मोरङ– मोरङको विराटचोक बजार क्षेत्रका हरिप्रसाद पौडेल र अग्नी सापकोटालाइ छोरीहरु पूजा पौडेल र स्मृति सापकोटाले पिङ बनाइदिन आग्रह गरे । महेन्द्र राजमार्गले छुने उत्तरी मोरङको सुन्दरहरैचाका–९ का पौडेल र सापकोटाले पिङ बनाउन कुनै खुल्ला स्थान पाएनन । न त कतै नजिक पिङ बनेको थियो । पोहोर साल बनेको पिङमा पनि यो पटक निजी घरहरु बन्न थालेका छन ।
यसरी सार्वजनिक खुल्ला क्षेत्र पाएनन उनीहरुले । न त कतै नजिकै पिङ नै बने । आखिर पिङ त बनाउनुनै छ । एक महिना विद्यालय विदा हुँदा बच्चाहरुले पिङ बनाउनै पर्ने जिद्धि गरेपछि पौडेल र सापकोटाले आइडिया निकाले– खहरेमै पिङ बनाउने ।
उत्तरी मोरङको विराटचौ बजार प्रवेश हँदै लाग्दा राजमार्गमा बनेको झरना नामक खहरे खोलामा उनीहरुले पिङ बनाए । एक दिन लाएर बनेको पिङमा आजकाल चाँदनी टोलका थुप्रै बालबालिकाहरु खेल्न आउछन ।
एक दिनमा पौडेल र सापकोटाले मिलेर बनाएको ६ लिंगे पुलमा आजकाल आसपासका बालबालिकाहरु झुमिन्छन । यसरी नै झुमिनेमा पर्छन विराटचोकको पिएलओ मार्गमा घर भएका कक्षा १ मा पढ्ने बालिका स्वेता ढुंगाना र कक्षा २ मा पढ्ने जेनिश विष्ट । विष्ट र ढुंगाना अघिल्लो बर्ष सम्म आफ्नै घर नजिकै पिङ खेल्ने गरेकोमा यो पटक भने घर बनेर पिङ नबनेको बताउँछन । कक्षा २ मा पढ्ने जेनिश विस्ट भन्छन, ‘घर अगाडि चौरमा घर बन्यो । हामी खोलाको यो पिङमा पिङ खेल्न थाल्यौँ ।’
जग्गा प्लटिङले खुल्ला ठाँउ मासेपछि खोलामा पिङ
सुन्दरहरैचाको वडा नम्बर ९ को विराटचोक क्षेत्रमा पिङ खेल्न नपाउनुको मुख्य कारण जग्गा प्लटिङ भएको स्थानिय बताउँछन ।
झरना खहरेमा पिङ हाल्ने हरिप्रसाद पौडेका छोरा जीवन पौडेल गाँउमा सहरीकरण बढेसँगै खुल्ला क्षेत्रहरु अभाव हुन थालेको बताउँछन । स्थानिय सुकुना क्याम्पसका कक्षा १२ मा पढ्ने पौडेलका अनुसार हरेक बर्ष बढ्ने नयाँ घर र प्लटिङले पिङ बनाउने ठाँउहर अभाव भइरहेका छन । त्यहि अभावले गर्दा खोला किनारमा र खहरेमा पिङ बन्ने अवस्था आएको बताउँछन ।
मोरङको कान्छो नगरपालीका सुन्दरहरैचा ९ को विराटचोक क्षेत्रमा मात्रै हैन वडा नम्बर ४ को गछिया क्षेत्रको अवस्था पनि उहि छ । राजमार्गले बजार छोएको क्षेत्रमा यस्तो समस्या धेरै छ गछियामा ।
गछियाकि स्थानिय एकता गुरगाँइका अनुसार पहिलेपहिले खेतमा, चौरमा हुने ठुल–ठुला पिङहर अब हराउन थालेका छन । पिङहरु स–साना बन्न थालेका छन । बनेका पिङहरु पनि खोला, खहरे र सडक क्षेत्रमा बन्न थालेका छन । गछिया क्षेत्रमा अन्त पिङ बन्न स्थान अभाव भएर गछिया खोलामै पिङ बनेको उदाहरण दिँदै गुरगाईले भनिन, ‘अब यस्तैतरिकाले खोलाकिनारमा समेत पिङ खेल्न केहि समयपछि नपाइएला जस्तो छ । खोला किनारमा आजकाल हरेक साल नयाँ सुकम्बासीहरु थपिन थालेका छन ।’