बिहीबार, साउन ७, २०८३

खेलाडीको तिहार : कोही उल्लासमा, कोही मैदानमा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- उज्यालो चाड तिहारले हिन्दु धर्मको धेरै आयाम बोकेको छ । पाँच दिने चाडमा पशुपक्षी, देवीदेवतादेखि मानवसम्म पुजिन्छन् । तिहार बत्ती, गीतसंगीत, रङ, फूलजस्ता सुन्दर वस्तुहरू भावनासँग जोडिने पर्व हो । यमपञ्चकको पाँचाैं दिन भाइतिहार पर्छ । यस दिन दिदीबहिनीले दाजुभाइको पूजा गरेर निधारमा सप्तरंगी टीका तथा माला लगाइदिने चलन छ । 

यो पर्व दाजुभाइ तथा दिदीबहिनीबीच भेटघाट हुने एवं सम्बन्ध प्रगाढ बनाउने शुभ अवसर पनि मानिन्छ । यस वर्ष महिला राष्ट्रिय फुटबल टोलीका खेलाडीलाई भने त्यो शुभ अवसर छैन । यतिबेला नेपाली महिला राष्ट्रिय फुटबल टोली पहिलोपटक ओलम्पिक छनोटमा भाग लिन म्यानमारमा छ । कहिलेकाहीं खेलाडीले चाडपर्व मुखैमा आएर पनि मनाउन नपाएका व्यथा छन् । घरपरिवार छाडेर देशको प्रतिनिधित्व गर्दै विदेशमा खेल्न जानु खेलाडीका लागि नौलो भने होइन । 

वि.सं. २०७३ सालको तिहारमा सारा नेपाल लक्ष्मीपूजामा व्यस्त हुँदा नेपाली राष्ट्रिय फुटबल टोली भने विमानस्थलमा मलेसिया प्रस्थान गर्ने तयारीमा थियो । त्यतिबेला मलेसियामा आयोजित एएफसी सोलिडारिटी कपमा सहभागी हुन नेपाली टोली त्यसतर्फ लागेको थियो । 



टोली मलेसिया पुगेको भोलिपल्ट भाइटीका थियो । मलेसिया पुगेका ३२ सदस्यीय नेपाली टोलीको निधार खाली नहोस् भनेर टोलीका गोलरक्षक विशाल श्रेष्ठकी दिदी विद्याले टोली जानुअघि योजना बनाइसकेकी रहिछन् । टोली नेपालमा छँदै उनले उपकप्तान विराज महर्जनको हातमा टीका सामग्रीसँगै कोसेली पनि मलेसिया पठाइन् । यो कुरा विशाललाई भने पत्तो थिएन ।

टीकाको दिन टोलीका सम्पूर्ण सदस्य नियमित कार्यतालिकाअनुसार ब्रेकफास्टमा सरिक भए । त्यस समय विशालको टेबलमा कोसेलीको पोको राखिएको थियो । विशाल त्यो देखेर आश्चर्यमा परे । जब विराजले उनलाई दिदीले नेपालदेखि भाइटीकाको कोसेली पठाएको खुलासा गरे, विशाल भावुक भए । त्यसपछि दिदीबहिनीको हातको सप्तरंगी टिका सम्झँदै उदास मन लिएर मलेसिया पुगेको नेपाली फुटबल टोली खुसी भयो ।  नेपालीको मनलाई पुनः झिलिमिली पार्दै तिहार मनाए । 
 
हामीले तिहार मनाइरहँदा महिला राष्ट्रिय फुटबल टोली विदेशी भूमिमा प्रतिस्पर्धाको मैदानमा हुनेछ ।

यस वर्ष नेपालमा हामीले तिहार मनाइरहँदा महिला राष्ट्रिय फुटबल टोली प्रतिस्पर्धाको मैदानमा हुनेछ । महिला राष्ट्रिय फुटबल खेलाडीले भने दाजुभाइको निधारको सप्तरंगी टीका र गलामा रहेको सयपत्री फूलको माला म्यानमारबाटै सम्झिनेछन् । 

नेपाली टोली केही साताअघि मैत्रीपूर्ण खेल खेल्न चीन पुगेको थियो । टोली चीनमा तीन मैत्रीपूर्ण खेल खेलेर कात्तिक १६ गते म्यानमार पुगेको छ । 

नेपाल सम्मिलित ओलम्पिक छनोटको समूहमा भारत, म्यानमार र बंगलादेश रहेका छन् । नेपालले ८ नोभेम्बरमा भारतसँग पहिलो खेल खेल्ने छ भने ११ नोभेम्बरमा म्यानमार र १३ नोभेम्बरमा बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ । हरि खड्काको मुख्य प्रशिक्षणमा रहेको नेपाली टोलीको अर्का प्रशिक्षक मृगेन्द्र मिश्र छन् । यस्तै टिम वयस्थापनमा हिराचन थकाली रहेका छन् । 

पछिल्लोपटक महिला टेबलटेनिसमा एकछत्र राज गर्दै आएकी नविता श्रेष्ठ तिहारको तीव्र पर्खाइमा छिन् । घर सफाइ, लक्ष्मीपूजा, देउसीभैलो र भाइटीकाका कारण आफूलाई तिहार निकै मन पर्ने उनले बताइन् । उनले नेपाल संवत्को नयाँ वर्ष ११३९ मा सहभागी हुने योजना बनाएकी छिन् । 



नविताका एक भाइ छन् । भाइटीकामा उनका परिवारका सबै दिदीबहिनी र दाजुभाइ एकै स्थानमा भेला हुन्छन् । सधैं फरकफरक ठाउँमा तिहार मनाउँदै आएकी नविता यस वर्ष पनि यसै गरी तिहार मनाउने योजनामा छिन् । ‘हामी दिदीबहिनी मिलेर तिहार फरकफरक स्थानमा मनाउँछौं । यस वर्ष हामी दिदीको घर फर्पिङमा तिहार मनाउने योजनामा छौं,’ नविताले भनिन् ।

तेक्वान्दो खेलाडी निशा रावल यस वर्षको तिहार केही फरक बनाउने तयारीमा छिन् । तिहारमा साथीभाइसँग भेटघाट गर्ने र घुम्नजाने उनको योजना छ । तर, कुन ठाउँमा जाने भन्ने अहिलेसम्म टुंगो लगाएकी छैनन् । ‘यस वर्षको तिहार बिदामा साथीहरुसँग घुम्न जाने योजनामा छु । तर कुन ठाउँ जाने अहिलेसम्म टुंगो लागेको छैन,’ निशाले भनिन् । 

दुई दिदी–बहिनीमध्येकी जेठी छोरी निशाले भाइलाई तिहारमा घडी उपहार दिने बताइन् । तिहारका बेला काठमाडौं उपत्यकाका विभिन्न मठ–मन्दिरको भ्रमण गर्ने योजना रहेको उनले बताइन् । ‘सबै सँगै हुने भएकाले कतै नजिक घुम्न जाने योजना छ । यसरी आफ्नो मान्छेसँगै रमाइलो गर्दा जतिको मजा अरू केही हुन्न । परिवारका सबै सदस्य एकै ठाउँमा जम्मा हुँदा छुट्टै उल्लास हुन्छ,’ उनले भनिन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।