बिहीबार, साउन ७, २०८३

अनाथ बालबालिकालाई छोएन तिहारको रमझमले

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
बुटवल- यतिबेला जताततै दीपावलीको रौनक छ । सबैका घर तथा व्यावसायिक प्रतिष्ठानहरु झिलिमिली बत्तीले झकिझकाउ छ । गाउँ शहरका चोकचोकमा दीपावलीको गरिएको छ । तर परिवारको बिछोडमा अनाथाश्रममा जीवनयापन गरिरहेकाहरुलाई भने तिहारले छुन सकेको छैन । 

हरेक चाडहरु आउँछन् जान्छन् तर परिवारभन्दा बाहिर बस्नुको पीडा उनीहरुलाइ असह्य छ । कतिपय बालबालिकालाई त आफ्नो जन्मदिने आमाबुबाको अनुहारसम्म याद छैन । उनीहरुलाई खाने, बस्ने, पढ्ने सबै व्यवस्था आश्रमले गरे पनि परिवारको कमी सधैँ महसुस हुन्छ । जन्मदिने आमा र जन्मथलोलाई सबैभन्दा धेरै याद गर्छन् उनीहरु । 

आफ्नै परिवार र आफन्तका कारण आश्रममा जीवन व्यतित गर्न बाध्य उनीहरु चाडपर्वमा पनि खिन्न मन बनाएर आश्रममै बस्छन् । विगत तीन वर्षदेखि बुटवलको बाल कल्याण गृहमा रहेका रुकुमका १० वर्षीय बालक विजय परियारलाई तिहारको महत्व छैन । परिवारबिनाको चाड विजयलाई रमाइलो लाग्दैन । 

“तिहारमा कति धेरै पटका पट्काउँथेँ, रमाइलो हुन्थ्यो यहाँ त त्यति रमाइलो लाग्दैन”, परियारले दुखेसो पोखे । आमाबुबाले छोडेर हिँडेपछि हजुरआमाको रेखदेखमा हुर्किएका जीवनको हजुरआमा मृत्युपछि जीवन सहज भएन । आमाबाबु कहाँ गए, बजै पनि मरिन् अनि एउटा अङ्कलले आश्रममा ल्याएर छाडे”, उनी भन्छन्, “मलाई रुकुम जान कति मन लाग्छ तर कसैले लग्दैन ।” 

परियारजस्तै नवलपरासी बडेराकी छ वर्षीय मनु मुसहर पनि चाडमा आफन्तलाई धेरै याद गर्छिन् । पाँच दिदी र एक दाजुकी कान्छी बहिनी भएर पनि बालगृहमा बस्नुपर्दा उनको मन नरमाइलो छ । सानो छँदा आमाबुबाले छोडेर गएपछि नौ वर्षीय दिदी मनिषा मुसहरसहित बालगृहमा बस्न थालेकी मनुले चाडपर्वमा परिवारको धेरै याद गर्छिन् । 

मनुकी दिदी मनिषा भन्छिन्, “यहाँ खान बस्न त राम्रो छ तर मनुले घर जान मन गर्छिन् । कहिलेकाहीँ रोएर जिद्धि गर्छिन्, दाजु र दिदीले पनि घर लैजान खोज्नुहुन्न । तिहारमा पटका पड्काउन र दियो बाल्न मनुलाई धेरै मन पर्छ । 

नवलपरासी सुनवलकी १५ बर्षीया बबिता थापाको मन पनि चाड आउँदा खिन्न हुन्छ । सानैमा बाबु मरेपछि रोजगारीका लागि कतार गएकी आमाको कुनै खबर नभएपछि छिमेकीको सहायतामा बालगृहमा रहेकी बबिताले चाड आउँदा आमा र आफन्तलाई धेरै याद गर्छिन् । 

सानै उमेरमा बाबु गुमाएकी र आमाको पनि कुनै खबर नआउँदा बबितालाई नरमाइलो लाग्छ । “आश्रममा बसेपछि भनेजस्तो कहाँ हुन्छर धन्न खान बस्न पाइएको छ । यो नै ठूलो कुरा हो, आँशु झार्दै थापा भन्छिन्, “परिवारसँग मिलेर चाड मनाउन त भाग्यमै रहेनछ ।” 

अनाथ बालबालिकाका लागि आश्रमले गाँस, बास, कपास, स्वास्थ्य, शिक्षा सबैको व्यवस्था गरेको छ । उनीहरुलाइ आश्रमप्रति कुनै गुनासो छैन तर चाडपर्वको समयमा आफन्तसँगै हुन पाए हुन्थ्यो भन्ने उनीहरुको चाहना छ । 

“बालबालिकालाई आफन्तको कमी महसुस नहोस् भनेर धेरै कोसिस गर्छौं, बाल कल्याण गृहका प्रमुख कमला ज्ञवालीले भन्नुभयो, “चाडपर्वमा विशेष खानपान र रमाइलोको व्यवस्था गर्छौं ।” तेइसजना बालबालिका रहेको यो बालगृहमा पाँचदेखि १५ वर्षसम्मका बालबालिका रहेको बालगृहका प्रमुख ज्ञवालीले जानकारी दिए । उनीहरुलाई बुटवलको बुटवल मावि र जितेश्वरी माविमा अध्ययन गर्ने व्यवस्था बालगृहले मिलाएको छ । 

जिल्ला प्रशासन कार्यालय रुपन्देहीका अनुसार रुपन्देहीमा जिल्ला बाल कल्याण समितिमा सूचीकृत भएका आठ वटा अनाथ आश्रम सञ्चालनमा छन् । रासस
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।