शनिबार, साउन २४, २०८२

मलेरिया नदीको पुल निर्माणमा ढिलाइ हुँदा आवतजावतमा सास्ती

 |  मंगलबार, साउन ९, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

मंगलबार, साउन ९, २०८०

vianetvianet

कञ्चनपुर- कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका-१ स्थित मलेरिया नदीमाथिको पक्की पुल निर्माणको काम कछुवा गतिमा भइरहेको छ। गौरीशंकर सामुदायिक वन नजिक मलेरिया नदीमा निर्माणाधीन पुलको काम छ वर्ष वितिसक्दा पनि अझै सम्पन्न भएको छैन। पुल निर्माणमा ढिलाइ हुँदा सास्ती भोग्नु परेको स्थानीयवासीको भनाइ थियो।

‘यो सँगै निर्माण सुरु भएका अन्य पुल सम्पन्न भइसकेका छन्, यो पुल अझै निर्माण भएको छैन’, स्थानीयवासी उमादेवी भट्टले भने, ‘पुल निर्माणमा ढिलाइ हुँदा आवातजावतमा सास्ती भोग्नु परेको छ।’

वर्षात्मा उर्लेर आउने नदी वारपार गर्न समस्या हुने गरेको दोधारा चाँदनी नगरपालिका-१ की पार्वती कुमारी भट्टले बताइन्। ‘नदीमा पानी धेरै आउँछ, समयमै पुल नबन्दा आवातजावत गर्नै कठिन हुने गरेको छ’, भट्टले भने, ‘चाँडो पुल निर्माण भए सहज हुने थियो।’

ठेकेदारको लापरबाहीले पुल निर्माणको काममा ढिलाइ भइरहेको भटृको भनाइ थियो। चार करोड ६१ लाख ३४ हजारमा पुल निर्माणको जिम्मा पाएको  शंकरमाली अकेला जेभीलाई पाँच पटक म्याद थप गरिए पनि काम भने अपुरै छ।

२०७४ वैशाख १४ गते सम्झौता भएको पुल निर्माणको काम २०७५ साल कात्तिक १५ गतेभित्र सम्पन्न गरिसक्नुपर्ने थियो। त्यसपछि पाँच पटक २०७६ जेठ २, २०७७ पुस, २०७८ असार, २०७८ चैत र २०७९ चैतमा म्याद थप्दा पनि पुल निर्माणको आधा मात्रै सकिएको छ।

Metro Mart

सडक डिभिजन कार्यालयका अनुसार हालसम्म पुल निर्माणको काम ५३ प्रतिशत मात्रै सकिएको छ। बारम्बार ताकेता गर्दा पनि निर्माण कम्पनीले पुल निर्माणमा ढिलाइ गरिरहेको उक्त कार्यालयका सूचना अधिकारी पीयूष चटौतले बताए।

‘हामीले निर्माण कम्पनीलाई पत्राचार गरेर स्पष्टीकरण सोधेका छौँ’, उनले भने, चित्तबुझ्दो जवाफ नआए कारबाही प्रक्रिया अगाडि बढ्छ।’ निर्माण कम्पनीले कोरोना महामारी, चुनाव, मूल्यवृद्धि तथा मजदुर अभावको कारण देखाएर पुल पटक-पटक म्याद थप गरेको देखिएको सूचना अधिकारी चटौतले उल्लेख गरे।

पुल निर्माणको ५३ प्रतिशत भौतिक प्रगति भएकोमा हालसम्म दुई करोड ४४ लाख रुपैयाँ भुक्तानी भएको छ। 

प्रकाशित: Jul 25, 2023| 22:32 मंगलबार, साउन ९, २०८०
प्रतिक्रिया दिनुहोस्