सोमबार, असोज १२, २०८३

बागलुङमा पहिरोमा पुरिएर १० जनाको मृत्यु, एक बेपत्ता

 |  सोमबार, असोज १२, २०८३

नेपाल समय

नेपाल समय

सोमबार, असोज १२, २०८३

बागलुङ- बागलुङमा अविरल वर्षापछि आएको पहिरोमा परी १० जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन्।

वर्षाका कारण पछिल्लो दुई दिनमा जिल्लामा ठूलो मानवीय क्षति भएको हो। आइतबार मात्रै नौ जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता छन्। शनिबार एक जनाको मृत्यु भएको थियो।

जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी प्रमुख फणिन्द्र प्रसाईँका अनुसार आइतबार तमानखोला गाउँपालिकामा चार जनाको मृत्यु, एक जना बेपत्ता र निसीखोला गाउँपालिकामा पाँच जनाको मृत्यु भएको छ।


तमानखोला गाउँपालिका–३ धर्नासुकमा घर पुरिँदा ८० वर्षीय बुद्धिराज घर्ती र ६६ वर्षीया भीमदेवी घर्तीको मृत्यु भएको छ। सोही स्थानमा पहिरोले आठ घर बगाएको छ।

तमानखोला गाउँपालिका–४ सन्तरमा पहिरोले घर पुरिँदा ५० वर्षीय हस्तवीर श्रीपाली र ६५ वर्षीया उडिसरा श्रीपालीको मृत्यु भएको छ। हस्तवीरकी श्रीमती पहिरोमा परी बेपत्ता भएका छन्।

निसीखोला गाउँपालिका–३ जुग्जाखोलाको हदधारामा पहिरोले घर पुरिँदा एकै परिवारका चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा ३६ वर्षीया श्यामकुमारी विक, उनका छोरा १३ वर्षीय मनोज, आठ वर्षीय मुकेश र तीन वर्षीय निशान विक छन्।

यस्तै, निसीखोला गाउँपालिका–६ रङ्गिलमा पहिरोले गोठ पुरिँदा ५० वर्षीय सूर्यबहादुर घर्तीको मृत्यु भएको छ। शनिबार ताराखोला गाउँपालिका–५ धस्मरमा पहिरोले घर पुरिँदा ५९ वर्षीय मनबहादुर रोकाको मृत्यु भएको थियो।

बागलुङका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यका अनुसार पूर्वसूचनाका कारण थप मानवीय क्षति हुनबाट जोगिएको छ। पहिरो प्रभावित क्षेत्रमा उद्धारका लागि नेपाली सेनाको हेलिकप्टरसहित सुरक्षा अधिकारीको टोली पुगेको थियो।

प्रकाशित: Sep 28, 2026| 07:04 सोमबार, असोज १२, २०८३
प्रतिक्रिया दिनुहोस्