा प्रकाशित समाचारअनुसार वीर अस्पतालमा उपकरण र औषधि खरिददेखि कर्मचारी भर्नासम्ममा अनियमितता भएको पाइएको छ । राष्ट्रिय सतर्कता केन्द्रले शृंखलाबद्ध अनियमितता भएको भन्दै दोषीमाथि कारबाही गर्न सरकार र अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई सिफारिस गरेको छ ।
प्याथोलोजी, न्युरोलोजी र अंकोलोजी विभागका लागि इन्ट्राओपरेटिभ सिटिस्क्यान खरिद गर्दा बोलपत्र प्रक्रियामै आर्थिक अनियमितता भएको केन्द्रले जनाएको छ । १५ करोड ९५ लाखमा मेसिन उपलब्ध गराउने बोलपत्र अस्वीकृत गरेर २० करोड ४९ लाखको प्रस्ताव सदर गर्दै मेसिन खरिद गरिएको छ ।
१८ जेठ ०७४ मा वीरले गठन गरेको प्रा.डा. प्रकाश विष्ट, प्रकाश पौडेल र बायोमेडिकल इन्जिनियर स्मृति काफ्ले रहेको समितिले प्रतिमेसिन २१ करोड लागत अनुमानसहित मेसिनको स्पेसिफिकेसन पेस गरेको थियो ।
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको उपकुलपतिस्तरीय निर्णयबाट इस्टिमेट स्वीकृत गरी दुईवटा मेसिन खरिदका लागि बोलपत्र आह्वान भएको थियो । तोकिएको समयमा दुईवटा फर्मले टेन्डर हाले । तर, खरिद अनुमति दिने वेला अनियमितता भएको केन्द्रको ठहर छ । २० असार ०७४ मा बोलपत्र खोलिएको थियो ।
‘बोलपत्रमा बायोमेड इन्टरनेसनल नामक फर्मले ब्रेनल्याब जर्मनीबाट उत्पादित एइरो मोडेलको मेसिन १८ करोडमा उपलब्ध गराउने उल्लेख गरेको थियो । तर, पछि फर्ममा केरमेट गरी २० करोड ४९ लाख कायम गरी कम्पनीको छाप र बोलपत्रदाताको स्ट्याम्प लगाएको पाइयो ।
त्यस्तै, अर्को प्रतिस्पर्धी फर्म हिमालय मेडिटेकले प्रतिथान १५ करोड ९५ लाखका दरले २ थानका लागि ३१ करोड ९० लाखको बोलपत्र पेस गरेको थियो ।
यो फर्मको कबोल अंक पनि टिपेक्स लगाई कम्पनीको छाप र हस्ताक्षर गरेर सच्याएको भेटियो,’ केन्द्रले भनेको छ, ‘अस्पतालले दुईवटा मेसिन माग भएकोमा एउटा मात्र मेसिनका लागि बोलपत्र पेस गर्ने र त्यो पनि प्रतिस्पर्धीभन्दा करिब ५ करोड बढी मूल्य राख्ने बायोमेड इन्टरनेसनलको बोलपत्र स्वीकृति गरेको छ ।
सार्वजनिक खरिद ऐन, २०६३ को दफा ४७ को उपदफा १ अनुसार न्यून कबोल गरिएको बोलपत्रलाई स्वीकृत नगरी बढी मूल्यको बोलपत्र स्वीकृत गर्नु भ्रष्टाचार ठहरिन्छ ।’
लगत्तै उपकुलपतिको निर्देशनअनुसार त्यही मेसिन फेरि राष्ट्रिय ट्रमा सेन्टरका लागि भन्दै सोझै खरिद गरी अनियमितता गरेको पनि प्रतिवेदनमा उल्लेख छ ।
योजना बनाएर समयमै खरिद प्रक्रिया पनि अगाडि नबढाउने र अर्थिक वर्षको अन्त्यतिर बजेट फ्रिज हुन्छ भन्दै हतारमा मेसिन खरिद गर्ने शैली पनि वीरमा भेटिएको छ । इमर्जेन्सी खरिदका नाममा हतारमा सोझै खरिद गर्दा आर्थिक अनियमितता बढेको सतर्कता केन्द्रको ठहर छ ।
...........
खाडीका ‘नेपाली गोपालहरु’
गोठमा छन्, आठ सय गाई। बिहानै तिनलाई स्नान गराइन्छ। दुई घण्टा लगाएर मेसिनले दुहिन्छ। यसरी दुहेको १० हजार लिटर दूध दैनिक सीधै फ्याक्ट्रीमा पुग्छ। र, शुद्धिकरण भएपछि दूध, दही, मही, घिउका फरक–फरक प्याकेट तयार गरिन्छ।
गाईपालनको यो अत्याधुनिक गोठ (फार्म) नेपालको होइन, संयुक्त अरब इमिरेट्स (युएई)को हो। राजधानी अबुधाबीबाट ३ सय किमि टाढा रहेको रस–अल–खैमहको दिगदागामा यो फार्म छ। तर, यसमा खट्ने १८ जना कामदार नेपाली नै छन्।
उनीहरूको दैनिकी बिहान ४ बजेबाट सुरु हुन्छ, साँझ अबेरसम्म चल्दछ। सूर्य केसी एक्ला नेपाली प्राविधिक हुन्। उनी फ्याक्ट्रीमा दूधलाई पास्चाराइजेसन (शुद्धिकरण) गर्छन्। अरु नेपाली कामदार गाईको हेरचाह गर्छन्।
तीमध्ये रामप्रकाश मुरौ गाईलाई दिनहुँ सबेरै नुहाइदिन्छन्। दुहुनुअघि हरेक गाईलाई अनिवार्य नुहाइन्छ। आठ सय गाईको स्नानका लागि रामप्रकाशसँगै एकजना बंगलादेशी साथी पनि छन्।
नुहाएका गाई दुहुन खट्ने व्यक्ति हुन्, कपिलवस्तु चन्द्रौटाका शिव केसी। दंग पर्दै केसीले भने, ‘हलिस्टाइन र जर्सी जातका गाई छन्। हामी नेपालमा टुक्रुक्क बसेर हातले दुहुन्थ्यौं तर यहाँ मेसिनले आठ सय गाई दुहिन्छ, जम्मा दुई घण्टामा।’ नेपालमा आठ सय गाई दुहुने काम पाएको भए आफू अरबमै नआउने बताउँछन् केसी।
शुद्धिकरणपछि दूध प्याकिङ गर्ने काम चाहिँ ललित खड्का मगर गर्छन्। कमल केसी प्याकिङ गर्नुअघिको शुद्धिकरण व्यस्त हुन्छन्। फरक तौल र आकारमा प्याकिङ गरेर बेच्न तयार दुध, दही, मही र घिउलाई हिक्मत, तुलसीराम र रतन कुमारलगायतको टोलीले बजारमा पठाउँछ।
आजको अन्नपूर्णमा प्रकाशित समाचारअनुसार गाईलाई चाहिने दाना उत्पादन गर्ने काममा पनि नेपाली नै छन्। उनीहरू फार्ममा चाहिने घाँस रोप्ने, काट्ने, खुवाउने र गोठ सफा गर्ने काम समेत गर्दछन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४