काठमाडौं- पौडीबाज गौरिका सिंहले जापानको फुकुओकामा जारी २० औं संस्करणको वर्ल्ड एक्वाटिक च्याम्पियनसिपमा नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेकी छन्। दक्षिण एशियाली खेलकुद प्रतियोगिता सागकी चार स्वर्णधारी पौडीबाज गौरिकाले ५० मिटर ब्याकस्ट्रोकमा नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेकी हुन्।
नेपाल पौडी संघका अध्यक्ष अशोक बज्राचार्यका अनुसार बुधबार सम्पन्न ५० मिटर ब्याकस्ट्रोकमा गौरिकाले २०१६ मा गोहाटीमा आयोजना भएको १२ औं साग गेम्समा राखेको ३१ दशमलव ८७ सेकेन्डको समयमा सुधार गर्दै ३१ दशमलव ४४ सेकेन्ड समयको नयाँ राष्ट्रिय किर्तिमान कायम गरेकी हुन्। यसअघि गौरिकाले यसै च्याम्पियनसिपमा १०० मिटर ब्याकस्ट्रोकमा पनि नयाँ कीर्तिमान राखेकी थिइन्। ओलम्पिकको छनौट प्रतियोगिता समेत रहेको च्याम्पियनसिपको बुधबार भएको पुरुषतर्फको १०० मिटर फ्रिस्टायलमा एलेक्जेन्डर शाहलेपनि आफ्नो समयमा सामान्य सुधार गर्दै नयाँ किर्तिमान कायम गरेका छन्।
एलेक्सले पुरानो समय ५२।९६ सेकेन्डको समयमा सामान्य सुधार गर्दै ५२ दशमलव ९४ समयका साथ नयाँ रेकर्ड राखेका हुन्। एलेक्सले हालै सम्पन्न ११ औं एनएसए कप च्याम्पियनसिपमा ५२ दशमलव ९६ सेकेन्ड समयको कीर्तिमान राखेका थिए। मंगलबार सम्पन्न प्रतियोगितामा डुवाना लामाले २०० मिटर फ्रिस्टायलमा आफ्नो ब्यक्तिगत समयमा सुधार गर्दै २ मिनट १२ दशमलव ४६ सेकेन्ड समयमा दुरी पूरा गरेकी थिइन्। यसअघि डुवानको ब्यक्तिगत समय २ मिनट १५ दशमलव १ समय रहेको थियो। यस विधामा गौरिकाको नाममा २ मिनट ११ दशमलव ९४ सेकेन्डको समय रहेको छ।